|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कम्युनिष्टका बुख्याँचाहरुको बुई चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रुपमा अस्पष्ट भएको टिप्पणी गरेका छन्।

कांग्रेसले स्थानीय तहको घोषणपत्रबारे बहस चल्दै गर्दा उपप्रमुख रिजालले हालैको घोषणापत्रले कांग्रेस वैचारिक रुपमा टाट पल्टिसकेको स्पष्ट हुने बताएका हुन्। 

‘हालै जारी घोषणापत्र पढ्दा नेपाली कांग्रेस वैचारिक रुपमा कति टाट पल्टिसकेको रहेछ भन्ने स्पष्ट हुन्छ’ उनले फेसबुकमा लेखेका छन्, कम्युनिस्टका नाममा खडा भएका बुख्याँचाहरुको बुईं चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रुपमा अस्पष्ट, कार्यक्रमिक रुपमा एजेन्डाविहीन र राजनीतिक रुपमा बेइमानीको चरमचुलीमा पुगेका उसको विरोधाभाषपूर्ण दावी, कुतर्क र हाँस्यास्पद आत्मश्लाघाहरु पढ्दा थाहा हुन्छ।’

कांग्रेसको घोषणापत्रमा १७ पृष्ठ लगातार रुपमा नेकपा (एमाले)का विरुद्धमा विषबमन गरिएको आरोप लगाएका छन्। कांग्रेसको घोषणापत्रमा एमालेको नाम २३ ठाउँमा उल्लेख गरेको समेत बताएका छन्। 

‘आफ्नो घोषणापत्रमा सम्भवतः संसारको कुनै पनि पार्टीले अर्को पार्टीका बारेमा यति धेरै उल्लेख गर्दैन। आफ्ना एजेन्डा, कार्यक्रम र विचारहरु नभएपछि नेकपा (एमाले) को विरोधमा मात्रै आफ्नो भविष्य देखेको पाइन्छ’ उनको भनाइ छ।  

घोषणापत्रमा आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम ८ ठाउँमा उल्लेख गरेको कांग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम ४२ ठाउँमा उल्लेख गरेको बताएका छन्। 

आफ्नो नेतृत्वप्रतिको विश्वास नभएको र एमालेको नेतृत्वप्रति आतंकित भएको यसभन्दा अर्को नमुना के खोज्नुपर्ला र? उनले प्रश्न गरेका छन्। 

नेता रिजालले भनेका छन्, ‘शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशनमा पनि आफ्नो नाममा होइन, ‘मैले हारेँ भने ओली आउँछ’ भन्दै केपी ओलीका नाममा चुनाव लड्नुभएको थियो । यसपटक पनि कांग्रेसले आफूसँग कुनै एजेन्डा नभएकाले नै होला, केपी ओलीका नाममा स्थानीय निर्वाचन लड्ने घोषणा गरेर आफ्नो औचित्यमाथि आफैँ प्रश्न खडा गरेको छ।’ 

कांग्रेस र एमाले प्रतिस्पर्धी र प्रतिद्वन्द्वी भए पनि आलोचना, विरोध र खण्डनलाई अन्यथा मान्न नहुने उनको भनाइ छ। कांग्रेसले घोषणापत्रमा एमाले र ओलीका बारेमा प्रयोग गरेको शब्दहरू पार्टी वैचारिक रुपमा टाट पल्टेको र शिष्टताका हिसाबले पनि असान्दर्भिक, उत्तेजक र अतिवादीहरुको हातमा पुगेछ भन्ने देखिएको उनको बताए। 

 ‘केपी ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षा’ भन्ने जस्ता भाषा शहर तिरका बाख्रापालकहरुले त के सर्पपालकहरुले पनि प्रयोग गर्नु नपर्ने हो’ उनले प्रश्न गर्दै भनेका छन्, ‘अनि यस्तो घोषणापत्रलाई ‘प्रलाप’ नभनेर राजनीतिक दस्तावेज मान्न सकिन्छ?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.