काठमाडौं : नेपालमा पूर्ण प्रतिबन्धित क्रिप्टोकरेन्सी अर्थात् भर्चुअल मुद्रा कारोबार बढ्दै गएको छ।
नेपाल राष्ट्रबैंकले बिटक्वाइनलगायत जुनसुकै डिजिटल मुद्रालाई २०७४ साउन २९ गते अवैध घोषणा गरेको थियो। राष्ट्रबैंकले नेपालमै वा विदेशमा बस्ने नेपाली नागरिकले यस्ता गैरकानूनी कारोबार गर्न नपाउने भनेको छ।
अवैध कारोबार बढेपछि नेपाल राष्ट्रबैंकले पटक–पटक सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ। यद्यपि कारोबार भने रोकिएको छैन। राष्ट्रबैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम विनियम, निर्देशन र आदेशविपरीत क्रिप्टोकरेन्सी गैरकानूनी कारोबार मानिन्छ।
हिजो (सोमबार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीनजनालाई नियन्त्रणमा लिएको छ। उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको कार्यालयले जनाएको छ। यसअघि पनि क्रिप्टोकरेन्सी/बिटक्वाइनमार्फत कारोबार गर्ने तीनजना गत माघ (२०७८।१०।६गते) मा पक्राउ परेका थिए।
हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मात्रै ११ जना क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई समातेर कारबाही गरिसकेको छ। देशभर कति क्रिप्टोकरेन्सी कारोबारी कारबाहीमा परे यसको अलग्गै तथ्यांक भने नराखिएको केन्द्रीय प्रहरीले जनाएको छ।
सिआइबीका अनुसार यस्ता अवैध कारोबारमा युवाहरूको संलग्नता बढी रहेको पाइएको छ। ‘कम्प्युटर तथा प्रविधिको प्रयोगबाट हुने कारोबार हुन्छ’, सिआइबी प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने, ‘प्रयोग गर्नसक्ने युवाहरू नै बढी संलग्न भएको अनुसन्धानबाट पाइएको छ।’
आर्थिक प्रलोभन नै मुख्य कारण रहेको सुनाउँदै महतोले भने, ‘क्रिप्टोको भाउ धेरै बढ्ने वा थोरै समयमा धेरै पैसा कमाउने लालचमा कारोबारमा लागेको देखिन्छ।’
राष्ट्रबैंकले गरेको प्रारम्भिक अनुसन्धानअनुसार कोरोनाकालमै नेपालीहरू क्रिप्टोकरेन्सीको कारोबारतिर आकर्षित भएको पाइएको छ। पछिल्लो समय भने कारोबारको आकार बढेको दाबी गरिएको छ।
के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टोकरेन्सी भन्नाले विनिमय माध्यमका रूपमा काम गर्ने संकेताक्षरद्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। नेपाल राष्ट्रबैंकका सूचना अधिकारी पोखरेलका अनुसार सिक्का र नोटहरूको जस्तो क्रिप्टोकरेन्सीको भौतिक अस्तित्व हुँदैन। यो बैंकिङ प्रणालीजस्तो नियन्त्रण नहुने मुद्रा हो।
‘यसलाई सिक्का र नोट जस्तो छुन, पट्याउन वा खल्तीमा राख्न सकिँदैन’, उनले भने, ‘यसमा कारोबार सुरक्षित राख्न विभिन्न कोडको सहारा लिइन्छ।’ उनका अनुसार क्रिप्टोकरेन्सी डाटाबेसमा राखिएका सीमित प्रविष्टि हो, जसलाई खास पूर्वशर्त पूरा नगरीकन कसैले पनि फेर्न वा बदल्न सक्दैनन्।
‘इन्टरनेट उपलब्ध भएको ठाउँमा जो कसैले पनि माइनिङ (उत्खनन) गर्ने खालको करेन्सी हो’, सूचना अधिकारी पोखरेलले स्पष्ट पारे, ‘यसलाई केन्द्रीय बैंकरहरूले करेन्सीको मान्यता दिएका त छैनन्। तैपनि व्यापारीहरूले आफ्नो कारोबार मिलाउने प्रयोजनका लागि प्रयोग गरेको पाइन्छ।’
यस भर्चुअल मुद्राको नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन। तैपनि यसको कारोबार बढ्दै गएको पोखरेलले बताए।
प्रत्येक कारोबारमा एउटा फाइललाई प्रेषक र प्रापकका सार्वजनिक चाबीमार्फत तोकिएको मूल्यका भर्चुअल सिक्काको आदानप्रदान गरिन्छ। प्रेषकले आफ्नो व्यक्तिगत चाबीद्वारा यो कारोबारलाई रुजु वा सहीछाप पनि गर्नुपर्छ। त्यसपछि कारोबारलाई नेटवर्कभर प्रसारण गरिने पोखरेलले जानकारी दिए।
क्रिप्टोकरेन्सी कारोबारको जोखिम
क्रिप्टोकरेन्सी कारोबारले मुलुकको अर्थतन्त्र खस्काउने केन्द्रीय बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेल बताउँछन्। क्रिप्टोकरेन्सी कारोबार डलरमा हुने हुँदा नेपाली नागरिकले क्रिप्टोकरेन्सी खरिद गर्दा मुलुकमा भएको विदेशी विनिमय सञ्चिति १५ दिनमै सकिने उनको भनाइ छ।
‘मौद्रिक नीतिले लिएका लक्ष्यहरू हासिल गर्न पनि चुनौती थप्छ’, उनले भने, ‘मूल्य स्थिरताका कुरा हुन्छन् केन्द्रीय बैंकका, बाह्य क्षेत्र, वित्तीय क्षेत्र स्थायित्वमा संकट उत्पन्न गर्छ।’
भर्चुअल मुद्रा कारोबारले वैदेशिक मुद्रा मुलुकमा नभित्रिने, रेमिट्यान्स घट्ने र सिधै देशको अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले जोखिमपूर्ण रहेको राष्ट्रबैंकले जनाएको छ।
प्रत्येक सातामा त्यसको भाउ तलमाथि भइरहने र क्रिप्टोकरेन्सी ह्याक हुन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ। क्रिप्टोकरेन्सीमा राखिने पैसा जोखिमपूर्ण लगानी रहेको पोखरेलले जानकारी दिए।
क्रिप्टोकरेन्सी कारोबारीलाई हुने सजाय
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न जो कोही सजायका भागिदार हुन्छन्। नेपाल राष्ट्रबैंक ऐन, २०५८ को दफा ९६ मा दण्ड सजायको प्रावधान छ। जसअनुसार कारोबारमा संलग्न भएको अवस्थामा बिगो खुलेमा बिगो जफत गरी त्यसको तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद वा दुवै सजाय हुनेछ।
बिगो नखुलेको अवस्थामा १० लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। यस्ता गैरकानूनी कारोबार कुनै फर्म, कम्पनी वा संस्थाले गरेमा कम्पनीका मुख्य पदाधिकारीलाई सजाय हुने व्यवस्था छ।
कारोबार गर्न सघाउ पुर्याउने व्यक्ति, फर्म, कम्पनीलाई पनि मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार कारबाही हुने बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।