शुरू भएका विकास निर्माण पूरा गर्न पनि दोहोरिन चाहन्छु

|

हेटौँडा : चितवनको भरतपुर महानगरपालिकाकी बहालवाला मेयर रेनु दाहाल वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमार्फत दोहोरिन चाहन्छिन्। पाँच वर्ष भरतपुर महानगरपालिकामा आफ्नो नेतृत्वमा विकासका धेरै काम शुरु भएकाले त्यसलाई पूरा गर्न दोहोरिन चाहेको उनी बताउँछिन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसको समर्थन पाएकी उनले एमालेको देवीप्रसाद ज्ञवालीलाई २०३ मतान्तरले पराजित गरेकी थिइन्। 

आगामी निर्वाचनमा पनि कांग्रेस नेतृत्वमा माओवादीसहित पाँच दल गठबन्धन गरेर चुनावी मैदानमा होमिँदैछन्। मंगलबार सत्तारुढ गठबन्धनमा भरतपुर महानगरपालिका माओवादीले पाउने सहमति भएसँगै उनी नै उम्मेदवार बन्ने लगभग पक्कापक्की भइसकेको छ। अघिल्लो निर्वाचनमा भरतपुर महानगरपालिका माओवादीले नै पाएकोले अहिले आफूहरूले पाउनुपर्ने अडान राख्दै भरतपुर काँग्रेसले सहयोग गर्न नसक्नेसम्मको चेतावनी दिएको थियो। यिनै सेरोफेरोमा केन्द्रित रहेर थाहाकर्मी श्रीजना नेपालले भरतपुर महानगरपालिकाकी मेयर दाहालसँग गरेको कुराकानी–

भरतपुर महानगरपालिकाको मेयरको रूपमा पाँच वर्षे कार्यकाल कस्तो रह्यो?

भरतपुर महानगरपालिकामा पाँच वर्षको आफ्नो कार्यकाल सुखद र सन्तोषजनक मानेको छु। महानगरको मेयरको रूपमा पाँच वष राम्रो अनुभव गर्न पाएको छ।

पाँच वर्षमा तपाईँले भरतपुर महानगरमा गरेको उपलब्धिमूलक काम के हो?

मुख्य उपलब्धि सडक नै हो। यो पाँच वर्षमा हामीले लगभग ६१० किलोमिटरभन्दा बढी सडक पिच गरेका छौँ। मुख्य राजमार्ग, हुलाकी सडक निर्माण, बाईपास सडक विस्तार तथा स्तरोन्नति र भरतपुर–चनौली–मेघौली सडक मुख्य जोड्ने सडक हो, महानगरपालिकाको । त्यो सडक निर्माण, महानगरीय चक्रपथको ८८ किलोमिटरमध्ये ४४ किलोमिटर निर्माण सम्पन्न गरिसकेका छौँ। अरु थुप्रै सडकको काम हाम्रा लागि धेरै ठूलो उपलब्धि हो। 

हामीले शिक्षाको क्षेत्रमा पनि धेरै ठूलो फड्को मारेका छौँ। सरकारी विद्यालयमा विद्यार्थी संख्या पाँच वर्षमा सात हजार भर्ना संख्या बढाउन सफल भएका छौँ। विद्यालयको गुणस्तर, शिक्षक र पढाइको गुणस्तरमा पनि वृद्धि भएको छ। विद्यालय भवन निर्माण, विद्यालयमा बस प्रदान, छात्राहरूलाई साइकल वितरण, न्यानो कपडा वितरणलगायत शिक्षाको क्षेत्रमा धेरै नै काम गरेका छौँ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक इन्जिनियररिङ कलेज यहाँ स्थापना गर्न हामी सफल भएका छौँ। दुई वर्ष भयो त्यो सञ्चालनमा आएको।

प्राविधिक शिक्षालयहरू पनि बनेका छन्।  प्रहरी स्कुल स्थापना भएको छ। शिक्षक अस्पताल बनाउँदैछौँ। स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौँ। ‘एक वडा–एक स्वास्थ्य संस्था’ नीति नै बनायौँ। त्यहीअनुसार हामीले महानगरभित्र ४३ वटा स्वास्थ्य कार्यालय सञ्चालन गरेका छौँ।  न्यूनतम एउटा वडामा एउटा स्वास्थ्य संस्था छ। कतै २\३ वटा पनि  छन्। भरतपुरमा मेडिकल सिटी नामको ठूलो क्यान्सर अस्पताल छ। राष्ट्रिय स्तरको भरतपुर अस्पताल छ।

कृषिको हिसाबले पनि राम्रो छ। भरतपुर महानगरपालिकामा समग्र कुरा राम्रो छ। भएन भन्नुपर्ने कुरा केही पनि छैन। पूर्वाधारको हिसाबले पहिलो सडक र दोस्रोमा शिक्षामा हामी सबल छौँ। स्वास्थ्य, कृषि पर्यटनमा पनि हामी अगाडि छौँ। नारायणी नदी किनारलाई पनि हामीले ढंगले विकास गर्न खोजेका छौँ। 

महानगरपालिकामा एउटा व्यवस्थित सभागृह, सिटी हल बनाउन लागेका छौँ। विकास कार्यमा निजी क्षेत्रलाई सँगसँगै लिएर जाने जमर्को गरेका छौँ। महानगरको स्वामित्वमा लायन्स चोकमा रहेको जग्गामा सार्वजनिक बोलपत्रमार्फत टेण्डर छनोट गरेर त्यहाँ मल्टी कम्लेक्स (व्यावसायिक  भवन) निमार्ण कार्य अगाडि बढाउँदै छौँ। यो हिसाबमा हेर्दा सबै क्षेत्रमा यति विकास भएको छ।  धेरै राजनीतिक उतारचढाव र कोभिड–१९ को बिचमा यतिसम्म विकास होला भनेर हामीले सोचेकै थिएनौँ। तर गर्दै जाँदा भयो। त्यसकारण गरेका उपलब्धिबाट म सन्तुष्ट छु। 

पाँच वर्षअघि निर्वाचनमा होमिँदै गर्दा, जुन घोषणापत्र जारी गरिएका थिए, त्यसमा कति पूरा भए?

घोषणापत्रमा ठूलादेखि साना, मझौला सबै विषयवस्तु समावेश थिए। पाँच वर्षअघि मैले चितवनलाई जे जति चिनेको\बुझेको थिए र अहिले पाँच वर्षको अवधिमा तल्लीन भएर काम गर्दैगर्दा धेरै नयाँ अनुभव प्राप्त गरेँ। यो पाँच वर्षमा सानाखालका योजनामा त्यति धेरै ध्यान गएन, ठूलोमा बढी जोड रह्यो। यति धेरै हामीले सोचेका पनि थिएनौँ कि अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउँछौँ भनेर। अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउँछौ भनेर। यी विषय हाम्रो घोषणापत्रमा थिएन। अन्तर्राष्ट्रिय स्तरको मल्टिप्लेक्स बिल्डिङ निर्माण, महानगरपालिकाको झण्डै एक अर्ब बराबरको प्रशासनिक भवन लगायत घोषणा पत्रमा थिएन। यही ६ लेन सडकलाई नै एकदम सुधार गर्छौँ भन्ने पनि थिएन।

खानेपानीको क्षेत्रमा केही गरौँला भन्ने थियो। खानेपानीमा मात्रै लगभग पौने चार अर्बको खानेपानी आयोजना अगाडि बढाएका छौँ। गोलाघाटदेखि चौकी डाँडासम्मका जनतालाई स्वच्छ खानेपानीको ग्यारेन्टी भएको छ। यसरी हेर्दा ठूला आयोजनामा ध्यान दिँदा छिटपुट साना आयोजना छुटे होलान्। तर समग्रमा गौरवका आयोजना अगाडि बढाएका छौँ। सबै काम घोषणापत्र अनुरूप नै अघि बढेका छन् र कार्यान्वयनको दिशा उन्मुख छौँ। 

वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा तपाईँ फेरि मेयरका लागि दाबी गर्दै हुनुहुन्छ। किन दोहोरिन चाहनुहुन्छ ? 

महानगरपालिकाका गौरवका आयोजना अगाडि बढाइएको छ। निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको अवस्था छ। तपाईँ हेर्न सक्नुहुन्छ महानगरपालिकाका मुख्य सडक धमाधम निर्माणको चरणमा छन्। बाईपास सडक निर्माणको चरणमा छ। यो ६ लेन सडक निर्माणको चरणमा छ। हुलाकी सडक निर्माण\बिस्तारको चरणमा छ। मेघौली–गोलाघाट सडक पनि निर्माणको चरणमा छ। रिङरोड निर्माण भइरहेको छ। अरु थुप्रै सडकमा काम भइरहेको छ।

यस्तै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूरा गर्नुपर्ने कार्यभार छ।  महानगरपालिकामा दिगो ढंगले फोहोर व्यवस्थापन गर्नुपर्ने पनि छ। हामीले कोरियाली सरकारसँग ‘जीटुजी’ सम्झौता गरिसकेका छौँ। त्यो विषय पनि प्रक्रिया चरणमा छ, त्यसलाई पनि टुंगोमा पुर्याउनु छ। धेरै योजना पाइप लाइनमा भएका हुनाले नै सबै सम्पन्न गर्नु पर्नेछ। यी  सबै भोलि आउने जनप्रतिनिधिले गर्लान्\नगर्लान् भन्ने कुरा महत्त्वपूर्ण छ।  आफूले शुरु गरेका काम आफैँले सम्पन्न गरौँ भन्ने मेरो चाहना हो।

तर अर्कोतिर हेर्नु हुन्छ भने सुख त छैन। धेरै दुःख छ। दुःख छ भन्ने जान्दाजान्दै पनि यसलाई अवसरको रूपमा लिएको छु। सासंद, मन्त्री या अन्य अवसर त्यागेर महानगरवासीलाई कसरी खुशी बनाउने, हामीले अगाडि सारेका योजना–आयोजनालाई कसरी पूर्णता दिने भन्ने ध्येयले नै महानगरको मेयरमा दोहोरिने इच्छा राखेकी हुँ। दाबी गरेकी हुँ। देशकै हेर्नलायक शहर र विकासको एक मोडेल बनाउने उद्देश्यले नै फेरि मेयरमा अगाडि सर्ने आँट गरेकी हुँ।

जनमानसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी भएकै कारण तपाईँले बारम्बार अवसर पाइरहनु भएको छ भन्ने बुझाइ छ। यसबारे के भन्नुहुन्छ?

दुःख लाग्छ। २५–३० वर्ष भयो म राजनीतिमा सक्रिय छु। हिजोको त्यो कहालीलाग्दो अवस्थाबाट जुन संघर्षको मैदानबाट लड्दै पड्दै आजसम्म निरन्तर जनताको सेवामा छु। मलाई यत्तिकै ‘बा’(प्रचण्ड) ले  टपक्क टिपेर ल्याएर यो कुर्सीमा राखिदिएको त होइन नि! मेरो विगत हेर्नु हुन्छ भने पनि म यहीँ चितवनमा जन्मेको, यहीँ हुर्केको, यहीँ पढेको, यहीँ बढेको। ​पढाइ चटक्कै छोडेर परिवर्तनका लागि युद्धमा होमियौँ हामी। आजसम्म निरन्तर त्यही कर्ममा छौँ भने कहाँ जनताको अहित भयो त?

सधैँ देश र जनताको हितलाई कायम राखेर अहिले यहाँसम्म आएका छौँ। केही नगरेर  यत्तिकै त आएको होइन नि! अरु पनि अवसर हुन्थे होला नि। तर जनताको सेवा गर्छु भनेरै आएको हो। सबैलाई खुशी नै पार्ने गरेर जनमुखी कार्य अगाडि बढाउँदै आएको छु। म आफैँ आफ्नै पहिचान दिने हिसाबले अगाडि बढिरहेको छु। त्यसैले यी तर्क निराधार लाग्छन्। प्रचण्डकी छोरी भनेर रट लगाइरहनुको अर्थ पनि छैन। त्यो केही अबुझ र बुझेर पनि बुझ पचाउने र विरोधका लागि विरोध गरिरहनेका तर्क हुन्।

भरतपुर महानगरपालिका भित्र तपाईँकै पार्टी भित्र अरु नेता पनि आकांक्षी हुनुहुन्छ होला नि?

खासै हाम्रै पार्टी भित्रबाट भने जिल्ला तहमा त्यस्तो कसैले आकांक्षा राखेको अवस्था भने छैन। एक सय एक नेता–कार्यकर्ता पार्टीमा हुनुहुन्छ। तर महानगरपालिकाको मेयरमा आकांक्षी मैले कहीँ कतै सुनेको छैन।हाम्रो पार्टी मात्र नभएर गठबन्धनभित्रैबाट एकपटक फेरि रेणु नै भन्ने कुरा छ। 

अघिल्लो पटक २०७४ सालमा पनि कांग्रेस–माओवादी केन्द्रबीच भएको गठबन्धनबाट मेयर तपाईँहरुले नै पाउनु भएको थियो। अहिले पनि तपाइँले नै मेयर पाउँदा काँग्रेसको आधार क्षेत्र मानिएको भरतपुरमा उनीहरूमाथि अन्याय भएन र?

हामी यतिवेला गठबन्धनमा छौँ। अब देशमा ६ वटा महानगरपालिका छ। त्यसमध्ये एउटामा माओवादी केन्द्रले दाबी गर्नु अन्यथा हो र? होइन भने गठबन्धन बनेको के अर्थ भयो र? यो त एकदम स्वाभाविक दाबी हो। माओवादीको गुन, माओवादीको देन बिर्सनु भएन नि गठबन्धनका अन्य पार्टीले। एक त अध्यक्ष प्रचण्डको गृहजिल्ला पनि भयो। जित्ने बलियो आधार पनि भयो। त्यसैले माओवादीले दाबी गरेको हो। आफूले जित्ने ठाउँमा दाबी गरेकोमा अनौठो मान्नु पर्ने कुरै छैन। त्यो कुरा आम कांग्रेस शुभेच्छुकहरूले पनि बुझ्नु हुनेछ भन्ने लागेको छ। 

चितवन जिल्लास्तरमा कांग्रेस पार्टी भित्रै मेयरको विषयलाई लिएर चर्को मतभेद छ। यस्तो अवस्थामा गठबन्धनबाट भोट पाउने आशा अपेक्षा कतिको गर्नुभएको छ? 

पाउँछु भन्ने आशा छ , अझ अहिले त धेरै सुदृढ भएको छ पहिलेभन्दा। , तर पहिला्े माओवादीलाई दिएकाले अहिले हामीले पाउनुपर्थ्यो भन्ने कुरालाई अन्यथा लिन्नँ म। स्वाभाविक हो उहाँहरूको माग। तर गठबन्धनमा रहेको र ६ वटामा हामीले एउटा रोज्दा भरतपुर लिएका हौँ। अरु ठाउँमा स्वाभाविक रुपमा हाम्रो साथ सहयोग र समर्थन उहाँहरूलाई हुन्छ भने यहाँ उहाँहरुबाट त्यो सहयोग पाउनेमा आशावादी छु।

पछिल्लो पाँच वर्षको कार्यकालमा कांग्रेसका धेरै नेता–कार्यकर्तासँग नजिक भएको छु। माया गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ भन्नेमा ढुक्क छु।  हामीले गरेका कामले पनि जनमत हाम्रो पक्षमा छ भन्ने लाग्छ। अन्य पार्टीका मेयरका दाबेदार नेता\कार्यकर्ता रुष्ट हुनु स्वाभाविक नै ठान्छु म। 

त्यसो भए भरतपुर महानगरपालिकाको मेयर जित्ने कुरामा ढुक्क हुनुहुन्छ ? 

(हाँस्दै) एकदम ढुक्क छु, सबैको साथ सहयोग पाउने कुरामा। 

अन्त्यमा,  महिला भएर महानगरपालिकाको नेतृत्व गरिरहँदा केही असहज महसुस भयो कि भएन? कस्तो अनुभव गर्नुभयो? 

पक्कै पनि, महिला भएकैले सुरुमा केही असहज परिस्थिति त भोगियो नै। तर कामप्रतिको लगाव, शैली र व्यवहारले खासै त्यसो अवस्था भने आइपरेन। मान्छेको चेतना, चिन्तन अझै बदलि नसकेकाले कहीँ कतै असहज हुने रहेछ।  तर महिला भएकै कारण हेपिएको वा पेलिएको गुनासो गर्नुपर्ने अवस्था छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.