कांग्रेसको गढ भत्काउँदै माओवादी केन्द्र

|

जुम्ला : चन्दननाथ–५ कार्कीवडाका बिर्खबहादुर कार्की नेपाली कांग्रेसका कुशल नेता हुन्। उनी  नेपाली कांग्रेसमा २५ वर्षदेखि सक्रिय रूपमा लागेका थिए। कार्की नेपाली कांग्रेसका तर्फबाट २०७४ सालमा वडाध्यक्षको टिकट पाएका थिए तर त्यो टिकट कांग्रेसकै केही कार्यकर्ताले लुकाइदिएपछि उनले मनोनयन दर्ता गर्न पाएका थिएनन्।

कार्कीले भने, ‘तैपनि नेपाली कांग्रेसमा सक्रिय थिएँ। योपटक पनि वैशाख ३० मा ५ नम्बर वडाध्यक्षका लागि टिकट दाबी गरेको थिएँ। नेपाली कांग्रेसभित्रको तानाशाही प्रवृत्ति हावी भयो। मलाई टिकट दिन मानेनन्, अपमान भएपछि नेकपा माओवादी केन्द्र रोजेको हुँ।’ 
 

कांग्रेस प्रदेश सभापति शाहीको गढमा नयाँ ट्विष्ट 
चन्दननाथ–५ कार्कीवडाका बिर्खबहादुर काकी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललिजंग शाहीको गढ मानिँदै आएको चन्दननाथ नगरपालिका–५ वडामा नेकपा माओवादी केन्द्रले गढ भत्काउने भएको छ।

नेपाली कांग्रेसले–५ नम्बर वडामा टिकट दिएर वडाध्यक्ष लड्ने तयारी गरेका सक्रिय सदस्य बिर्खबहादुर कार्की नेकपा माओवादी केन्द्रमा प्रवेश गरी वडाध्यक्षमा उम्मेदवारी दिएपछि सभापति शाहीको गढ भत्किने भएको हो। कांग्रेस पार्टी छोडेर माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवारी दिएका कार्कीले भने, ‘२५ वर्षदेखि कांग्रेस पार्टीमा सक्रिय भएर काम गरेँ।’

०७४ को स्थानीय तहको निर्वाचनमा धोका भएपछि दोस्रोपटक (अहिले) पार्टीले वडाध्यक्षको टिकटको आश्वासन पाएर तयारी गर्दा पनि नदिएर अन्यायमा परेको उनले बताए। सधैँजसो अन्याय खेप्नुभन्दा पनि अर्काे कुनै विकल्प रोज्नुपर्छ भन्ने उद्देश्यका साथ माओवादी केन्द्र रोजिएको हो।

नवप्रवेशी भए पनि माओवादी पार्टीले टिकट दिएर वडाध्यक्षको उम्मेदवारी दिएको उनले बताए। उनले भने, ‘माओवादी पार्टीले जुन सम्मान गरेर मलाई अवसर दिएको छ, यसप्रति म आभारी छु।’ यस पार्टीको संगठन विस्तार गर्नतर्फ सधैँ प्रतिबद्ध रहने बताए।

माओवादी केन्द्रबाट पनि वडाध्यक्ष उम्मेदवार नभएका होइनन्। कर्णाली प्रदेश कमिटी सदस्य मनोज बुढाथोकीले भने, ‘हाम्रो पार्टीमा वडाध्यक्षका ४ जना उम्मेदवार थिए तर क्रियाशीलता, सक्रियता र इमान्दार व्यक्तिलाई वडाध्यक्ष बनाउनु पर्छ भन्ने उद्देश्यले पार्टीमा नयाँ प्रवेशी भए पनि कार्कीलाई टिकट दिएर उम्मेदवार बनाएको हो।’

माओवादीको संगठन विस्तार तथा वडाध्यक्षका आकांक्षीहरूबीच समझदारी र सहमति गरी कार्कीलाई अवसर दिएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य बुढाथोकीले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.