|

जनकपुरधाम : स्थानीय निर्वाचनका लागि मधेश प्रदेशका सबै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय सञ्चालन भएका छन्।

प्रदेशका १३६ वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले बताए।

निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम जिल्ला अदालत धनुषाका न्यायाधीश व्रजेश प्याकुरेल मुख्य निर्वाचन अधिकृत तोकिएका छन्।

निर्वाचन आयोगले औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव रजेश शशि, कमला नपामा जिल्ला न्यायाधिवक्ता धर्मअवतार कोइराला, क्षीरेश्वरनाथ नपामा धनुषा जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेत, गणेशमान चारनाथ नपामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत रूपेशकुमार साह, जनकनन्दनी गापामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ठूलोबाबु दाहाललाई निर्वाचन अधिकृत तोकेको छ।

त्यस्तै धनुषाधाम नपामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत चिरञ्जीवी गौतम, धनौजी गापामा उपन्यायाधिवक्ता पोषराज खनाल, नगराइन नपामा उपन्यायाधिवक्ता सुदीपकुमार दंगाल, बटेश्वर गापामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोडारी, मिथिला नपामा न्यायपरिषद्का उपसचिव दीपक धिताल, मुखियापट्टी मुसहरनिया गापामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरि पौड्याल निर्वाचन अधिकृत बनाइएका छन्।

लक्ष्मीनिया गापामा शिक्षा विकास निर्देशनालयका उपसचिव चुडामणि फुँयाल, मिथिला बिहारी नपामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार राजु पराजुली, विदेह नपामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी, शहीदनगर नपामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नपामा सर्वोच्च अदालतका इजलास अधिकृत वासुदेव पाण्डे र हंसपुर नपामा सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राई निर्वाचन अधिकृत तोकिएका छन्।

१ हजार ६३ मतदान केन्द्र अति संवेदनशील

निर्वाचन आयोगले गरेको वर्गीकरणअनुसार मधेशमा १ हजार ६३ मतदान केन्द्र अति संवेदनशील र ८८८ केन्द्र संवेदनशील रहेका छन्। त्यसैगरी सामान्य मतदान केन्द्रको संख्या २१२ छ।

सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशील मानिएका छन्।

सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको हो।

सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदानस्थल सामान्य सूचीमा रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दियो।

यस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष, १५ लाख ३३ हजार १५८ महिला र अन्य ६६ गरी कुल ३३ लाख ३१ हजार १७० जना मतदाता छन्।

प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएका हुन्। ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्थीले बताए।

सप्तरीमा २९७ मतदान स्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र छन्।

त्यस्तै सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको हो।

२१५ वटा दल दर्ता

मधेश प्रदेशमा स्थानीय निर्वाचन प्रतिस्पर्धा गर्न ६ वटा राष्ट्रिय दलबाहेकका २१५ वटा दल दर्ता भएका छन्। सबैभन्दा बढी रौतहटमा ३० र सबैभन्दा कम महोत्तरीमा २० वटा दल दर्ता भएका छन्।

त्यस्तै, सर्लाहीमा २९, बारामा २९ र सप्तरीमा २८ वटा दल दर्ता भएका छन् भने पर्सामा २७, धनुषामा २६ र सिरहामा २६ वटा दल सूचीकृत छन्।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णचन्द्र राउतले दर्ता भएका दलले आफ्नै चुनाव चिह्न पाउने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.