|

दाङ : जिल्लाका दश स्थानीय तहमा कतै गठबन्धनबाट तामझामका साथ, कतै दलहरू एक्ला एक्लै र कतै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

विशेष चासोको रुपमा हेरिएको जिल्लाका दुई उपमहानगरपालिकामा गठबन्धन दलका साझा उम्मेदवार लगायत अन्य विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले निकै तामझाम गरेर उम्मेदवारी दर्ता गराएका छन्।

घोराही उपमहानगरपालिका नेकपा माओवादी केन्द्रको भागमा परेको हुँदा गठबन्धनले साझा उम्मेदवार हेमराज शर्मा ‘डाइमन्ड’लाई मेयर पदमा र २०७४ सालमा  कांग्रेसबाट मेयरमा पराजित भएका भूप बहादुर डाँगीलाई उपमेयरको उम्मेदवार बनाएको छ।

निकै तामझामका साथ उम्मेदवारी दर्ता गराएका उनीहरूले भने स्वच्छ सुन्दर घोराही  निर्माणको लागि आफूहरूको उम्मेदवारी रहेको बताए।

उनले आफूहरूले घोराहीमा कृषि उत्पादनलाई विशेष ध्यान दिने भन्दै त्यसको बजारीकरण र प्रवर्द्धन गर्ने बताए।

उनले घोराहीमा स्वच्छ, सफा खाने पानीको व्यवस्थापन गर्ने, आवश्यक सिँचाइको व्यवस्थापन गर्ने पनि उल्लेख गरे।

घोराहीमा ठूला पार्टीहरूले मात्र नभइ साना पार्टीहरूले पनि उम्मेदवारी दर्ता गराएका छन्।

उनीहरूको पनि ठूलो दलको जस्तै कुरा छन्। भ्रष्टाचारमुक्त समाज र समृद्धि बनाउने सपना रहेको उनीहरूले उम्मेदवारीका क्रममा बताएका छन्।

केही दिन अगाडि मात्र नेपाली कांग्रेस छाडेर राप्रपामा प्रवेश गरेकी  सरिता देवकोटा पनि राप्रपाबाट घोराहीमा  मेयर पदको उम्मेदवारी दिएकी छन्।

उनले पनि लोकतन्त्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई सुदृढ गर्न आफ्नो उम्मेदवारी रहेको बताइन्।

त्यस्तै उनले घोराहीलाई घुसमुक्त, भ्रष्टाचारमुक्त बनाउने आफ्नो अभियान रहेको पनि बताइन्।

२०७४ सालमा घोराही उपमहानगरको मेयर पदमा विजयी भएका नेकपा एमालेका नरुलाल चौधरी यस पटक पनि मेयर पदमा उम्मेदवारी दिएका छन्।

उनले पनि घोराहीलाई विकास र समृद्धि बनाउनको लागि आफ्नो उम्मेदवारी भएको बताए।

त्यस्तै उनले आफ्नो ५ वर्षीय कार्यकालमा सुशासन कायम भएको र धेरै कानूनहरू पनि बनाएको भन्दै आगामी दिनमा अझ राम्राे गरेर  लैजाने आफ्नो योजना रहेको बताए।

उनले घोराहीमा विकासका हिसाबले नमुना योग्य काम गरेको पनि बताए।

घोराहीमा मात्र नभइ तुलसीपुर उपमहानगरका उम्मेदवारहरूको पनि उस्तै सपना रहेको छ।तुलसीपुरलाई नमुना बनाउने।

एमालेका उम्मेदवारले आफूहरु अहिले नै जितेको भन्दै दाबी गरे। एमालेबाट तुलसीपुरमा उम्मेदवार बनेका टिकाराम खड्काले अहिले नै आफ्नो जीत भएको बताए।

उनले एक लाख ७ हजार जनता आफ्नो नेतृत्वमा रहेका टिमलाई मतदान गर्न आतुर रहेको र अहिले पनि सबैको साथ पाएकाले आफ्नो जीत निश्चित भएको बताए।

त्यस्तै आफूहरूले तुलसीपुरमा गरिवी हटाउन, तुलसीपुरको समग्र विकासको निम्ति उम्मेदवारी रहेको पनि उल्लेख गरे। उनले आफूहरूलाई जितेमा तुलसीपुर स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार जस्ता कुराको अन्त्य गर्ने र तुलसीपुरलाई सुन्दर शहर बनाउने सपना रहेको पनि बताए।

तुलसीपुर उपमहानगर गठबन्धन नेपाली कांग्रेसलाई परेको छ। नेपाली कांग्रेसबाट मेयर पदमा उठेका साझा उम्मेदवारले नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले ५ वर्ष एमालेको नेतृत्वमा सरकार हुँदा नागरिकहरूले धेरै समस्या भोगेको भन्दै त्यसको अन्त्य गर्ने बताए।

वर्षौदेखि समस्यामा रहेको सुकुम्बासी समस्याको समाधन गठबन्धनबाट बनेको  निर्वाचित सरकारले गर्ने पनि उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.