|

हेटौँडा : चितवन नेपालको राजनीतिको ध्यान तानिरहेको जिल्ला हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला रहेको चितवन पछिल्लो समय नेपाली राजनीतिको चर्चाकाे केन्द्रीय थलो बनेको छ।

२०७४ सालको निर्वाचनमा निकै चर्चा बटुलेको चितवनलाई नेकपा एमालेले पनि महाधिवेशन गर्दै राजनीतिक रुपमा थप चितवनतिर ध्यान आकर्षण गरिदियो।

आसन्न स्थानीय तहको निर्वाचनमा पनि चितवनले सबैको ध्यान तान्ने भएको छ। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा उठ्दा देशैभरि राजनीतिक आकर्षणको थलो बनेको चितवनको भरतपुर महानगरपालिका फेरि एकपटक सबैको केन्द्रविन्दुमा पर्ने भएको छ।

प्रचण्ड पुत्री दाहाल पुनः भरतपुर महानगरपालिकाको मेयरमा उठेकी छन्। उनले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिइसकेकी छन्।

अघिल्लो निर्वाचनमा भरतपुरको मेयरमा निर्वाचित भएर पाँच वर्ष काम गरिसकेकी दाहालले पुनः भरतपुरमा दोहोरिन चाहेकी हुन्। तर, उनको इच्छामा कांग्रेस बाधक बन्ने देखिएको छ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा भएको भागवण्डा अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीको भागमा परेको थियो। तर, भरतपुर माओवादीलाई दिएकोमा असन्तुष्ट रहेको गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस बाटै बागी उम्मेदवारी परेको छ।

कांग्रेसको बागी उम्मेदवारी परेसँगै भरतपुरको मेयरमा पुनः दोहोरिने दाहालको इच्छामा कांग्रेस नै बाधक बनेको हो।

कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले गठबन्धनको निर्णयविरुद्ध भरतपुरको मेयरमा बागी उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा पनि गठबन्धन गर्दा माओवादीले नै भरतपुर पाएकोले अहिलेको निर्वाचनमा कांग्रेसले पाउनुपर्ने उनले माग गर्दै थिए।

कांग्रेसले जित हात पार्ने ठाउँमा पनि आफ्नै पार्टी सिध्याउने गरी माओवादीलाई भरतपुर सुम्पिएको उनको आरोप छ। भरतपुरमा कांग्रेस पार्टी जोगाउनको लागि आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताएका छन्। 
पौडेल कांग्रेसको आधिकारिक उम्मेदवार नभएपनि उनको उम्मेदवारी यतिबेला माओवादी केन्द्रलाई मात्रै नभएर कांग्रेसकै लागि पनि टाउको दुखाइको विषय बनेको छ।

पौडेललाई कांग्रेसले आधिकारिक उम्मेदवार नबनाए पनि उनको उम्मेदवारीले गठबन्धनलाई कमजोर देखाएको छ। गठबन्धनमा रहेको मुख्य घटक नेपाली कांग्रेसभित्रको असन्तुष्टि उम्मेदवारीसम्म पुग्दा यसको असर मतदानमा पुग्ने देखिन्छ। उसो त भागवण्डा टुंगिनु अघि कांग्रेसले भरतपुरमा आफूहरुले उम्मेदवारी दिन नपाए मतदान गर्न नसक्ने चेतावनी पनि नदिएको होइन।

तर, भागवण्डा अघि माओवादीलाई भरतपुर दिन नहुने भनेर उर्लिएका कांग्रेसको एक पक्षले भने केन्द्रको उक्त निर्णयलाई स्वीकार गरिसकेको अवस्था छ।

पौडेलसहितको चितवन कांग्रेसका पूर्वसभापति लगायतको एक पक्ष भने अझैपनि माओवादीलाई भरतपुर महानगरपालिका दिएकोमा असन्तुष्ट रहँदै बागी उम्मेदवारीसम्म पुगेको छ।

सोमबार गठबन्धनको उम्मेदवार दाहाल विरुद्ध पौडेलले बागी उम्मेदवारी दिन जाँदा उनको पछाडि कांग्रेस नेता कार्यकर्ताको पनि बाक्लो उपस्थिति देखिन्थ्यो। बागी उम्मेदवारी दिने कार्यकर्ता बाजागाजा र चारतारे झण्डासहित भेला भएका थिए।

त्यो उपस्थितिले पनि कांग्रेसको बागी उम्मेदवारीले गठबन्धनबाट उम्मेदवार बनेकी दाहाललाई चुनौती दिएको छ।

एमालेलाई राहत, माओवादीलाई टाउको दुखाई

भरतपुर महानगरपालिकामा जीत हारको लागि नेपाली कांग्रेसको मत महत्वपूर्ण रहेको छ। कांग्रेसको मतले गठबन्धनकी उम्मेदवार दाहाललाई जिताउने हराउने मात्रै नभएर एमालेको लागि पनि निकै महत्वपूर्ण रहेको छ।

कांग्रेसको जनमत कतातिर कसरी जान्छ भन्ने कुराले जीत हारको निर्धारण गर्ने हुँदा गठबन्धनलाई टाउको दुखाई बनेको छ भने एमालेले केही राहत महशुस गरेको छ।

कांग्रेसबाट बागी बनेर उठेका पौडेलले बढीभन्दा बढी मत काटेमा एमालेका उम्मेदवार सुवेदीलाई जीत भेट्टाउन सजिलो हुने देखिन्छ। एमाले पनि सकेसम्म कांग्रेसको मत आफूतिर आओस्, नभए बागी उम्मेदवार पौडेल तर्फ जाओस् भन्ने चाहन्छ।

​किनकि बागी बनेर उठेका पौडेल एक्लैले भरतपुरमा जीत हाँसिल गर्ने अवस्था छैन। तर, उनको बागी उम्मेदवारीले कांग्रेसको मत तान्दा गठबन्धनकी उम्मेदवार दाहालको मत कट्न जान्छ।

त्यसैले पौडेलले दिएको बागी उम्मेदवारीलाई लिएर भरतपुरमा एमालेले राहत महशुस गरिरहेको छ।

सोमबार उम्मेदवारी दिन जानुअघि एमालेका उम्मेदवार विजय सुवेदी कांग्रेसका नेता वीपी कोइरालाको शालिकमा फूलमाला चढाउन नपुगेका पनि होइनन्। सुवेदीले भरतपुरको क्यान्सर अस्पतालभित्र रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुलाई उनले कांग्रेसको मत भावनात्मक रुपमा तान्न खोजेको समेत बुझिएको छ।

कांग्रेसभित्र यसपटक माओवादीलाई मत दिन हुन्न भन्ने जमात अघिल्लो चुनावमा भन्दा धेरै हुँदा सुवेदीले त्यसबाट फाइदा लिने प्रयास गरेका छन्। बागी उम्मेदवार रहेका पौडेलले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने जनाएका छन्।

पौडेल अडानमा रहे र माओवादीप्रति असन्तुष्ट पक्ष अन्तिम समयसम्म एक ढिक्का रह्यो भने भरतपुरमा सत्ता गठबन्धनलाई गाह्रो हुने देखिन्छ। 

एमालेलाई राप्रपाको साथ

अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएको नेकपा एमालेले यसपटक राप्रपाको साथ पाएको छ। उसले राप्रपा र राप्रपा नेपाल दुवैबाट साथ पाएको हो। तर, पार्टी विभाजनबाट भर्खरै उठेको एमालेको लागि राप्रपाको साथ पर्याप्त भने छैन।

यदि पार्टी विभाजन नभएको भए २०७४ को निर्वाचनमा झिनो मतले हारेको र यो निर्वाचनमा राप्रपाको साथले एमालेलाई सहयोग पुग्न सक्थ्यो।

तर,राप्रपाको साथले एमालेलाई पार्टी विभाजनको क्षति भर्नको लागि मात्रै पुग्ने देखिन्छ। यद्यपि राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको समेत निर्वाचन क्षेत्र महानगरमा पर्ने र राप्रपाको जनमत राम्रै भएकाले एमालेलाई राप्रपाको साथले राहत नै दिने देखिन्छ।

अघिल्लो पटक १ लाख ५० हजार २७४ रहेको भरतपुरको मतदाता यसपटक बढेर १ लाख ८५ हजार ७५२ पुगेको छ। बढेको ३५ हजार मतलाई एमालेले आफूतिर आकर्षित पार्न सके उसलाई भरतपुर महानगरपालिकामा जीत हात पार्न कसैले रोक्न सक्दैन। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.