|

जुम्ला : जुम्ला हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। झडपमा एकजना घाइते भएका छन्।

उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। नेकपा माओवादी केन्द्रले जिल्लाबाट २ जनाको नाममा टिकट आएपछि दुई पक्षबीच झडप भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षमा मनोनयनका लागि पार्टीको टिकट आएपछि उनको उम्मेदवारी रोकिएको थियो। यसपछि रोकायाले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्।

प्रहरी निरीक्षक भट्टका अनुसार सो विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। झडपमा भएको ढुंगा प्रहारबाट हिमा गाउँपालिका-६ निवासी अन्दाजी ४५ वर्षीय छत्र अधिकारी घाइते भएका छन्। विनसा रोकायाले आफूलाई पार्टीले निर्णय गरेर पठाएपछि टिकट लिएर उम्मेदवारी दर्ता गराउन लाइनमा बसेको तर केही व्यक्तिले अर्को टिकट लिएर कल्पनाको उम्मेदवारी दर्ता गराएकाले आफू पीडित भएको बताइन्।

प्रहरीका अनुसार घाइते अधिकारीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ। कल्पना परियारले उपाध्यक्षमा उम्मेदवारी दिएपछि विनसाले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। झडप भएपछि प्रहरी निरीक्षक भट्ट नेतृत्वमा प्रहरी टोली हिमा पुगेको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भएपनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकेकाले समस्या समाधान गरिनुपर्ने बताए। विनसाले दर्ता गराउनेको दोष नभई बीचमा समस्या खडा गर्नेको दोष भएको बताइन्। उनले भनिन्, ‘माओवादी नेता कार्यकर्तालाई संयम भएर निर्वाचनमा लाग्न अनुरोध गरिन्।’

नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा अध्यक्षसहित धेरै पद जितेको थियो। यो वर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ। यसले गर्दा माओवादी केन्द्रलाई हिमा गाउँपालिकामा विजय हात पार्न चुनौती देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.