गठबन्धन र एमालेबाट को को परे सिफारिसमा?

|

दाङ : पाँच दलीय गठबन्धनले बुधबार लामो रस्साकस्सीपछि  ११ उपमहानगरपालिकाको भागबन्डा  टुंगिएको हो। त्यस्तै  जिल्लाका दुई उपमहानगरमा कसले नेतृत्व लिन्छ, भन्ने बारेमा सबैले निकै चासोको रुपमा हेरेका थिए।

भागबन्डाअनुसार घोराही उपमहानगरपालिका नेकपा माओवादी केन्द्रलाई र तुलसीपुर कांग्रेसलाई परेको छ।  त्यस्तै, घोराहीमा उपमेयर नेपाली कांग्रेस र तुलसीपुरको नेकपा (एकीकृत समाजवादी)  पार्टीले पाएका छन्। २०७४ सालमा दुवै उपमहानगरमा नेकपा एमाले विजयी भएको थियो।

केन्द्रको सहमतिअनुसार भागबन्डा भए पनि यहाँका नेताहरू भने त्यति सन्तुष्टि देखिएका छैनन्।  मंगलबार मात्रै  नेपाली कांग्रेस घोराही नगरसमितिले जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मूल्यांकन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको थियो।

गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिस्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो। नेपाली कांग्रेस घोराही नगरका सभापति तिलक रावतले आम कार्यकर्ताहरू सन्तुष्टि नभएको बताए।

उनले कांग्रेसका स्वाभिमान कार्यकर्तामा ठेस पुगेको भन्दै विरोध गरेकाहरूलाई बुझाउँदै जाने पनि बताए।  त्यस्तै उनले अहिले नेतृत्व तहमा बसेका व्यक्तिहरूले सन्तुष्ट र असन्तुष्ट व्यक्त गर्ने समय अहिले उपयुक्त नभएको पनि बताए।

‘ जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा दुईवटा स्थानीय तह पर्दछन्,‘ उनले भने,‘ त्यो पनि माओवादीले नै पाउने भएपछि हामीमाथि ठूलो अन्याय हुन्छ, भनेर हामीले पत्रकार सम्मेलन गरेका भनेका थियौँ। यसका लागि असन्तुष्ट कुराहरू धेरै रहेका छन्। तर, ती कुराहरू कहाँ व्यक्त गर्ने भन्ने कुरा अहिले उपयुक्त हैन।

हामी नेतृत्व गर्नेमा भन्दा पनि आम कार्यकर्ताहरूबाट धेरै विरोध आएको छ।’ उनले यसलाई असन्तुष्टि भन्दा पनि जिम्मेवारको रुपमा लिएर अगाडि बढ्नु पर्ने स्थिति रहेको उल्लेख गरे।

अहिले समाजिक सञ्चालनमा कांग्रेसका इमानदार कार्यकर्ताहरू माथिको भावनामा ठेस पुगेको उनको भनाइ थियो।

उनले भने, ‘हिजोका जनयुद्धका माओवादीहरूले माओवादलाई सेलाएर आएका छन्। त्यो माओवादीले हामीले बाटो बिरायौँ। अब तपाईँहरूसँग सँगै हिँड्न चाहन्छौँ। हामी तपाईँहरूको नीतिसँग  समर्पित छौँ, भने आइसकेपछि एउटा बाटो बिराएको बटुवालाई सही बाटोमा लिएर हिँडेको हो।’ निर्वाचन क्षेत्र नं. २ मा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका गरी दुईवटा स्थानीय तह रहेका छन्।

बंगलाचुलीमा २०७४ सालमा नेकपा माओवादी केन्द्रले जितेको थियो, भने यसपटक घोराही माओवादी केन्द्रलाई भागमा परेको छ।

यता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा घोराही उपमहानगरका मेयर पदका उम्मेदवार हेमराज शर्माले नेपालको लोकतन्त्र, संविधानलाई संस्थागत तथा कार्यान्वयन गर्न गठबन्धन बनेको बताए।

उनले लोकतान्त्रिक शक्तिहरुको बीचमा नयाँ मोर्चा बनेर प्रतिगमनको विरुद्धको समस्या हल गर्नको लागि पनि गठबन्धनको आवश्यकता भएको र  आफू त्यसैको हिसाबले गठबन्धनको उम्मेदवार बन्न लागेको पनि बताए। उनले आफूलाई गबन्धनमा रहेको पार्टीले सहयोग गर्ने पनि बताए।

तुलसीपुरका कार्यकर्तामा निराशा

तुलसीपुर उपमहानगरका माओवादी केन्द्रका अध्यक्ष खुशीराम चौधरीले तुलसीपुरमा माओवादीले आफ्नो नेतृत्व लिन चाहेको भएता पनि गठबन्धनमा भागबन्डा हुँदा तुलसीपुर नपरेकोमा पार्टीका कार्यकर्ताहरु निराश भए पनि यो गठबन्धन प्रतिगामी विरुद्धको भएको हुँदा सबैलाई बुझाउने बताए।

त्यस्तै उनले आफूहरुले प्रमुख ÷ उपप्रमुख नपाए पनि १९ वटा वडाहरु मध्य आधा वडाहरुमा आफ्नो नेतृत्व हुनुपर्ने बताए। उनले भने, ‘२०७४ सालमा हामीले हारेका थियौँ। तर, अहिले हाम्रो पार्टीको संगठन राम्रो थियो। हामीले पनि प्रमुख र उप्रमुखको आकांक्षा गरेका थियौँ। तर, गठबन्धनले गर्दा तुलसीपुर हाम्रो भागमा परेको छैन। अब हामीलाई तुलसीपुरका वडाहरु मध्य आधा चाहिन्छ।’

त्यस्तै, उनले कार्यकर्ताहरु निराश भए पनि भोट भने गठबन्धनका उम्मेदवारहरुलाई नै दिने पनि बताए। उनले तुलसीपुरमा आफूहरुको भागमा नपरेकोमा भोट आउँदैन, कि? भन्ने गठबन्धन भित्रका पार्टीहरुलाई लागेको भएता पनि त्यस्तो नहुने पनि बताए। उनले भने, ‘तुलसीपुरमा माओवादीलाई भाग परेको छैन। भोट आउँदैन् कि, भनेर शंका मान्नु पर्दैन। यो कुरा अहिले गठबन्धन भित्रका पार्टीले भन्दा विपक्षी पार्टीले बाहिर ल्याएका छन्। तर, गठबन्धन जुन उद्देश्यले भएको हो। त्यो पूरा गर्ने हामी र हाम्रो कार्यकर्ता तयार छौँ। हामी गठबन्धनलाई नै जिताउँछौँ/ जित्छौँ।’

एमाले एक्लै काफी छ : अध्यक्ष बस्नेत

नेकपा एमालेका दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतले एमाले ५ दलीय राजनीतिक गठबन्धनका विरुद्धमा एक्लै काफी रहेको बताए। उनले जनता गठबन्धनसँग रुष्ट भएको भन्दै यसपटक फेरि पनि जनताले एमालेलाई सहयोग गर्ने दाबी गरे। उनले पार्टीले गरेका काम र राष्ट्रियताको सवालमा र जिल्लामा पार्टीले गरेका कामहरुलाई जनताले मन पराएको र यसपटक पनि आफूहरुले नै निर्वाचन जित्न दाबी गरे।

उनले भने, ‘२०७४ सालमा हामीले जिल्लामा ६ स्थानीय तहमा विजयी हासिल गरेका थियौँ। तर, यसपटक हामीले अझै २ वटा बढाउनेछौँ। यो गठबन्धन सत्ता स्वार्थका लागि हो। नेपाली कांग्रेसमा इमानदार र निष्ठावान कार्यकर्ताहरुले योपटक गठबन्धनलाई भोट हाल्दैन।’

गठबन्धनका कारण रुख चिन्ह नभएको भन्दै उनले अर्काको पार्टीलाई भोट हाल्नको लागि कांग्रेसले त्याग गर्ने र कांग्रेसका इमानदार कार्यकर्ताहरुले नै एमालेलाई साथ दिनमा आफू विश्वस्त रहेको पनि बताए। त्यस्तै माओवादी पार्टीका कार्यकर्ताहरुले पनि आफ्नो अरु पार्टीलाई भन्दा पनि कम्युनिष्ट पार्टीलाई नै भोट हाल्ने उनको दाबी छ।

यसैगरी उनले यस पटकको निर्वाचनमा एमाले सबै शक्तिहरुका विरुद्ध एक ढिक्का भएर समाना गर्ने पनि बताए।

त्यस्तै, उनले घोराही र तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको नाम जिल्लाबाट प्रदेशमा सिफारिस गरेको पनि बताए। प्रदेशको सचिवालय बैठकले केन्द्रमा सिफारिस गरेको शुक्रबारसम्म उम्मेदवार टुंगो लाग्ने पनि उनको भनाइ थियो।

त्यस्तै, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा उपप्रमुख उम्मेदवारहरुको नाम पनि  प्रदेश कमिटीमा पठाएको उनले बताए। त्यस्तै, उपमहानगरका वडा अध्यक्षको लागि पनि प्रदेशमा पठाएको र शुक्रबारसम्म गाउँपालिकाका वडाध्यक्षहरू र सदस्यहरुको नामको टुंगो लाग्ने पनि बताए।

गठबन्धनले थोरै फेरबदल ल्याउँछ

नेपाल पत्रकार महासंघ दाङ जिल्ला अध्यक्ष एंव प्रध्यापक दुर्गालाल केसीले अहिलेको गठबन्धनले थोरै राजनीतिमा फेरबदल ल्याउने बताए। उनले जिल्लामा २०६४ सालदेखि यताको राजनीति अवस्था हेर्दा २०६४ सालमा नेकपा माओवादीले सबै क्षेत्रमा विजयी भएको भन्दै २०७० मा नेपाली कांग्रेस र २०७४ सालमा एमाले र माओवादीबीच भएको गठबन्धनले जितेको बताए।

उनले  भने,‘ अहिलेको ५ दलीय गठबन्धनमा त्यसमा पनि कांग्रेस र माओवादीबीच फरक धारका पार्टीबीच गठबन्धन हुन लागेको छ। हिजो जनयुद्धमा माओवादी र कांग्रेस प्रमुख दुश्मन शक्तिमा थिए। तर, खासमा माथिल्लो तहका नेताहरू मिलेको देखिए पनि तल्लो तहसम्म एकता गर्न कठिन भएको भन्ने कुरा सुनिन्छ।’

त्यस्तै उनले गठबन्धन भएर जाँदा पनि उनीहरुले चाहेको जति मत आउँछ, कि आउँदैन भन्ने मुख्य चुनौती रहेको पनि बताए।  लामो समय रूखमा तथा हसिँया हथौडामा भोट हालेका अर्को चुनाव चिन्हमा भोट हाल्न गाह्रो मान्न सक्ने भएकाले पनि कतिपय मतहरू खेरजाने सम्भावना रहेको उनको भनाइ थियो।

यसरी गठबन्धनबाट निर्वाचनमा होमिँदा गठबन्धनका पार्टी तथा कार्यकर्तालाई पनि कुन चिन्हमा भोट हाल्ने भनेर अलमल त पर्ने नै छन्। यस्तो खालको निर्वाचनबाट कस्तो नतिजा आउला त्यो भने हेर्न बाँकी नै छ।

‘जिल्लामा गठबन्धन भित्रका तल्लो तहका नेता कार्यकताहरुमा निराशा दिएको छ, उनले भने,
‘उनीहरुले चाहेको ठाउँमो भोट हाल्न नपाउने, चाहेको ब्यक्ति छान्न नपाउने गुनासो देखिएको छ। जसले गर्दा गठबन्धनका कारण सबै भोट आउँछ, भन्ने सम्भावना पनि देखिँदैन।’

यस्तै, एमालेले उम्मेदवार चयन पनि सहज रूपमा गरेको र गठबन्धनमा सबै दलहरुलाई मिलाउनुपर्ने र गठबन्धन भएपछि जित्न सजिलो हुन्छ, भनेर पनि धेरै उम्मेदवारको अपेक्षा हुदाँ मिलाउन कठिन हुने पनि उनको भनाइ थियो। उपेक्षा गरे जस्तो एमाले कम्जोर र गठबन्धन बलियोभन्दा पनि दुवैबीच कडा प्रतिस्पर्धा हुने उनको दाबी छ।

एमालेबाट को को परे सिफारिसमा?

 नेकपा एमालले तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका लागि  निवर्तमान पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का सहित ३ जनाको नाम सिफारिस गरेको छ।

त्यस्तै, घोराहीमा मेयर पदको लागि हालका मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपानेको नाम सिफारिस गरेको छ। 

गठबन्धनबाट को को?

घोराही उपमहानगरपालिका नेकपा माओवादी केन्द्रको भागमा परेका हुँदा माओवादीले केन्द्रीय सदस्य  हेमराज शर्माको नाम सिफारिस गरेका छ।

त्यस्तै, तुलसीपुर नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी ) पार्टीको भागमा परेको हुँदा मेयरमा पूर्व सांसद तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको चर्चा रहेको छ। गिरीले २०७४ सालको निर्वाचनमा हालमा मेयर घनश्याम पाण्डेसँग पराजित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.