|

विराटनगर : के गाँउ के शहर सबै यतिवेला स्थानीय तहको चुनावको चटारोमा छन्। त्यसमा पनि कसले कुन पदका लगि टिकट पाउने हो? र टिकट पाइहाले कसले जित्ने हो भनेर चोक चोकका चिया पसलमा हुने ताता बहसले तराईको तातो मौसमलाई अझै रापिलो बनाएको छ।

चुनावको रौनकले दलका नेता, कार्यकर्तासँगै आकांक्षी उम्मेदवारलाई त तताएको छ नै तर यता विराटनगर महानगरपालिका–१२ का २३ वर्षीय नसिब ऋषिदेवलाई भने कहीँ कतै पनि छोएको छैन।

उनी बिहान कमाएर साँझ के खाने भन्ने चिन्ताबाहेक आफू चुनावबारे बेखबर रहेको बताउँछन्। ‘खै? चुनाव आयो भन्छ, हामीलाई त बिहान कमाएर बेलुका के खाने भन्ने मात्रै थाहा हुन्छ,’ उनी सुनाउँछन्, ‘चुनाव त पैसा हुनेका लागि हो हामीलाई त यस्तो कुराको मतलबै हुँदैन।’

८ जनाको परिवारलाई साँझ बिहान के खुवाउने भन्ने चिन्ताले नसिबलाई जस्तै यो गाउँका मुसहर समुदायका सबै परिवारलाई छ। नसिब बस्ने गाँउमा १५ घर परिवार मुसहर समुदाय बसोबास गर्छन्। जहाँका अधिकांश परिवार भोको पेट र कसरी पेटको आगो निभाउने बाहेक चुनावी रौनकबाट बेखबर झैँ छन्।

अधिकांश दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका मुसहर बस्तीमा बिहानको समय केटाकेटी मात्रै भेटिन्छन्। काम गर्न सक्ने सबै महिला, पुरुष कामका लागि बिहानै हिँड्ने हुँदा बस्ती सुनसानजस्तै हुन्छ।

बिहान ६ देखि ७ बजेभित्र उनीहरू काम खोज्न विराटनगरका विभिन्न चोकमा पुग्छन्। काम पाए बिहान बेलुकीको छाक टर्छ‚ काम नपाए रित्तो हात फर्किनुपर्ने अनिता ऋषिदेव बताउँछिन्।

उनको ५ जनाको परिवार छ। पति, पत्नी दुवै जना वर्षौंदेखि ज्यामी काम गर्दै आइरहेको उनी सुनाउँछिन्। ०७४ सालको निर्वाचनयता आफूहरूको बस्तीमा जनप्रतिनिधिको पाइला नपरेको बताउने उनी आगामी निर्वाचनबारे केही पनि थाहा छैन भन्छिन्।

वर्षेनी बाढीको तान्डव झेल्दै आइरहेको मुसहर बस्तीमा जनप्रतिनिधिले राहत सामग्रीसमेत विभेदपूर्ण तरिकाले वितरण गर्ने गरेको गुनासो उनले पोखिन्। ‘यहाँ धेरै समस्या छ, वर्षेनी बाढीले वाक्क लगाउँछ, नेताहरूले बाढीको समस्याको समाधान गर्ने भन्छन्, तर फर्केर आउँदैन,’ उनी सुनाउँछिन्, ‘बाढी आएको समय हामीलाई त्रिपाल पनि दिएन बरु अरु निजी संस्थाले राहत बाँडेको थियो।’

अधिकांश केटाकेटीले स्कुल पढ्दै अनि केही समयपछि स्कुल छाड्नेको संख्या धेरै छ। विपन्नताका कारण विद्यालय छाडेर अभिभावकसँगै काममा हिँड्ने पनि उत्तिकै भेटिन्छन्।

‘बिहान ल्याएर बेलुका खानुपर्ने अवस्था छ‚ बोडिङ पढाउन सकिँदैन सरकारी स्कुल जान्छ। केही समय स्कुल जान्छ त्यसपछि जान छोड्छ‚’ अनिताले सुनाइन्, ‘स्कुल छोडेका केटाकेटी कोही बाआमासँगै काम गर्न जान्छ।’

०६२/६३ को जनआन्दोलन पछि देशमा ठूलाठूला राजनीतिक परिवर्तन आए। २ सय ३ वर्ष लामो राजतन्त्रको किल्ला ढालेर देशमा लोकतन्त्र आयो। लोकतन्त्रमा सबै जाति, धर्म, समुदायले समान अधिकार पाउने उल्लेख छ।

तर तराईका दलितमध्ये सबैभन्दा पिछडिएको मुसहर समुदायको अवस्था भने ज्यूँ का त्यूँ छ । उनीहरू अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र सरकारी सेवाबाट वञ्चित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.