|

जुम्ला : वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जुम्लामा सत्तारुढ गठबन्धन दलहरूबीच तालमेल नहुने भएको छ। दलहरूबीच तालमेल नमिलेपछि एक्लाएक्लै  भिड्ने भएका छन्।

चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरू आ–आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो। यसअघि केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलरअनुसार जिल्लामा पनि दलहरू छलफलमा जुटेका थिए तर सबै दलले ठूलो भाग खोजेपछि सहमति नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष वीरबहादुर कुँवरले बताए।

उनले प्रदेशको निर्णय समाजवादी पार्टीले अस्वीकार गरेपछि गठबन्धन टुटेको बताए। उनले थपे, ‘कांग्रेसले पनि हामी एक्लै चुनाव लड्ने भनेपछि गठबन्धन नहुने देखिएको हो।’ मनोनयन दर्ता गर्ने समय भइसक्यो। आपसमा नमिलेपछि अब तीन पार्टी एक्लाएक्लै चुनाव लड्ने भएका हुन्।

त्यस्तै नेकपा समाजवादी पार्टी अध्यक्ष तीर्थ बुढाले भने, ‘गठबन्धनमा हाम्रो पार्टीलाई तिला र सिंजा गाउँपालिकामा अध्यक्ष लड्ने भनेपछि हामीले प्रदेशको निर्णय अस्वीकार गरेका हौँ। हामीले गुठीचौर र हिमा गाउँपालिका मागेका हौँ तर उनीहरूले दिन नमाने भएपछि गठबन्धन नहुने भएको हो।’

त्यस्तै नेपाली कांग्रेस पार्टीका पूर्व जिल्ला सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागबन्डा नमिल्दा आजदेखि गठबन्धन टुटेको बताए। उनले भने, ‘मनोनयन दर्ता गर्ने वेला भइसक्यो। समय छोटो छ। अब गठबन्धन हुँदैन।’

२०७४ सालको निर्वाचन परिणाम
चन्दनाथ नगरपालिका : नेपाली कांग्रेसबाट चन्दनाथ नगरपालिकामा मेयरको उम्मेदवार बनेकी कान्तिका सेजुवाल दुई हजार ८०६ मत पाई निर्वाचित भएकी थिइन्। एमालेका शान्तिलाल महतले दुई हजार ६६ र माओवादीका अशोककुमार श्रेष्ठले दुई हजार १५ मत ल्याएका थिए। उपमेयरमा माओवादी केन्द्रकी अप्सरादेवी न्यौपाने (महत) दुई हजार १८ मत ल्याएर निर्वाचित भएकी थिइन्। यस्तै नेपाली कांग्रेसका जगत्बहादुर खत्रीले एक हजार ७७४, एमालेकी मेनुका रेग्मी (चौलागाई)ले एक हजार ७१०, नेमकिपाका धनञ्जय फडेराले ५७४ मत पाएका थिए।
 
कनकासुन्दरी गाउँपालिका : कांग्रेसका नरवीर रावत दुई हजार ११३ मत पाई अध्यक्ष निर्वाचित भएका थिए। माओवादीका राजजंग हमालले एक हजार ८०४ र एमालेका गोपाल रोकायाले एक हजार ३५० मत ल्याएका थिए। उपाध्यक्षमा कांग्रेसकै उर्मिला खत्री एक हजार ९४१ मत ल्याएर निर्वाचित भएकी थिइन्। माओवादी केन्द्रकी मिमसरा रानाले एक हजार ४३१ र एमालेकी सुशीला बडुवालले एक हजार सात मत ल्याएकी थिइन्।

गुठीचौर गाउँपालिका : अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारीले एक हजार ५९६ मतसहित निर्वाचित हुँदा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ र कांग्रेसका दानबहादुर बुढाले ६७९ मत ल्याएका थिए। उपाध्यक्षमा माओवादीकी जानदेवी ऐडीले एक हजार ५८५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी धनरूपा बुढाले एक हजार ३६५ र कांग्रेसकी सुमन बुढा बस्नेतले ५३७ मत पाएका थिए।

तातोपानी गाउँपालिका : अध्यक्षमा माओवादीका नवराज न्यौपाने दुई हजार ३९१ मत ल्याएर निर्वाचित हुँदा एमालेका सुरतबहादुर शाहीले दुई हजार ७० मत पाए। उपाध्यक्षमा माओवादीकी गंगादेवी उपाध्यायले एक हजार ९६४ मत ल्याएर निर्वाचित हुँदा एमालेकी नारायणी चौलागाईंले एक हजार ९०६, कांग्रेसका कर्ण कठायतले ८८१ मत ल्याएका थिए। यो पालिकामा तत्कालीन नयाँ शक्ति पार्टी र नेमकिपाको पनि केही प्रभाव छ।

तिला गाउँपालिका : यो गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार ७६८ मत ल्याएर निर्वाचित हुँदा माओवादीका जंगबहादुर बस्नेतले एक हजार ७४४ र कांग्रेसका कल्से रावतले एक हजार ५५५ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा भने माओवादीकी विष्णुमाया बुढा एक हजार ७७४ मतसहित निर्वाचित हुँदा एमालेकी विष्णुकली रावतले एक हजार ६१३ र कांग्रेसकी डिल्लीकुमारी हमालले एक हजार ६०३ मत ल्याएकी थिइन्। यहाँ नेमकिपा चौथो स्थानमा छ।

पातारासी गाउँपालिका : अध्यक्षमा कांग्रेसका लक्षीमन बोहरा दुई हजार ३११ मत ल्याएर निर्वाचित हुँदा माओवादीका गौरी बुढाले एक हजार ९२२ र एमालेका हंसबहादुर रोकायले ५७० मत पाएका थिए। उपाध्यक्षमा पुन्नकली महतराले दुई हजार सात मत ल्याई विजयी हुँदा माओवादी केन्द्रकी जनमाया रोकायाले एक हजार ८५५ मत र एमालेकी रम्बा भण्डारीले ८६७ मत पाए।

सिंजा गाउँपालिका : अध्यक्षमा कांग्रेसका देवलसिंह रावल एक हजार ४३० मत ल्याएर निर्वाचित हुँदा नेमकिपाका पूर्ण धितालले एक हजार २०३, माओवादी केन्द्रका हिम्मत खत्रीले एक हजार १६३ र एमालेका नन्दराम रोकायाले एक हजार १४० मत ल्याएका थिए। उपाध्यक्षमा एमालेकी जन्मकन्या खत्री एक हजार ५०४ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी रजकन्या शाहीले एक हजार १६५, माओवादीकी शीतली रोकायाले एक हजार १४५ र नेमकिपाकी कृष्णमाया शाहीले ८७९ मत पाएका थिए।

हिमा गाउँपालिका : अध्यक्षमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा भएको थियो। माओवादीका रजबहादुर शाहीले तीन मतले एमालेका उम्मेदवारलाई हराएका थिए। शाहीले एक हजार ३१७ मत ल्याएर निर्वाचित हुँदा एमालेका भैबहादुर रोकायाले एक हजार ३१४ मत ल्याएका थिए। अध्यक्षमै कांग्रेसका लक्ष्मणबहादुर शाहीले एक हजार २२२ मत पाएका थिए। उपाध्यक्षमा पनि माओवादीकै हिमाली रोकायाले एक हजार ३२७ मत ल्याएर निर्वाचित हुँदा एमालेकी चुक्की शाही एक हजार एक हजार १८५, कांग्रेसकी सुर्पना शाहीले एक हजार १२५ र नेमकिपाका विर्षबहादुर रावतले २६६ मत ल्याएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.