|

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले मनोनयन दर्ता गराइसकेका छन्। स्थानीय तह निर्वाचनका लागि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले छुट्टाछुट्टै मोर्चा बनाएका छन्।

कांग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी (जसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ। विभिन्न दलले आफ्नो उम्मेदवारी दर्ता गरिरहेका छन्। एमालेले भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दललगायतसँग चुनावी तालमेल गरेको छ।

निर्वाचनमा कतै नयाँ अनुहार देखिएका छन् भने कतै पहिलो कार्यकाल बिताएका जनप्रतिनिधिले दोस्रोका लागि उम्मेदवारी दर्ता गराएका छन्। ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ललितपुरका प्रमुखको रुपमा ५ वर्षे कार्यभार सम्हाले। 

पहिलो कार्यकालमा जनताको चाहनाअनुसार काम भएको बताउँदै आएका छन्। उनै महर्जनले फेरि अर्काे ५ वर्षे  कार्यकाल सम्हाल्ने तयारीमा गठबन्धनका तर्फबाट प्रमुखको रुपमा उम्मेदवारी दिएका छन्। नगर प्रमुखको रुपमा बिताएको ५ वर्षे कार्यकाल कस्तो रह्यो? आगामी योजनाका विषयमा थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी :

ललितपुर महानगरपालिकाको प्रमुखका रुपमा ५ वर्षे कार्यकाल बिताउनु भयो। दाेस्रो कार्यकालका लागि उम्मेदवारी दिनु भएको छ। कस्तो छ निर्वाचनको तयारी?

ललितपुर महानगरपालिकाको रुपमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको छु।  यतिवेला हामी चुनावको तयारीमा लागेका छौं। चुनावी मैदानमा जित हार जे पनि हुन सक्छ। तर हाम्रो कुरा गर्नु पर्दा चुनाव जित्ने गरी तयारी गरिरहेका छौं। 

पहिलो कार्यकाललाई कसरी सम्झनु हुन्छ? 

मेरो पहिलो कार्यकालमा सोचे, चिताएभन्दा धेरै काम भएको छ। विश्वभरि महामारी बनेको कोरोनाले केही असहज भयो। त्यसका बाबजुद पनि निकै उत्कृष्ट काम भएको छ। कोभिडको समयमा स्वास्थ्य क्षेत्रमा धेरै काम गर्‍यौं। २०७४ को स्थानीय निर्वाचनमा जानुअगाडि जनतासामु बोलेका अर्थात घोषणा पत्रको ९० प्रतिशत काम पूरा गरेको छु।

घोषणा पत्रमा  उल्लेख नभएका पनि धेरै काम भएका छन्। भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्‍यौं। त्यसयता पाँचवर्षे अन्तरालमा ललितपुरको देगु तलेजु, नरसिंह मन्दिर, बालकुमारी, रूद्रायणी, बुंगमतीको मच्छिन्द्रनाथलगायत मन्दिर निर्माण सम्पन्न भयो। २९ वटा वडामा ७७ फल्चा पुनर्निर्माण गरिएको छ।

सम्पदा क्षेत्रमध्ये सबैभन्दा राम्रो काम पाटनको भीमसेन मन्दिरमा भएको मैले महसुस गरेको छु। त्यो मन्दिर जीर्णोद्धार गर्न शुरूमा नेपालले भारत सरकारसँग अनुरोध गरेको थियो। त्यसको प्रक्रियामा धेरै समय घर्किइसकेको थियो। मन्दिर जीर्ण भएर वरिपरिका घरलाई जोखिम हुने चुनौतीबीच मैले भारतीय राजदूतसँग कुरा गरेँ। पैसा आउन समय लाग्ने भनेपछि सरकारसँग अनुमति लिएर हामीले नै जीर्णोद्धार गर्ने स्वीकृति लियौं। चन्दा उठाएर भए पनि हामीले त्यो मन्दिर गुणस्तरीय बनाएका छौं।  

ललितपुर महानगरपालिकाले अन्य पालिकाको तुलनामा गरेको फरक काम भनेको साइकल लेन हो। नेपाल साइकल सोसाइटीको सहकार्यमा ललितपुर क्षेत्रमा महानगरले ३२ किलोमिटर साइकल लेन बनाइसकेको छ। सडकका आकार धेरै ठाउँमा सानो भएकाले अन्तरराष्ट्रिय स्तरको भने बनाउन सकेको छैन। चक्रपथको १५ दशमलव ८ किलोमिटर सडकमा दुवैतिर अन्तरराष्ट्रिय स्तरको साइकल लेन बनाउन महानगरले टेन्डर दिइसकेको छ। ठाउँठाउँमा सय वटा जति साइकल स्ट्यान्ड पनि निर्माण गरिसकेका छौं।

घोषणा पत्रबाहेक जीवित सम्पदा शताब्दी पुरुष सत्यमोहन जोशीको सयौं जन्मोत्सव धुमधामसँग मनाउनु, उनको नाममा हुलाक टिकट, सिक्का र किताबहरू निकाल्नु र उनलाई निजी गाडीको व्यवस्था गर्नु पनि गरिएको छ। केही काम भने घोषणा गरे पनि पूरा गर्न सकिएको छैन। 

पूरा गर्न नसकेका योजना के के हुन्?  किन पूरा गर्न सक्नु भएन? 

पाँच वर्षअघि निर्वाचनका समयमा घोषणा गरेका अधिकांश काम पूरा भएका छन्। घोषणा पत्रमा कपुल चोकदेखि थापाथलीसम्म ‘फ्लाई ओभर’ राख्ने योजना थियो। सो योजना आफ्नो कार्यकालमा पूरा गर्न सकिनँ। अध्ययनको काम भने पूरा भयो तर निर्माण गर्न सकिनँ। ८ मिटरभन्दा सडक निर्माण गर्ने अधिकार महानगरलाई नभएकाले सो काम पूरा गर्न सकिनँ। सो कार्यक्रमलाई हटाएको होइन स्थगित मात्र गरेका हौं। अब दोस्रो कार्यकालमा सो काम पूरा गर्नेछु।

५ वर्षे कार्यकाल बिताएर पनि फेरि दोहोरिन लाग्नु भयो नि किन? 

मैले पहिलो कार्यकालमा नगरभित्र गरेका काम र जनताको चाहनाले नै फेरि दोहोरिन लागेको हुँ। अर्कातिर पार्टीले मलाई विश्वास गरेर अगाडि बढाएको छ। पहिलो कार्यकालमा पूरा गर्न नसकेका योजना पूरा गर्नका लागि पनि दोस्रो कार्यकालको उम्मेदवारी दिएको हुँ।

तपाईंको चुनाव जित्ने आधार के के हुन्? 

पहिलो कार्यकालमा गरेको काम र जनताको साथ नै मेरो चुनाव जित्ने आधार हुन्। हामी गठबन्धनबाट अगाडि बढेका छौं त्यो पनि जितको एउटा आधार हो। 

चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ? 

चुनाव जित्नका लागि भाषण मात्र होइन काम गर्नु पर्छ। मैले काम गरेर देखाएको छु। फेरि पनि जनताको काम गर्न चाहन्छु। त्यसका महानगरवासीको साथ पाउनेमा ढुक्क छु।

आगामी कार्यकाललाई कसरी अगाडि बढाउनु हुन्छ?

आगामी कार्यकालमा पहिलो कार्यकालमा पूरा गर्न नसकेको काम पूरा गर्नेछु। त्यसैगरी लोकप्रिय, वातावरणमैत्री र जनताको अत्यावश्यक योजना ल्याएको छु। महानगरभित्र पहिलो चरणमा स्मार्ट लाइट राखिएको छ। दोस्रो चरणमा १ हजार १ सय ५० वटा स्मार्ट लाइट जडान गर्ने तयारी भएको छ। त्यसैगरी महानगरभित्र सबै सडकमा स्मार्ट लाइटको व्यवस्था गर्ने तयारी  भएको छ। यस्तै योजना अगाडि सारेको छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.