|

जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ का १६ वर्षे नरवीर कामीले २०५५ सालमा १३ वर्षकी बालिकासँग विवाह गरे।

सानै उमेरमा विवाह गरेका उनी अहिले निकै पछुतो रहेको बताउँछन्। ‘बालविवाह गर्दा निकै कष्ट व्यहोर्नु पयो’, उनले भने, ‘बालविवाहको असर अहिले देखा पर्न थालेको छ। निकै पश्चात्तापमा छु।’ उनकी श्रीमती १४ वर्षको उमेरमा गर्भवती भइन्।

प्रजनन क्षमता परिपक्क नभएर गर्भवती हुँदा आमा र बच्चा दुबैको ज्यान गयो। उनले भने, ‘बालविवाह महाकाल हो। कैयन् महिलाले कमै उमेरमा विवाह गर्दा अकालमा मृत्यु झेल्नु परेको छ।’

उनले भने, ‘सानैमा विवाह गर्नाले दुःख पाएँ‚ पढ्न पाइनँ। आमा र छोराको मृत्यु हुँदा टुहुरो जस्तो भए। यो सबै बालविवाहको परिणाम थियो, अहिले बुझिरहेको छु।’ हाल बालविवाह गर्दा हुने समस्या बुझाइरहेको छु।

 १३ वर्षको उमेरमै तीन बच्चा

त्यस्तै धर्मा सार्कीले १३ वर्षको उमेरमै विवाह गरेको बताइन्। उनले बिहे गरेको ६ महिनामै तीन बच्चा खसेको बताउँछिन्। प्रजनन क्षमता परिपक्क नभएकाले बच्चा गुमाउनुपरेको उनको दुखेसो छ। ‘सानै उमेरमा विवाह गर्दा दुःख पाएँ। अहिले स्वास्थ्य अवस्था नाजुक छ’‚ उनले दुःख पोखिन्।

स्वास्थ्य समस्या हुन थालेपछि काठमाडौँ गएर उपचार गराइन्। उनले बालविवाहको पीडा बिर्सेकी छैनन्। उनी भन्छिन्, ‘मैले त बालविवाह गरेर दुःख पाएँ।’ 

यो गाउँपालिकामा नरवीर र धर्मा जस्ता बालविवाह गरेर दुःख भोगेका सयौँ भेटिन्छन्। अहिले ८ वडामा विभाजित कनकासुन्दरी गाउँपालिकामा दलित, बाहुन र क्षेत्रीको बसोवास छ। बाहुनक्षेत्रीभन्दा दलित बस्तीमा बालविवाह विकराल छ।

बालविवाहका उजुरी शून्य

गाउँमा बालविवाह भइरहेका छन् तर अहिलेसम्म उजुरी परेको छैन। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्द यहाँ बालविवाह धेरै भए पनि प्रहरीमा उजुरी नआउने गरेको बताउँछन्।

उनले भने, ‘२०७५ सालमा एउटा उजुरी परेको थियो। हामीले मुद्दा चलाएका थियौँ। त्यसयता कुनै उजुरी आएको छैन। प्रहरीका अनुसार बालविवाह गरेको भन्दै प्रहरीमा उजुरी नै पर्दैन। बालविवाह व्याप्त छ तर बालविवाह गरेको कुनै तथ्यांक भेटिदैन।’

२० वर्षमुनिका ८६० बालिका गर्भवती

त्यस्तै २० वर्षमुनिका गर्भवती किशोरी स्वास्थ्य परीक्षण गराउन आउने तथ्यांकका आधारमा मात्रै बालविवाह हुने गरेको देखिएको छ। जिल्लामा बालविवाहको यकिन तथ्यांक छैन। 

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार ८६० किशोरी २० वर्ष नपुग्दै आमा बनेको तथ्यांक छ। यो तथ्यांक आर्थिक वर्ष ०७७।७८ को हो। यसका आधारमा जुम्लाका आठवटै स्थानीय तहका ८६० जना २० वर्षमुनिका बालिका गर्भवती भएका थिए। आर्थिक वर्ष ०७६।७७ मा जिल्लाभर २० वर्षमुनिका ८५५ किशोरी आमा बनेको तथ्यांक छ। यो तथ्यांकले जिल्लामा बालविवाह तीव्र रूपमा भइरहेको संकेत गरेको छ।

जिल्लाका स्वास्थ्य संस्थामा २० वर्ष नपुग्दै गर्भपरीक्षण गराउने किशोरीको संख्या तीव्र छ। शिक्षा, जनचेतनाको अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान छ। सानै उमेरमा बच्चा जन्माउने‚ आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी गर्भवती भएका छन्।

पातारासी गाउँपालिकामा १३४, कनकासुन्दरीमा ९०, सिंजामा ६८, गुठीचौरमा ९५, तिलामा १४० र हिमामा ७७ गरी जम्मा ८६० जना जुम्लाका किशोरी उमेर नपुग्दै आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए। उनका अनुसार गतवर्ष १८० जनाले निकै कमतौल भएका बच्चा जन्माए। २० वर्षमाथिका ३७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएका छन्।

त्यस्तै उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आउनुमा बालविवाह मुख्य कारण रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष डा. निरेश थापा बताउँछन्।

बालविवाहविरुद्धको अभियानमा स्थानीय तह

जिल्लाको हिमा र कनकासुन्दरी गाउँपालिकाका स्थानीय तह बालविवाहमुक्त गाउँ बनाउने अभियानमा जुटेका छन्। पहिले अशिक्षाका कारण बालविवाह भए पनि अहिले विज्ञान प्रविधिको दुरुपयोगले बुझ पचाएरै बालविवाह भएको भन्दै परामर्श, छलफल तथा दण्डित गरेर भए पनि गाउँमा बालविवाह रोक्ने अभियान चलाएको कनकासुन्दरी–४ का वडासदस्य सिंहराज सार्कीले बताए।

उनले भने, ‘बालविवाह कुरीति हो। यो सामाजिक रूपमै बहिष्कार गर्नुपर्छ। अहिले बालविवाह अपराध हो भन्ने बुझिसकेका छौँ। गाउँमा बालविवाह अन्त्य गर्ने कार्यक्रम सञ्चालन भइरहेका छन्।’

बालविवाह बढ्नुमा अभिभावकको गैरजिम्मेवारी

आफ्ना बालबालिकाप्रति अभिभावकको गैरजिम्मेवारीका कारण पनि बालविवाह बढेको जुम्लाकी महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढा बताउँछिन्। उनले भनिन्, ‘सामाजिक सञ्जालको दुरुपयोग, फोन म्यासेज जस्ता प्रविधिको दुरुपयोगले बालविवाह फस्टाउँदै गएको छ। अझ भन्ने हो भने गाउँमा काममै बढी ध्यान दिने, छोराछोरीलाई फोन दिएर घरभन्दा बाहिर पढ्न पठाउने तर निगरानी नगर्ने कारणले बालविवाह बढेको हो।’

त्यस्तै हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बालविवाह कुरीति भएको बताइन्। बालविवाहले मानिसको शिक्षा र स्वास्थ्य प्रभावित हुने भएकाले बहिष्कार गर्नुपर्ने बताउँदै उपाध्यक्ष रोकायले भनिन्, ‘पहिलेभन्दा केही घट्दै आएको छ।’

कानुन कार्यान्वयनमा चुनौती

वर्तमान ऐनले नै २० वर्षमुनिको उमेरमा हुने विवाहलाई अवैध मानेपछि कार्यान्वयनमा समस्या परेको जुम्ला सरकारी वकिल कार्यालयकी वकिल रेनुका राईले बताइन्। उनले भनिन्, ‘जुम्लामा २० वर्षमुनिका बालिकालाई जबरजस्ती करणी गर्ने गरेको पाइएको छ।

त्यस्ता व्यक्तिलाई हामीले कानुनी रूपमा अघि बढाएका छौँ।’ विशेष गरी २० मुनिका युवतीसँग सहमतिमा हुने शारीरिक सम्बन्धलाई कानुनले जबरजस्ती करणी ठानेको छ। महिलामाथि हुने सबै प्रकारका शोषण र हिंसित घटना बालविवाहका कारण भएका छन्।

बालविवाहले निम्त्याएको पीडा सहन बाध्य

नेपालमा कानुनअनुसार विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ। त्यसैले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ। जुम्लाका धेरै किशोरी बालविवाहको पीडामा छट्पटिदै आएका छन्।

जसको उदारण हुन्, सिंजा गाउँपालिका–३ धितालहिकी संगीता धिताल। उनको विवाह १५ वर्षको उमेरमा गुठीचौर गाउँपालिका-५ फोई गाउँमा भएको थियो। संगीता धिताल अहिले १७ वर्षकी भइन्। उनको पहिलो सन्तान गर्भमै खेर गयो, अहिले अर्को सन्तान दुई महिनाको पेटमा हुर्कदै छ।

‘आमा अर्कैसँग विवाह गरेर गइन्। सौतेनी आमाको पीडा सहन नसकी १५ वर्षको उमेरमा बिहे गरेँ। अहिले बालविवाहले निम्त्याएको पीडा सहन बाध्य छु’‚ उनी भन्छिन्। सानो उमेरमा बिहे गर्दा घरधन्दा धान्न गाह्रो भएको उनको भनाइ छ। १७ वर्षकै उमेरमा आमा बन्नुपर्ने अवस्था आउँदा स्वास्थ्य पनि कमजोर भएको उनको चिन्ता छ।

उनले भनिन्, ‘पहिलो सन्तान स्याहारसुसार नपाएर गर्भमै खेर गयो। अहिले पनि पेटमा भएको बच्चा सजिलै जन्मन्छ कि जन्मन्न भन्ने चिन्ता लाग्छ।’

विवाह गर्ने उमेर समयसँगै बदलिँदै आएको छ। मुलुकी संहितामा दुबैको उमेर २० वर्ष तोकिए पनि अझै ३७ प्रतिशतको कम उमेरमै विवाह हुने गरेको विभिन्न संस्थाको प्रतिवेदनमा भेटिन्छ। नेपाल बालविवाह हुने विश्वका पहिलो २० मुलुकमा पर्दछ। संगीता धिताल भन्छिन्, ‘कक्षा ८ मा पढ्दा सौतेनी आमाको पीडा सहन नसकेर विवाह गरेँ।’

विडम्बनाको कुरा उनले पढाइलाई निरन्तरता दिन सकिनन्। ‘सँगैका साथीभाइ पढ्न जाँदा किन बिहे गरेछु जस्तो लाग्छ। मैले ८ कक्षा पास नगरेकै दुई वर्ष भएछ। स्कुल पढ्दाका साथीले एसइई दिइसके।’ उनी जस्तै बालविवाहको चपेटामा परेका धेरै किशोरी छन्।

बालविवाहमा भिन्नता

त्यस्तै गुठीचौर गाउँपालिकाका उपाध्यक्ष जानदेवी ऐडीले भनिन्, ‘इतिहास र वर्तमान समयबीच बालविवाह हुने कारणमा धेरै भिन्नता आएको छ। पहिले बालविवाह जबरजस्ती र करकापले हुन्थ्यो भने अहिले आफूखुसी बालविवाह गर्ने बढिरहेका छन्।

आमाबुबा तथा अभिभावकहरूको करकापमा हुने बिहे आमाबुबा अशिक्षित, आर्थिक अवस्था कमजोर भएर पालनपोषण गर्न नसक्ने अवस्था, पुण्य कमाउने, अन्धविश्वास, लैङ्गिक विभेद र छोरीको क्षमतामा विश्वास नगर्ने खालका प्रवृत्तिले गर्दा हुन्छन् भने आफूखुसी गर्नेहरू बिहे एकछिनको शारीरिक आकर्षण, सम्पत्तिको लोभ, देखासिकी, आफ्नो क्षमतामा आत्मविश्वास नहुनु, पुरातन सोचले हुने गर्दछन्।

हाल २० वर्ष नपुगी बिहे गराए जेल जाने डरले तथा अभिभावकको चेतना बढेर करकापले हुने विवाह कम भए पनि सामाजिक सञ्जालको दुरुपयोगले किशोरकिशोरीले आफूखुसी कम उमेरमै बिहे गर्ने घटना बढिरहेको महिला अधिकारकर्मीहरू बताउँछन्।

तीन वर्ष कैद र तीस हजार जरिवाना

मुलुकी अपराध संहिता, २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनी व्यवस्था गरेको छ। उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था छ। त्यस्तै बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बालविवाह गर्ने गराउने कार्य दण्डनीय हुने व्यवस्था छ।

कसैले बालविवाह गर्न लागेको वा गरेको थाहा पाए तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुपर्ने र यस्तो उजुरी जोसुकैले पनि दिन सक्ने साथै बालविवाह भएको देख्ने जोसुकैले थाहा पाएको तीन महिनाभित्र उजुर गर्नुपर्छ भनी बालविवाहविरुद्ध बालबालिकाको संरक्षणको सिद्धान्तलाई अँगीकार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.