|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा सत्ता गठबन्धनबीच भागबण्डा नमिल्दा कार्यदलको बैठक निष्कर्षविना टुंगिएको छ । पाँचौं पटकसम्म बसेको बैठकमा दलहरूले आ–आफ्ना अडान नछाडेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो।

अन्तिम पटक आइतबार बसेको बैठकबाट पनि दलहरूबीच कुनै सहमति जुट्न नसकेपछि एक्लाएक्लै चुनाव लड्ने अवस्थामा पुगेका छन्। नेपाली कांग्रेसले ठूलो भाग खोजेपछि सहमति जुट्न नसकेको नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका नेताहरूको आरोप छ।

माओवादी केन्द्रका काभ्रेपलाञ्चोकका सचिव दैवलाल घिसिङ ‘अनुशिल’ले सबैले ठूलो भाग खोजेपछि सहमति जुट्न नसकेको बताए। तर कांग्रेसका जिल्ला सचिव गुणराज मोक्तानले जनआधार हेरेर भाग नखोज्दा सहमति जुट्न नसकेको बताए। 

एकीकृत समाजवादी काभ्रेपलाञ्चोकका अध्यक्ष टोकबहादुर वाइबाले ९ पालिकाको मेयरमा कांग्रेसले दाबी गरेपछि सहमति जुट्न नसकेको बताए। कांग्रेस ९ पालिका प्रमुख आफूले लिएर माओवादी केन्द्रलाई ३ र एकीकृत समाजवादीलाई १ पालिका दिन चाहन्छ।

माओवादी केन्द्रका जिल्ला सचिव घिसिङका अनुसार कांग्रेस ७, माओवादी केन्द्र ५ र एकीकृत समाजवादीलाई १ पालिका दिने गरी भएको छलफलमा सहमति जुट्न नसकेको जानकारी दिए। उनका अनुसार जनता समाजवादी पार्टीलाई भने केही पालिकामा उपाध्यक्ष र वडामा अध्यक्ष बनाउने गरी छलफल भएको थियो।

टुंग्याउने जिम्मा प्रदेशलाई

गठबन्धनका दलहरूबीच भागबण्डामा पटक–पटकको बैठक असफल भएपछि टुंग्याउने जिम्मा प्रदेशलाई दिएको छ। अब अन्तिम निष्कर्ष प्रदेशबाट नै आउने दलका नेताहरूले बताए। 

पाँचौं पटक बसेको गठबन्धनको बैठकले स्थानीय तहको संख्या टुंगो लाग्न नसकेपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले प्रदेशलाई जिम्मा दिने निर्णय गरेका छन्।

प्रदेशबाट पनि टुंगो नलागेको अवस्थामा कांग्रेसबाहेक सत्तारुढ दलहरूबीच भने गठबन्धन हुने बुझिएको छ।

२०७४ को निर्वाचन हेर्दा

०७४ सालको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा काभ्रेपलाञ्चोकमा माओवादी केन्द्र र एकीकृत समाजवादीको तुलनामा कांग्रेसको बलियो पकड देखिन्छ। 

अघिल्लो निर्वाचनमा जिल्लाको १३ स्थानीय तहमध्ये कांग्रेसले १ नगरपालिका र ३ गाउँपालिका गरी ४ स्थानीय तह जितेका थिए। माओवादी केन्द्रले २ स्थानीय तह र एकीकृत समाजवादीले एउटा नगरपालिकामा जितेको थियो। बाँकी ६ पालिकाका प्रमुख भने एमालेका छन्।

काभ्रेपलाञ्चोकमा १३ मध्ये आगामी निर्वाचनका लागि ९ पालिकामा कांग्रेसले दाबी गरेको छ। माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले एउटा पालिकाको प्रमुखमा दाबी गरेका छन्। गठबन्धन दलहरू एक्लाएक्लै निर्वाचनमा गएमा त्यसको प्रत्यक्ष फाइदा भने एमालेलाई पुग्नेछ। 

अहिले वडामा दलको अवस्था

एमाले फुट र दल अदलबदलसँगै जनप्रतिनिधिको संख्या पनि थपघट भएको छ। अहिले निर्वाचित वडाध्यक्षहरूमा कांग्रेसका ५२ जना, एमालेका ४९, माओवादी केन्द्रका २२, एकीकृत समाजवादीका ११ र राप्रपाका १ जना रहेका छन्।

एमाले फुटपछि एक नगर प्रमुखसहित २ जना उपप्रमुख एकीकृत समाजवादीमा छन्। जसमा मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, नमोबुद्ध नगरपालिकाको उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ रहेका छन्।

उम्मेदवारको लागेन टुंगो

वैशाख ३० गतेको निर्वाचन नजिकिँदै गर्दा समेत दलहरूले वडा र पालिकाको उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। सत्तारुढ गठबन्धनमा अन्योल देखिए पनि नेकपा एमाले भने गठबन्धनको निर्णयको आधारमा अघि बढ्ने रणनीतिमा रहेकाले उम्मेदवार टुंग्याएको छैन।

गठबन्धनको अन्योलबीच माओवादी केन्द्रले धुलिखेलका मेयर पृथ्वी थापा, उपमेयर कल्पना कार्की महतसहित ६० वडामा उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ। कांग्रेसले ३२ वटा वडाको अध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिश गरेको भएपनि टुंगो लगाउन सकेको छैन। 

माओवादी केन्द्र जिल्ला सचिव घिसिङका अनुसार गठबन्धन भएर गएमा अहिले तोकिएका उम्मेदवारहरू फिर्ता हुन सक्ने गरी तोकिएको बताए। एमालेले चौरीदेउराली गाउँपालिकामा अध्यक्ष पदमा जिताराम लामा र उपाध्यक्षमा बबिता खरेलसहित ४२ वडाध्यक्षको उम्मेदवार टुंग्याएको एमाले काभ्रेपलाञ्चोकले सर्वसम्मतिका लागि समय लागेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.