स्थानीय उत्पादन खेर गएको देखेर व्यवसाय शुरु गरे

|

काठमाडौं : यतिवेला नेपाली बजार विदेशी उत्पादनले धानेको छ। जसमा रासायनिक रंग मिसाइनुका साथै विषादीको समेत प्रयोग भएको हुन्छ। रैथाने खानेकुरा खानका लागि शहर छाडेर गाउँतिर नै लाग्नुपर्ने अवस्था छ।

अर्कातिर नेपालका आफ्ना रैथाने र अर्गानिक उत्पादनले बजार नपाएर गाउँबस्तीमै खेर जाने अवस्था छ। त्यस अवस्थालाई मध्यनजर गर्दै ‘आजु फुड्स’ले कर्णालीमा उत्पादन भएका रैथाने खानेकुराको स्वाद काठमाडौं उपत्यकावासीलाई दिइरहेको छ। 

काठमाडौंको बालाजुमा चिटिक्क सजाइएको ‘आजु’ मा दुर्गम भेग कर्णालीमा उत्पादित खाद्यान्नहरू जुम्लाको सिमीको दाल, मार्सी चामल, बोडी, कागुनो, चिनो, फापर, जौ, कालीकोटको सेतो मकै, जाजरकोटको भटमास, अदुवालगायत विभिन्न खाद्यान्न पाइन्छ। 

गत साउनदेखि कर्णालीमा उत्पादित रैथाने खाद्यान्न संकलन गर्न थालेको आजुले गत मंसिरमा काठमाडौमा खाद्यान्न बेच्न शुरु गरेको हो। शुरूमा बालाजुमा पसल खोलेको आजुले अहिले ४ ठाउँमा पसल विस्तार गरिसकेको आजु फुड्सका सञ्चालक यादव देवकोटा बताउँछन्।

उनका अनुसार बालाजुबाहेक स्वयम्भु, कमलादी र ललितपुरको भनिमण्डलमा शाखा पसल सञ्चालन गरेका छन्। यीमध्ये २ ठाउँका कम्पनीमा देवकोटाको लगानी रहेको छ। अन्य पसलका लागि देवकोटाले होलसेल मूल्यमा सामान दिँदै आएका छन्।

कसरी शुरु भयो रैथाने खाद्यान्न बेचबिखन

गोरखा जिल्लामा जन्मेका देवकोटालाई बाल्यकालमा गाउँघरमा खाएको रैथाने अर्गानिक खानेकुराको स्वाद अझै पनि जिब्रोमा झुन्डिएको छ। उनी काम र पढाइको सिलसिलामा काठमाडौं प्रवेश गरे। यतैको रहनसहन, खानेकुरामा बानी पर्दै गयो तर पनि उनले गाउँका खानेकुराको स्वाद चटक्कै बिर्सन सकेका थिएनन्।

कामको सिलसिलामा विभिन्न  जिल्लामा पुगे। विदेशी उत्पादनले धानेको देशमा स्थानीयले उब्जाएका खाद्यान्नले बजार नपाएर त्यसै खेर गएको देखे। स्थानीय उत्पादन प्रवर्द्धन गर्न सोचले उनले ‘आजु’ सञ्चालनमा ल्याएका हुन्। विशेषगरी कर्णालीका विभिन्न जिल्लाका रैथाने खाद्यान्न संकलन गरी काठमाडौंवासीलाई खुवाइरहेका छन्।

एकातिर स्थानीयलाई आर्थिक उपार्जन हुने अर्कातिर स्वास्थ्यमा नकारात्मक असर पार्ने रासायनिक र विषादी प्रयोग गरिएका खाद्यान्न उपभोग गर्न बाध्य शहरवासीको अवस्थालाई मध्येनजर गर्दै आजु फुड्स शुरू गरेको देवकोटा बताउँछन्। 

आजुले विशेष गरी कर्णालीमा उत्पादित रैथाने खाद्यान्न ल्याउँछ। जुम्लाको सिमीको दाल, मार्सी चामल, बोडी, कागुनो, चिनो, फापर, जौ, कालीकोटको सेतो मकै, जाजरकोटको भटमास, मस्याम (मास), गहत, सल्यानको मासको दाल, पिँडालु, अदुवा, दैलेखको अप्रशोधित मह, रोल्पाको भाङ, म्याग्दीको सिलाम, सिस्नो र अमलाको धूलो ल्याएका छन्। 

मुस्ताङको जिम्बु, पोखरेली जेठोबुढो चामल, कपिलवस्तुको कालानमक चामल, गोरखाको इन्द्रबेली धानको चामल, अनदी चामल, भैंसीको घ्यु, बेसार, सातु, रामेछापको भटमास, सर्लाहीको बेसार, रहरको दाल, चितवन माडीको आलस, खोकनाको कोलमा पेलेको तोरीको तेल, इलामको गाईको घ्यु, सोलुको सेतो सिमी जस्ता थुप्रै दैनिक उपभोग्य रैथाने खाद्यान्न कम्पनीले उपभोक्तासम्म ल्याउने गरेको सञ्चालक देवकोटाले बताए।

बोरा बोकेर घर-घरबाट संकलन गरिन्छ 

सञ्चालक देवकोटाका अनुसार खाद्यान्न संकलन गर्न समस्या हुने गरेको छ। ग्रामीण भेगमा व्यावसायीक हिसाबले उत्पादन गरिँदैन। जीविकोपार्जन गर्नका लागि उब्जाएको र आफूलाई बढी भएको बेच्ने हो। त्यसका लागि प्रत्येक घर-घरमा बोरा बोकेर संकलन गर्न जानु पर्छ। उनले भने, ‘कसैको घरमा १ पाथी, कसैसँग २ पाथी हुन्छ। त्यो संकलन गरेर निश्चित ठाउँमा राख्नुपर्ने हुन्छ,' उनका अनुसार ढुवानीका साधन नपुग्ने ठाउँमा खच्चरमा बोकाएर सडकसम्म ल्याउनु पर्छ। 

ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङ टेकुको शुक्रपथस्थित गोदाममा गरिन्छ। ग्रेडिङमा खाद्यान्न निफन्ने, केलाउने, दालजन्य पदार्थ पिस्नेलगायत काम गरिन्छ। त्यसपछि प्याकेजिङ गरिन्छ र लोगो टाँसेर पसलसम्म पुर्‍याइन्छ। वितरकका रूपमा अन्य पसलहरूमा पनि कम्पनीले आपूर्ति गर्छ। कम्पनीले खुद्रा र थोक दुवै मूल्यमा उपभोक्तासम्म किसानको घरको उब्जनी पुर्‍याउँदै आएको देवकोटाले जानकारी दिए। यसका लागि उनले अहिलेसम्म ५० लाख लगानी गरिसकेको सुनाए। 

तुलनात्मक रूपमा गाउँघरबाट ल्याइएको खाद्यान्न केही महँगो पर्ने उनको भनाइ छ। परम्परागत उत्पादन प्रक्रिया, लागत, ढुवानी खर्च जस्ता कारणले महँगो पर्छ। तर पछिल्लो समय मानिसमा सचेतना बढेकाले केही महँगो परे पनि राम्रो माग भइरहेको उनको भनाइ छ।

कम्पनीले अनलाइन बजार दराजमार्फत पनि खाद्यान्न, गेडागुडी तथा दालजन्य सामान बिक्री गर्दै आएको छ। साथै आजुको आफ्नै सामाजिक सञ्जालबाट पनि ग्राहक जोडिन्छन्। ग्राहकको प्रतिक्रिया र मागका आधारमा व्यवसाय परिमार्जन गर्दै लैजाने देवकोटाले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.