|

काठमाडौं : रोजगारीको खोजीमा नेपाल आउने विदेशीको संख्या घट्दै गएको छ। कोरोना (कोभिड-१९) महामारीका कारण लामो समय परियोजनाहरू बन्द हुँदा त्यस्ता परियोजनामा काम गर्न नेपाल आउने विदेशीको संख्यामा कमी आएको हो।

विकास साझेदार मुलुकहरूको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या गत आवको तुलनामा घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। कोभिडका कारण नेपालबाट विदेशिने तथा आउने दुवैको संख्यामा कमी आएको विभागका निर्देशक मणिनाथ गोपले जानकारी दिए। 

नेपाल आउने विदेशी गत आवको तुलनामा चालू आवमा करिब ९ प्रतिशतले घटेको विभागको तथ्यांकले देखाएको छ। गत वर्ष ८ महिनामा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको संख्या १ हजार ७ सय १९ रहेको थियो। यो संख्या चालू आवमा १ हजार ५ सय ८६ रहेको विभागले जनाएको छ। 

कोभिड चीनबाट शुरु भएको र नेपालमा सञ्चालित चिनियाँ परियोजनामा धेरै चिनियाँ कार्यरत रहेका कारण पनि नेपालमा काम गर्न अनुमति लिने विदेशीको संख्या घटेको विभागको भनाइ छ। 

नयाँभन्दा पनि ५ देखि ७ वर्षसम्म सञ्चालन हुने परियोजनामा काम गर्ने प्राविधिकले श्रम स्वीकृति नवीकरण गराउने गरेका छन्। यसअघि सुनकोसी-मरिन डाइर्भसनमा ५ सय चिनियाँ प्राविधिक ल्याउन सरकारले अनुमति दिएको थियो। विश्व स्वास्थ्य संगठन, सेभ द चिल्ड्रेनलगायतका विकास साझेदारले पनि थोरै संख्यामा विज्ञका लागि श्रम स्वीकृति लिने गरेका छन्। 

यी क्षेत्रमा छन् विदेशी कामदार

विभागको तथ्यांकअनुसार नेपालमा रोजगारीका लागि ९६ देशका नागरिक आउने गरेका छन्। श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सक्ने प्रावधान छ।

नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन्। रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक कामदार विदेशी रहेको निर्देशक गोपले जानकारी दिए। कोभिड संकटका बेला नयाँ श्रम स्वीकृति लिने विदेशीको संख्यामा केही कमी आए पनि नवीकरण गर्नेको संख्या बढेको उनले बताए।

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था भएपनि सरकारका विभिन्न निकायसँग भएका सम्झौता बमोजिमका संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्था गरेको छ।

कुन वर्षमा कतिले लिए श्रम स्वीकृति?

आव ०७४/७५ मा रोजगारीका लागि २ हजार ५ सय ७० जना विदेशी नेपाल आएका थिए। जसमा १ हजार ६ सय ८ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने ९ सय ६२ जनाले नवीकरण गरेका थिए। आव ०७५/७६ मा  १ हजार ९ सय ८१ जनाले इजाजत लिएका थिए। जसमा १ हजार १ सय १९ जनाले नयाँ श्रम स्वीकृति  लिएका थिए भने ८ सय ६२ जनाले श्रम स्वीकृति नवीकरण गरेको विभागको तथ्यांक छ।

आव ०७६/७७ मा २ हजार ५० जनाले श्रम स्वीकृति लिएका थिए। जसमा १ हजार ९१ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने ९ सय ९५ जनाको श्रम स्वीकृति नवीकरण गरिएको विभागले जनाएको छ। आव ०७७/७८ मा २ हजार ३ सय ९३ जनाले श्रम स्वीकृति लिएका थिए। चालू आवमा १ हजार ५ सय ८६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.