|

ललितपुर :  पुल्चोक दमकलनजिकै रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य धमाधम भइरहेको छ। वैैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरेपछि ३२ लक्षणले युक्त ३२ हात अग्लो रथ बनाउने काम सुरु भएको हो। 

काठकै चुकुल राखी वेत र महावेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ। गुठी संस्थान शाखा कार्यालय ललितपुरका अनुसार वैशाख शुक्ल प्रतिपदामा (यो वर्ष वैशाख १८) मा मच्छिन्द्रनाथलाई रथारोहण गर्नुपर्ने भएकाले रथ बनाउने कामलाई तिव्रता दिएको बताएको छ। ‘रथ बनाउने काम धमाधम भइरहेको छ’ ललितपुर शाखाका प्रमुख हरि सुवेदीले भने, ‘रथको स्टक्चर निर्माण अन्तिम चरणमा छ।’ रथमा काठको काम सकिएर अहिले वेत र महावेतले बाँध्ने काम अन्तिम चरणमा पुगेको छ। 

 

रथ निर्माण गर्न पाटनका यवाल, बाराही थरका स्थानीयवासी तल्लीन छन्। बाराहीले रथलाई स्वरूप दिएर काठ हाल्ने काम गरेका छन्। यसैगरी यवालहरू रथ बनाउन प्रयोग भएका काठलाई वेतले बाँध्न र कस्न लागिपरेका छन्। ‘हामीले रथको संरचना काठबाट बनाएका छौँ, रथको तला–तला निर्माणका लागि काठ फिटिङ गर्यौँ, काठसम्बन्धी काम गरिरहेका एक बाराहीले भने, ‘महावेत ठाँउ–ठाँउमा कस्ने काम भएपछि हामीले तल्ला थप्ने गरेका छौँ।’

बाराहीले काठबाट रथका स्वरूप दिएपछि यवाल समुदायले यसलाई मजबुत बनाएर पाङ्ग्रा, घमा, घमापासा र देवता राख्ने स्थान बनाउन जोइन्टमा वेत र डोरीले कस्छन्। ‘तला–तलामा काठलाई वेतले बाँध्दै छौँ’, निर्माणमा खटिएका एक युवकले भने, ‘एक हातले समाउँदै एक हातले कस्दै, ठोक्दै गर्नुपर्छ। ​

गुठी संस्थान ललितपुरले रथ निर्माणमा खटिएका ४२ जनालाई काम गरेको दिनको हाजिर हेरेर दैनिक १५ सय पारिश्रमिक दिने गरेको छ। ‘रथ निर्माणमा खटिएकालाई काम गरेको दिनमा १५ सय दिन्छौँ, कार्यालय प्रमुख सुवेदीले भने, ‘जम्माजम्मी ४२ जना खटिएका छन्।’ 

यता टंगालमा मीननाथको रथ पनि मंगलवारदेखि धमाधम बनाउन सुरु गरिएको छ। रथको तला निर्माण भइसकेपछि पाङ्ग्रा र 'घमा' हालेपछि मच्छिन्द्रनाथको रथारोहणका लागि तयारी हुन्छ। यो वर्ष रथमा नयाँ घमा हालिँदैछ। केही समय अघि नुवाकोटबाट काठ ल्याएर पुल्चोकमै घमा तयार पारिएको हो। 
देवतालाई रथारोहण गरेपछि उपत्यकाकै लामो रथ यात्रा सुरु हुनेछ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ। मच्छिन्द्रनाथको मूर्ति रथारोहण गरिएको चौथो दिन देशकै सबैभन्दा लामो जात्रा गर्ने परम्परा छ।

आमाको मुख हेर्ने दिनको भोलिपल्ट रथारोहण गरिएको रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर गाःबहाल  पुर्‍याइन्छ। प्रत्येक वर्ष अक्षय तृतीयाको भोलिपल्ट​ टंगालबाट मीननाथको समेत रथ तानी पुल्चोकसम्म पुर्‍याइन्छ। रथलाई पाटनका विभित्र स्थानमा परिक्रमा गराइन्छ। पुल्चोक, गाःबहाल, सुन्धारातफ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल, जावलाखेलमा परिक्रमा गराइन्छ।

मच्छिन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन्। जावलाखेल पुर्‍यापछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ।  हरेक दिन रथ तानेर पुर्‍याइएका ठाउँमा जात्रा मनाउने गरिन्छ। रातो मत्स्येन्द्रनाथलाई ६ महिना बुङमती र ६ महिना ललितपुरमा राख्ने परम्परा छ। मच्छिन्द्रनाथको ३२ पानेजु, १२ यवाल र २४ बराही हुन्छन्। रथको ब्रेक लगाउने घगु ८ जना हुन्छन्। मीननाथको रथ जात्रालाई मच्छिन्द्रनाथको भन्दा पनि पुरानो रथजात्राको रूपमा लिने गरिएको छ। 

किंवदन्तीका अनुसार लिच्छवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको थियो। गुरु गोरखनाथले नव नागको आसन बनाई बसिदिएका कारण १२ वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका  थिए।

गुरु मच्छिन्द्रनाथलाई देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नवनाग मुक्त भई वर्षा भएको र सहकाल सुरु भएको विश्वास गरिन्छ। मच्छिन्द्रनाथको सम्पूर्ण जात्रा जीवित देवी ‘कुमारी’ले पनि अवलोकन गर्ने प्रचलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.