|
फाइल फोटो

हेटौंडा : १० वटा स्थानीय तह रहेको मकवानपुरमा केही साना दल एक्लै चुनावमा होमिने तयारीमा रहेका छन् भने केही ठूला दल साना दलसँग तालमेल गरेर चुनावमा होमिँदै छन्। स्थानीय तह निर्वाचनमा मकवानपुरमा सत्तारुढ गठबन्धनविरुद्ध नेकपा एमाले र राप्रपा नेपालले संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने भएका छन्। 

सत्ता गठबन्धनबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा मिलेर निर्वाचनमा होमिँदैछन्। एमालेले पनि कमल थापा नेतृत्वको राप्रपा नेपालसँग मिलेर चुनाव लड्ने तयारी गरेको छ। मकवानपुरलाई ‘एमालेको लालकिल्ला’ पनि भनिन्छ। एमालेले मकवानपुरमा सधैँे कब्जा जमाउँदै आएको छ। मकवानपुरको सबै स्थानीय तहमा एमालेको बलियो उपस्थिति छ। 

अघिल्लोे निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहमा एमाले आफ्नो उपस्थिति बलियो बनाएको थियो। २०७४ को स्थानीय तहको निर्वाचनमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिकामध्ये बहुमत पालिकामा एमालेले जितेको थियो । एमालेले ६ वटा स्थानीय तहको प्रमुख पदमा जित हात पारेको थियो। एमालेले आठ उपप्रमुख पनि जितेको थियो। 

एमालेले २०७४ मा मकवानपुरको हेटौँडा उपमहानगरपालिका सहित मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा जित निकालेको थियो भने बकैया गाउँपालिका र बाग्मती गाउँपालिकामा उपप्रमुख पद जितेको थियो। 

एमालेले ६ वटा स्थानीय तहमा जित्दा काँग्रेसले राक्सिराङ गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित बकैया गाउँपालिकामा प्रमुख जितेको थियो। त्यस्तै माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिकामा प्रमुख जितेको थियो । त्यसो त हेटौँडा उपमहानपरपालिका र थाहा नगरपालिकामा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको थियो। मकवानपुरको हेटौँडाबाहेक अन्य स्थानीय तहमा जसपा र जनमोर्चाको उपस्थिति देखिँदैन । 

मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहजिल्ला हो। २०७४ को स्थानीय तहको निर्वाचनको अनुसार मकवानपुरको सबैभन्दा ठूलो दल एमाले हो भने राप्रपा चौथो। जिल्लामा राप्रपा अहिले कुन अवस्थामा छ भन्न सकिने अवस्था छैन। त्यतिबेलाको निर्वाचनमा मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थियो । तर, अहिले राप्रपाका पूर्व अध्यक्ष कमल थापा राप्रपाबाट निस्किएर राप्रपा नेपालमा छन्। 

राप्रपा छोडेर राप्रपा नेपाललाई पुनर्जीवन दिएका थापाले गृहजिल्लामा नै नेता कार्यकर्ताको साथ राम्रोसँग पाएका छैनन्। त्यसमा पनि राजतन्त्र फर्काउने मुद्दा बोकेर राजनीति गर्दै आएका थापाले राप्रपा नेपालमा पुग्दा सो मुद्दालाई नै छाडेकाले मकवानपुरमा उनको पार्टी राप्रपा नेपालको प्रभाव कस्तो छ भन्न सक्ने अवस्था छैन।

राप्रपा र एमालेमा विभाजनको असर कस्तो छ ?

एमालेबाट विभाजन भएर नेकपा एकिकृत समाजवादी पार्टी बनेको छ भने राप्रपा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निस्किएको पार्टी हो। दुवै पार्टी विभाजनपछि पहिलोपटक चुनावमा भाग लिँदैछन्। त्यसैले यी दुवै पार्टीलाई एकअर्काको धेरथोर साथ पनि महत्त्वपूर्ण नै रहेको छ। 

मकवानपुरमा एमालेको प्रभावशाली नेताका रूपमा चिनिने विरोध खतिवडा अहिले नेकपा एकिकृत समाजवादीको केन्द्रीय तहका नेता हुन्। मकवानपुर गृहजिल्ला भएका खतिवडा वर्तमान गठबन्धनको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री छन्। उनको गृहजिल्ला भए पनि मकवानपुरमा समाजवादीको खासै राम्रो प्रभाव छैन। पार्टी विभाजनअघि उनको पक्षमा रहेका धेरै नेता÷कार्यकर्ताले पार्टी विभाजनमा उनको साथ छोडेर एमालेमा नै बसेका छन्। त्यसैले मकवानपुरमा विभाजनले एमालेमा धेरै ठूलो असर परेको छैन। 

एमाले अझै पनि जिल्लाको सबैभन्दा ठूलो र शक्तिशाली दलको रूपमा नै स्थापित छ। यता, राप्रपा नेपाल भने भर्खरै ब्युँतिएकाले जिल्लामा यसको प्रभाव कस्तो छ भन्ने अवस्था छैन। यद्यपि राप्रपाको केन्द्रीय अध्यक्ष कमल थापाको गृहजिल्ला भएकोले राप्रपा नेपालले राप्रपाबाट मत काट्न सक्ने अनुमान गर्न सकिन्छ। अघिल्लोे संघीय निर्वाचनमा हार व्यहोरेको भए पनि थापाले जनमानसमा सामान्य प्रभाव छोडेका छन् । 

राप्रपाको साथले एमालेलाई कतिको सहज ?

राप्रपा नेपालको साथले एमालेलाई ठूलो नभए पनि धेरथोर भने सहयोग नै पुग्ने देखिन्छ। २०७४ निर्वाचनमा एमालेबाट निर्वाचित भई समाजवादी रोजेका जनप्रतिनिधिको मतलाई हेर्दा १० वटा पालिकामा एकीकृत समाजवादीले एमालेको सरदर ६ हजार मत काट्न सक्छ। यता, एमालेसँग तालमेलको निर्णय गरेको राप्रपा नेपालसँग जिल्लाभर सरदर ५ हजारको हाराहारीमा राप्रपाको मत काट्ने अवस्था छ। विभाजित एमालेलाई हारबाट जोगाउन सो मतले थोरबहुत काम गर्न सक्छ। 

राप्रपा नेपालले हेटौंडा उपमहानगरपालिकामा मात्रै एमालेलाई आफ्नो तर्फबाट कम्तीमा ४ हजार मत दिन सक्ने आँकलन गरिएको छ। २०७४ को निर्वाचनमा राप्रपाले हेटौंडाको मेयरमा मात्रै ७ हजार मत पाएको थियो। सोही मतबाट राप्रपा नेपालले कम्तीमा ४ हजार काटेर एमालेलाई सहयोग गर्न सक्ने देखिएको हो।  

गठबन्धनको सबै मत जोड्दा २५ हजार हाराहारीमा पुग्छ। उता राप्रपा नेपाल एमाले मिल्दा उनीहरुको मत २७ हजार हुन आउँछ। यहाँ चुनाव जित्न सत्ता गठबन्धनले विगतको निर्वाचनमा मेयर पदमा बदर भएको ७ हजार भन्दा बढी मत जोगाउनु पर्ने हुन्छ। यो मत नै आगामी निर्वाचन जित्न गठबन्धनका लागि निर्णायक मत हुने निश्चित छ।

आगामी निर्वाचनका लागि यो पालिकामा ५० हजार ७२५ पुरुष, ५३ हजार ७४५ महिला र तीन तेस्रोलिंगी गरी कुल १ लाख ४ हजार ४७३ जना मतदाता छन्।  जिल्लाका २८ मतदान स्थानमा ११३ वटा केन्द्र तोकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.