|

पर्वत : स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा ९१० मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ।

२०७४ सालमा भएको सङ्घीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनमा यो नियमले पर्वतका महिला नेतृहरुलाइ हौस्याएको पनि थियो।

तथ्याङ्क र अध्ययनहरूले आम नागरिकमा राजनीतिप्रति चासो बढेको, सामाजिक न्याय र सामाजिक सुरक्षा बढेको, महिला अधिकारहरू कार्यान्वयनमा रहेको, राजनीतिक सोचको विकास भएको जस्ता विषयहरु उल्लेख गरिरहन्छन्।

तर, वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनले भने यी कुरालाई मिथ्या साबित गर्न खोजेको देखिएको छ।

पाँच दलीय गठबन्धन केन्द्रमा भएसँगै पर्वतमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बीचमा चुनावी तालमेल भएको छ।

यहाँकाे अवस्था यस्तो देखिन्छ कि गठबन्धनमा रहेका यी तीन ओटै दलहरूमा महिला नेतृहरुकाे अवस्था शून्य छ वा भएर पनि निरीह छ। दुई नगरपालिका र पाँच ओटा गाउँपालिका गरी सात ओटा स्थानीय तहहरू रहेको पर्वतमा गठबन्धनले स्थानीय तहको प्रमुख र उपप्रमुख गरेर १४ जना उम्मेदवार चयन गरेको छ।

ती १४ जनामा १२ जना पुरुषहरू रहेका छन् भने दुई जना मात्रै महिला राखिएको छ।

गठबन्धनबाट कुश्मा नगरपालिकाको प्रमुखमा रामचन्द्र जोशी र उपप्रमुखमा शङ्कर गिरी, फलेवास नगरपालिकाको प्रमुखमा गंगाधर तिवारी र शोभा क्षेत्री, मोदी गाउँपालिकाको अध्यक्षमा गुप्त बहादुर हमाल र उपाध्यक्षमा रामबहादुर प्रसाईं, जलजला गाउँपालिकाको अध्यक्षमा राजु आचार्य र उपाध्यक्षमा दीपक आचार्य उम्मेदवार रहेका छन्।

यस्तै बिहादी गाउँपालिकाको अध्यक्षमा प्रवीण गुरुङ र उपाध्यक्षमा सन्त बहादुर गुरुङ, पैयूँ गाउँपालिकाको अध्यक्षमा तोरण मल्ल ठकुरी र उपाध्यक्षमा जानकारी प्रधान तथा महाशीला गाउँपालिकाको अध्यक्षमा अशोक उचै ठकुरी र उपाध्यक्षमा बिराज हमाल उम्मेदवार रहेका छन्।

सात स्थानीय तहमध्ये फलेवास नगरपालिकाको उपप्रमुख र पैयूँ गाउँपालिकाको उपाध्यक्षमा मात्रै महिला उम्मेदवार खडा गरिएको छ।

नेकपा एमालेले भने सात ओटामध्ये छ ओटा स्थानीय तहका प्रमुखमा पुरुष र एकमा महिला तथा उपप्रमुखमा छ ओटा स्थानीय तहमा महिला तथा एउटामा पुरुषलाई उम्मेदवार बनाएको छ।

एमालेबाट कुश्मा नगरपालिकाको प्रमुखमा गणेश शर्मा पौडेल र उपप्रमुखमा स्वस्थानी रिजाल, फलेवास नगरपालिकाको प्रमुखमा पदमपाणी शर्मा र उपप्रमुखमा मञ्जु अधिकारी प्यासी, मोदी गाउँपालिकाको अध्यक्षमा हिरादेवी शर्मा र उपाध्यक्षमा विमल लामिछाने, जलजला गाउँपालिकाको अध्यक्षमा लालबहादुर अधिकारी र उपाध्यक्षमा सुनिता जिसी उम्मेदवार रहेका छन्।

यस्तै  बिहादी गाउँपालिकामा ओम कुँवर अध्यक्षमा र मिना तिवारी उपाध्यक्षमा, पैयूँ गाउँपालिकामा महेन्द्र श्रेष्ठ अध्यक्षमा र यामकुमारी राना उपाध्यक्षमा तथा महाशीला गाउँपालिकामा ईश्वरी भुसाल अध्यक्षमा र धनसुबा बिक उपाध्यक्षमा भिड्दै छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचन सङ्घीयता पछिको पहिलो भएका कारण पनि प्रायः उपप्रमुख पद नै महिला नेतृहरूको रोजाइमा परेको थियो।

पाँच वर्षको अवधिमा सिकेका अनुभव र कार्यसम्पादनबाट अबका लागि भने आफूहरू स्थानीय तहको प्रमुख नै बन्न सक्षम र योग्य रहेको भन्दै महिलाहरूले बताउँदै र प्रमुख पदमा दाबी गर्दै आएको भए पनि यस पटक त झन् ऐनमा भएको व्यवस्थालाई नै कुल्चिइएको छ।

राजनीतिमा महिलाहरूले केही गर्न सक्छन् भन्ने कुरा अझै विश्वासमा नरहेको र पुरुषहरूले नै गतिला पद लिनुपर्छ वा माथिल्ला पदमा महिला बसेर तल्ला पदमा पुरुष बस्नु हुँदैन भन्ने सोच कायमै रहेको महिला नेतृहरु बताउँछन्।

गठबन्धनभित्र पनि सक्षम र योग्य महिलाहरू भएको बताउँदै उनीहरूले आकांक्षीहरुलाई समेत ख्याल नगरी सबै पदमा पुरुषहरूको रजाइँ हुनुले राजनीतिक चेत र संस्कार नभएको उनीहरूको भनाई छ।

‘पाँच वर्षसम्म उपमेयरको काम गरेका महिलाहरू अहिले उपमेयरबाट समेत बाहिरिएका छन्। पर्वत मात्रै होइन गण्डकी प्रदेश र अन्य जिल्लाको पनि अवस्था देखेकी छु। महिला बसेको पदभन्दा तल पुरुष बसेर काम गर्नै हुन्न भन्ने मानसिकता हो जस्तो देखिन्छ,’ कुश्मा नगरपालिकाकी निवर्तमान उपप्रमुख सीता काफ्ले लामिछाने भन्छिन्, ‘गठबन्धनभित्र पनि त अनुभवी र सक्षम महिलाहरू हुनुहुन्छ, तर उहाँहरूलाई विश्वास गरेको देखिएन। राजनीतिबाट नै उपेक्षा गर्ने हो भने अरू कुन नीतिमा महिलालाई अटाउन सकिन्छ, यस बारेमा सबैको सुविचार आउनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.