हिमाल हेर्दै, गुराँसे जंगलमा सरर

|

म्याग्दी : वसन्त याम। गर्मीको मौसम। खुशी र सास्ती व्यहोर्दै दिनचर्यामा व्यस्त छन्, उत्तरी म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र आसपासका बासिन्दा।

घोडेपानीहुँदै प्यारीबाराही तालसम्म पुग्ने पर्यटकलाई भने गर्मीको आभास नै हुँदैन। जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं. ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएपछि पर्यटक गुराँसे जंगल भित्रबाट सेताम्ये हिमाल हेर्दै साइकल गुडाउन पाउँदा मख्ख छन्।

अहिले घोडेपानी, पुनहिल लगायत म्याग्दीका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप बढेको छ। कोरोना महामारीका कारण सुस्ताएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएपछि पर्यटन र होटल व्यवसायी धेरै खुशी छन्।

नयाँ वर्षको अवसरमा पोखरा साइकल सिटीका १४ जनाको टोली साइकल चढेर घोडेपानी पुगेका थिए। गुराँसको जंगलभित्र साइकल चढेर प्यारीबाराही ताल पुगेका सिटीका सहसचिव धर्मसिंह लामिछाने नेतृत्वको टोली पुनहिल घुमेर कास्कीको उल्लेरी हुँदै पोखरा फर्किएका छन्। पहाडको टाकुरामा रहेको घोडेपानी पुनहिल घुम्न साइकल चढेर जान सकिने लामीछानेले बताए।

सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जंगलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्बाउन साइकल मार्ग पहिचान गरेर पूर्वाधार निर्माण र प्रचारप्रसारमा जुटेको बताए।

‘गुराँसको ज‌ंगलभित्र पृष्ठभूमिमा हिमाल हेर्दै साइकलमा यात्रा गर्न पाउनु यहाँको आकर्षण हो’, उनले भने, ‘स्वास्थ्यका लागि लाभदायक साइकल यात्रा घोडेपानी क्षेत्रको पर्यटन विकासको माध्यम पनि बन्ने देखियो।’ 

गत वर्ष प्रदेश सरकारको २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने तीन-तीन किलोमिटर दूरीको डेढ मिटर चौडाइ भएको घोडा र साइकल मार्ग निर्माण भएको थियो।

गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा चरा अवलोकनस्थल र घोडा बाँध्ने तबेलासमेत बनाइएको उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले बताए।

लालीगुराँसको घना जंगलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकन स्थल बनाइएको छ। गुराँसे जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण शृङ्खलाका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ।

१७ दिनको बाटो एक दिनमै  छोटियो

करिब पाँच दशकअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, मा अवस्थित घोरेपानी, पुनहिलमा साँघुरा पदमार्ग हुँदै पर्यटक पुग्ने गरेका थिए। विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्ण पदमार्गको १७ दिने यात्रा अन्तर्गत घोरेपानी १३ देखि १५ औं दिनको सुन्दर गन्तव्य थियो। बेसीशहरबाट हिँड्दा पर्यटकले मनाङ, मुस्ताङ, म्याग्दी र कास्कीका ग्रामीण बस्ती थिचोल्दै यात्रामा रमाउने गर्थे। अहिले सवारी साधनमा हिँडेकै दिन मानिस म्याग्दीको घोडेपानीपुगेर बास बस्छन्।

‘एक्पाप’भित्रका पदमार्गलाई सडकले बिथोलेपछि अहिले पदैलयात्रामा रमाउने पर्यटकको संख्याटेसँगै पदमार्ग आसपासमा रहेका होटल व्यवसायी समेत विस्थापित भएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट एक दिनको पदैलयात्रामा लाग्ने समुन्दी सतहदेखि ३ हजार २ सय १० मिटरको उचाइमा अवस्थित पुनहिलमा अहिले पाँच घण्टामै पुगिन्छ।

नेपाल आउने पर्यटकमध्ये अधिकांशको रोजाइमा पर्ने विश्व चर्चित गन्तव्यको पदमार्ग मासेर मोटरबाटो निर्माण भएपछि पर्यटकको बसाइ लम्बाउन जिल्लाको प्रमुख पर्यटकीयस्थल घोडेपानीदेखि वडा नं. ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ। पदयात्रा छोटिएर दुईतीन दिनमा झरेपछि पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जंगलभित्र साइकल मार्ग सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.