|

सुर्खेत : कर्णालीमा सत्ता गठबन्धनको बैठकले ८ वटा जिल्लामा सत्तारुढ गठबन्धनबीच भागबण्डा टुङ्गो लागेको छ। गठबन्धनको गत बिहीबारदेखि जारी बैठकले आइतबार ८ जिल्लाका पालिका बाँडफाँटको टुङ्गो लगाएको हो।

दुई जिल्ला सुर्खेत र रुकुमपश्चिमको भागबण्डाको टुङ्गो लगाउन भने अझै बाँकी छ। त्यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल जारी छ।

सत्ता गठबन्धनले टुङ्गो लगाएको ८ जिल्लाको विवरणअनुसार माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, कांग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएका छन्। उपलब्ध विवरणअनुसार डोल्पामा माओवादीले ३ प्रमुख र २ उपप्रमुख, कांग्रेसले १ प्रमुख र ३ उपप्रमुख तथा समाजवादीले ४ प्रमुख र ३ उपप्रमुख पाएको छ।

जाजरकोटमा माओवादी र कांग्रेसले प्रमुख/उपप्रमुखमा ३/३ र समाजवादीले एउटा प्रमुख र एउटा उपप्रमुख पाएको छ। दैलेखमा सबैभन्दा धेरै कांग्रेसले पाएको छ। कांग्रेसले ६ प्रमुख र ५ उपप्रमुखमा पाएको छ। माओवादी केन्द्रले २ प्रमुख र ४ उपप्रमुख पाएको छ भने समाजवादीले ३ प्रमुख र २ उपप्रमुख पाएको छ।

मुगुमा माओवादीले प्रमुख/उपप्रमुख १/१ र कांग्रेसले २/२ पाएको छ। एकीकृत समाजवादीले पनि १ प्रमुख र १ उपप्रमुख पाएको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा माओवादीले ५ वटा प्रमुख पाउँदा कांग्रेसले भने ३ वटामा चित्त बुझाएको छ भने समाजवादीले ३ वटा उपप्रमुखमा मात्र चित्त बुझाएको छ। उपप्रमुख भने माओवादी र कांग्रेसले २/२ वटा पाएका छन्।

एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा कांग्रेस/माओवादीले ४/४ प्रमुख पाउँदा समाजवादीले २ वटा प्रमुख र दुई वटै उपप्रमुखमा चित्त बुझाएको छ। माओवादीले उपप्रमुखमा ५ वटा पाउँदा कांग्रेसले ३ वटा पाएको छ।

जुम्लामा कांग्रेसले ४ वटा प्रमुख पाउँदा माओवादीले ३ वटा प्रमुख पाएको छ। माओवादीले ५ वटा उपप्रमुख पाएको छ भने कांग्रेसले २ वटामा चित्त बुझाएको छ। अन्तभन्दा केही जनमत भएको समाजवादीले जुम्लामा पनि १/१ वटामा चित्त बुझाएको छ।

माओवादीको बलियो इलाका रहेको कालिकोटमा माओवादीले प्रमुख उपप्रमुखमा नै धेरै लिएको छ। प्रमुख ५ लिँदा उपप्रमुख ४ लिएको माओवादीले कांग्रेसलाई जम्मा २ प्रमुख र ३ उपप्रमुखमा लगाम लगाएको छ। एकीकृत समाजवादीले २ प्रमुख पाएको छ भने २ नै उपप्रमुख पाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.