|

काठमाडौं : स्थानीय तह निर्वाचनमा ७० भन्दा बढी पत्रकार उम्मेदवार बनेका छन्। अहिले विवरण संकलन तथा अनुगमनको काम भइरहेकाले उम्मेदवारी दिने पत्रकारको संख्या १०० पुग्नसक्ने नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। 

महासंघले जारी गरेको निर्देशनअनुसार कतिपयले पदबाट राजीनामा दिएर उम्मेदवार बनेको महासंघले जनाएको छ। राजीनामा नदिनेहरू स्वतः निलम्बनमा परेको महासचिव पुरीले बताए। उनका अनुसार महासंघका दुईजना केन्द्रीय सदस्यले राजीनामा बुझाएका छन्। प्रदेश उपाध्यक्ष तथा सचिवहरूले पनि राजीनामा बुझाएको महासंघले जनाएको छ।

महासंघमा आबद्ध भएकाहरूले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्। आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न र उम्मेदवार बन्नेलाई पदबाट राजीनामा दिन महासंघले निर्देशन जारी गरेको थियो। 

 

मेगा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको उपप्रमुखपदमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महांसघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष मोहन चापागाईँले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन्। उनले पत्रकार महासंघको सदस्यतासमेत त्यागेको घोषणा गर्दे उम्मेदवारी दिएका हुन्। नुवाकोटको विदुर नगरपालिकामा पत्रकार प्रभा बोगटीले उपमेयरमा उम्मेदवारी दिएकी छिन्। 

यस्तै पत्रकार महासंघ मधेस प्रदेशका सचिव भोला पासवान जनता समाजवादी पार्टी नेपालका तर्फबाट सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका छन्। यस्तै पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादवले नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका छन्।

नेपाल पत्रकार महासंघको एसोसियट प्रदेशका उपाध्यक्ष श्रीहरि थापाले काठमाडौंको चन्द्रागिरी नगरपालिका- ७ को अध्यक्षमा उम्मेदवारी दिएका छन्। काठमाडौं शाखाका सदस्य रामजी बलामी एमालेबाट मकवानपुरको थाहा नगरपालिका–६ को वडा सदस्यमा उठेका छन्। अर्घाखाँचीको सूर्योदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगंगा–१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सुदूरपश्चिमबाट गीता चौधरीले कैलालीको जानकी गाउँपालिकाको उपाध्यक्षमा र  रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दीपायलमा कार्यरत पत्रकार सुनिता रावलले डोटीको शिखर नगरपालिकाको उपप्रमुखपदमा उम्मेदवारी दिएका छन्। प्रेस चौतारीका पूर्व उपाध्यक्ष वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्षमा, म्याग्दीका संस्थापक सुरत केसी, बेनी नगरपालिकाको प्रमुख, काभ्रे जिल्लाका पूर्व अध्यक्ष कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको प्रमुख र बाजुराका संस्थापक सदस्य अमर खड्काले बाजुराको बढीमालिका नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन्।

त्यसैगरी बाजुराकी पत्रकार नन्दा थापा उपप्रमुखमा, मोरङका पत्रकार भक्त राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष, गायत्री आचार्य मेलुङ गाउँपालिकाको उपाध्यक्ष र सकिल खानले डुडुवा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीबाट पत्रकार हेमशंकर सिंह, राजविराज–८ को वडाध्यक्षमा पत्रकार शतीशदत्त, कमलेश मण्डलले महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन्। पर्साको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरीले उम्मेदवारी दर्ता गराएका छन्।

महासंघका कुनै पनि समितिमा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने महासंघका अध्यक्ष विपुल पोख्रेलले बताए। लामो समयदेखि उठ्दै आएको सदस्यता शुद्धीकरणको विषय अहिलेको चुनावमा महासंघले लिएको नीतिले सम्बोधन गर्न उनको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.