|

हेटौंडा : मकवानपुरमा सत्तासाझेदार दलहरूलाई स्थानीय तहको निर्वाचनमा भागबण्डा मिलाउन हम्मेहम्मे परेको छ।

नेकपा माओवादी केन्द्रले पालिका र वडामा आफ्नो दाबीमा अडान कायम राख्दा गठबन्धनलाई भागवण्डा मिलाउन हम्मेहम्मे परेको हो। मकवानपुरमा रहेको १० वटा पालिका र १०२ वडाको भागवण्डा गर्न सत्तारुढ गठबन्धनको बैठक दिनँहुजस्तो बसिरहेको छ। तर, गठबन्धनमा दोस्र्रो दलको रुपमा रहेको माओवादीले सबैभन्दा धेरै भाग खोज्दा प्रमुख घटक दल कांग्रेस असन्तुष्ट बनेको छ।

शनिबार बसेको बैठकमा माओवादी सहमतीमा आउन नसकेपछि आईतबार बस्ने भनेको बैठक पनि बस्न सकेन। पटक–पटक सहमतिका लागि बैठक बसेपनि कुनै प्रगति नभएका कारण कांग्रेसको आवश्यकतामा बैठक नबस्ने र सत्तासाझेदार अन्य दलको समन्वयमा भने बैठक बस्ने गरी शनिवार बैठक निश्कर्ष बिहीन बनेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

उनको अनुसार भागबण्डा मिलाउन शनिबार बसेको गठबन्धनको बैठकमा माओवादी केन्द्रले वडा तहमै करिब ५० प्रतिशत भाग माग्दा सहमति जुट्न नसकेको हो। जिल्लामा ठूलो दलको हैसियतले गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेस र एकीकृत समाजवादीले लचकता अपनाएर बैठकमा आ–आफ्नो दाबी प्रस्तुत गर्दासमेत माओवादी केन्द्रले वडा तहमा एक्लै करिब ५० प्रतिशत पाउनुपर्ने माग गरेको उनको भनाइ छ।

माओवादी केन्द्रले गठबन्धनको केन्द्रीय स्तरबाट बनाइएको मापदण्ड अनुसार आफूले पाउने पालिकाबाहेक थप ३ वटा पालिकामा आफ्नो दाबी गरेको स्रोतले जनाएको छ। केन्द्रीय तहले निर्धारण गरेको आधार र मापदण्ड अनुसार मकवानपुरको २ वटा पालिकामा माओवादी केन्द्रले स्वतः नेतृत्व पाउनुपर्ने तथा विगतमा एमालेले जितेको पालिकामा पनि आफूले नै नेतृत्व पाउनुपर्ने दाबी माओवादीको छ।

बैठकमा हेटौंडा उपमहानगरपालिकाको नेतृत्वबारे केन्द्रले निर्णय लिने भन्दै त्यस बाहेकका ९ पालिकाको भागबण्डाका बारेमा छलफल भएको थियो। जसअनुसार २०७४ को निर्वाचनमा काँग्रेसले जितेको राक्सिराङ र बकैया गाउँपालिकामा कांग्रेसले नेतृत्व पाउने, कैलाश र इन्द्रसरोबर गाउँपालिकामा एमालेलेबाट जितेका जनप्रतिनिधि हाल एकीकृत समाजवादीमा रहेकाले त्यहाँ एकीकृत समाजवादीले नै नेतृत्व पाउने सहमति भएको थियो।

अघिल्लो निर्वाचनमा थाहा नगरपालिका र बागमती गाउँपालिकामा माओवादी केन्द्रले जितेकाले त्यहाँ उसैले नेतृत्व पाउने सहमति पनि जुटेको थियो। अन्य ३ वटा पालिकाका सम्बन्धमा भने माओवादी केन्द्रले आफ्नो अडान छोडेन।

एमालेले जितेका मनहरी, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाको नेतृत्वमा माओवादी केन्द्रले नै दाबी गरेपछि सहमति जुट्न नसकेको हो। एमालेले जितेका पालिकामध्ये काँग्रेस र एकीकृत समाजवादीले पनि एक÷एक वटा पालिका माग गरेपछि माओवादी केन्द्रले त्यसलाई अस्वीकार गरेको हो।

माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिकाको नेतृत्व लिने दलले कुनै एक पालिकामा नेतृत्व छोड्नपर्ने प्रस्ताव राखेपछि कांग्रेसलाई संकट परेको थियो। हेटौंडाको मेयरमा काँग्रेसको दाबी छ।

माओवादी केन्द्रको प्रस्ताव मान्दा काँग्रेसले मनहरी, मकवानपुरगढी र भीमफेदी गाउँपालिकामध्ये एउटा पालिका छोड्नुपर्ने भयो। उता, एकीकृत समाजवादीको भागमा परेको पालिकामा पनि माओवादी केन्द्रले दाबी गरेपछि भने सहमति भाँडिएको बताइएको छ।

मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेसको संकेत

गठबन्धनमा दोस्रो र जिल्लामा तेस्रो रहेको माओववदीले कांग्रेसले भन्दा धेरै भाग खोजेपछि  कांग्रेस पुनःबैठक नबस्ने गरी शनिबारको बैठकबाट उठेको थियो।

कांग्रेसका एक पददाधिकारीले भने‘हामि सबै लचक भइरहँदा माओवादीले आफ्नो हडान छोडेन। उसले सहमतिको  लागि कुनै प्रयास नगरेपछि हामिले पुनः अर्को बैठक नै नबस्ने  गरी उठेका छौँ। अब हाम्रो आवश्यकताले बैठक बस्दैन, अरू दलको माग भए मात्रै बस्न सक्छ।’ उनको अनुसार शनिबार प्रदेशको गठबन्धन संयन्त्रमा सिफारिस गर्नेबारे पनि कांग्रेस र माओवादीबीच सहमति हुन सकेको थिएन।

कांग्रेसले विवाद भएका क्षेत्रका प्रदेश संयन्त्रलाई सिफारिस गर्ने प्रस्ताव राखे पनि माओवादी केन्द्रले भने जिल्लामै टुंग्याएर मात्रै सिफारिस गर्नुपर्ने अडान लिएको थियो। शनिबारको बैठकमा यसअघिका चरणबद्ध बैठकको प्रगति विवरण प्रस्तुत गर्नुपर्ने कांग्रेसको भनाईप्रति पनि माओवादी सहमति नभएको जनाइएको छ।

जिल्लामा गठबन्धनको अर्को बैठक भएन र बस्ने वातावरण नबनेमा मित्रवत प्रतिस्पर्धाका रुपमा निर्वाचनमा भाग लिने कांग्रेसले आन्तरिक तयारी गरेको कांग्रेसको एक पदाधीकारीले बताए।

यस सम्बन्धमा छलफल गर्न कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा काठमाडौं गएको उनले जानकारी दिए। कांग्रेस केन्द्रीय कमिटीले पनि सहमति नभएका नगरपालिका र गाउँपालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने नीति लिएकाले मकवानपुरमा कांग्रेसले अन्य दलसँग मित्रवत प्रतिस्पर्धा गर्दै निर्वाचनमा जान सक्नेतर्फ ती पदाधिकारीले संकेत गरे।

कांग्रेसले हेटौंडा कुनै हालतमा नछोड्ने

गठबन्धनका दलको आ–आफ्नै दाबीमा सहमति नजुटेपछि बैठक स्थगित भएको पाँच दलीय संयन्त्र मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेसका सभापति बुद्ध लामाले बताए। ‘बैठकमा सहमति नजिक–नजिक पुग्छौं, तर फेरि कुरा मिल्दैन, गठबन्धनको दलहरूको प्रत्येक दिनजसो नयाँ–नयाँ सर्कुलरको कारण समस्या भएको जस्तो लागेको छ।,’ लामाले भने। हेटौैंडाको सन्र्दभमा कांग्रेसले कुनै पनि हालतमा नेतृत्व नछाड्ने लामाले बताए।

हेटौंडामा नेपाली कांग्रेस गत निर्वाचनमा झिनो मतले पराजित भएको भन्दै लामाले कांग्रेसको उम्मेदवार नै मेयर हुने ठोकुवा गरे। हेटौंडामा एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ।

नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिनले माओवादीले संगठनको आवश्यकताअनुसार पालिका र वडामा दाबी गरेको बताए। उनले कांग्रेसले भन्दैमा गठबन्धन नहुने भन्दै प्रतिप्रश्न गरे।

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले सहमति नजुटेपछि आज सोमबार पुनः बैठक बसेर टुंग्याउने बताए। उनले समस्या भएको ठाउँमा मित्रवत प्रतिस्पर्धा हुनसक्ने भन्दै जिल्लामा गठबन्धन भएरै निर्वाचनमा जानेमा ढुक्क रहन सुझाए।

पोखरेलले भने, ‘मकवानपुरमा गठबन्धन कुनै पनि हालतमा हुन्छ। कांग्रेसको कुनै एक  व्यक्तिले नगर्ने भनेर हुँदैन। पार्टीले गर्ने भनेको छ, आज साँझ सहमति नै  हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.