|

काठमाडौं : वैशाख ३० गतेको स्थानीय निर्वाचनमा ललितपुर र वीरगञ्ज महानगरमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। ०७४ को निर्वाचनकै उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा मैदामान उत्रिएकाले परिस्थिति बेग्लै भएपछि कडा प्रतिस्पर्धा हुने देखिएको हो। 

ललितपुर महानगरको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रूपमा कांग्रेसका चिरिबाबु महर्जनलाई अगाडि सारेको छ। ०७४ कै निर्वाचनमा महर्जनका मुख्य प्रतिस्पर्धी रहेका एमालेले हरिकृष्ण व्यञ्जनकारलाई खडा गरेको छ।  ललितपुर महानगरमा कांग्रेस र एमालेबाट पुरानै प्रतिस्पर्धी मैदान उत्रिएका छन्। 

०७४ सालको चुनावमा २४ हजार ६४२ मत ल्याएर महर्जन मेयर निर्वाचित हुँदा व्यञ्जनकार ३२६ को झिनो मतले पराजित भएका थिए। ०७४ को निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै थिए। एमालेका व्यञ्जनकारले २४ हजार ३१६ मत ल्याएका थिए। 

स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत ल्याउँदा माओवादीका दिनेश महर्जनले १० हजार ६६१ मत मात्रै ल्याएका थिए। साविक बाबुराम नेतृत्वको नयाँ शक्तिका मदन महर्जनले ७७९ मत मात्र पाएका थिए। ललितपुर महानगरमा कांग्रेस र एमालेबाहेक अन्यले नतिजा उल्टाउन सक्ने कसैको बलियो आधार छैन। 

तर ललितपुरमा बाक्लो मतान्तरले जित सुनिश्चित हुनेमा विश्वस्त छन् गठबन्धनका उम्मेदवार महर्जन। १५ हजारभन्दा बढी मतले जित्ने उनको दाबी छ। 

मनोनयन दर्तापछि उनले भनेका थिए, ‘मैले मेयर हुँदा राम्रो काम गरेको छु। त्यसैले जनताले मलाई फेरि जिताउनेमा ढुक्क छु। शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा राम्रो काम गरेको छु।’ 

तर एमालेको उम्मेदवार व्यञ्जरकार भने आफूले जित्ने दाबी गर्छन्।

उनी भन्छन्, ‘अहिले गठबन्धनसँग डराउनुपर्ने अवस्था छैन। उहाँहरू आफैँ कमजोर भएको स्वीकार गरेर गठबन्धन गर्नुभएको हो।’

०७४ को निर्वाचनमा पनि झिनो मतले हारेको बताउँदै अहिले आफ्नो जित सुनिश्चित भएको उनको भनाइ छ। उनले महानगरका अधिकांश नेता कार्यकर्ता आफ्नो पार्टीमा आइसकेकाले माओवादीको जनाधार नै नभएको दाबी गर्छन्। 

अंकगणित 

अघिल्लो निर्वाचनमा एक्लै प्रतिस्पर्धामा सफल भएका महर्जन अहिले गठबन्धनको साथ पाएकाले ढुक्क छन्। पाँच दलीय गठबन्धनको आड र एमाले विभाजनको कारणले चिरिबाबु आफूले जित्नेमा विश्वस्त छन्। 

०७४ को निर्वाचनको नतिजालाई कांग्रेस र माओवादीको मत जोड्दा ३५ हजार ३ सय तीन हुन्छ। कांग्रेस र माओवादीको मत हेर्दा मात्रै १० हजार ९८७ मत पछि पर्छ। 

त्यसो त एमाले विभाजनले पनि असर गर्ने भएकाले गठबन्धनको उम्मेदवारले जित्ने आधार बलियो रहेको तथ्यांकले देखाउँछ। माधव नेपालले पार्टी विभाजन गरेको असर ललितपुर महानगरमा पनि पर्ने भएकाले गठबन्धनलाई जित्न सहज छ। 

वीरगञ्ज : पार्टी बेग्लै, प्रतिस्पर्धी उही 

वीरगञ्ज महानगरमा पनि परिस्थिति फेरिए पनि पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा छन्। ०७४ को निर्वाचनमा वीरगञ्जमा साविक संघीय समाजवादी फोरमबाट विजयकुमार सरावगी भएका थिए। 

तर उनी अहिले नेकपा एमाले प्रवेश गरेर फेरि चुनावी मैदानमा छन्। संघीय समाजवादी फोरमबाट एक्लै जितेका उनी अहिले गठबन्धनको सामना गर्नुपर्ने बाध्यता छ। 

पाँचदलीय गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाको भागमा परेको वीरगञ्जमा राजेशमान सिंहलाई अगाडि सारेको छ। उनी ०७४ को निर्वाचनमा साविक राजपाबाट चुनाव लडेका थिए तर अहिले उनीहरुको पार्टी र परिस्थिति फेरिएको भए पनि पुरानै प्रतिस्पर्धी भिड्दै छन्।  

०७४ को निर्वाचनमा विजयी सरावगीले १९ हजार ३९३ मत ल्याएका थिए। त्यसवेला उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ मत पाएका थिए। अहिलेका प्रतिस्पर्धी सिंहले तेस्रो स्थान हासिल गरेका थिए। 

अहिले ०७४ को निर्वाचनमा थोरै मतले हारेको कांग्रेसका साथबाट सिंह मैदान होमिएकाले उनको जित सुनिश्चित भएको दाबी गर्छन् जसपा नेता मोहम्मद इस्तियाक राई। 

०७४ को निर्वाचनमा संघीय समाजवादी निर्वाचित हुँदा कांग्रेसका अजय द्विवेदी दोस्रो, राजपा सिंह तेस्रो, लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव चौथो, एमालेका बसद्दिन अन्सारी पाँचौं र माओवादीका रहबर अन्सारी छैटौं भएका थिए। 

सरावगी एमाले प्रवेश गरे पनि उनीसँग कुनै नेताहरू साथमा नभएको जसपा नेता राई बताउँछन्। 

उनी भन्छन्, ‘एमालेमा व्यक्ति प्रवेश गरेको हो। उनी गएपछि हामीले पनि ठूलो संख्यामा पार्टीमा भित्र्याइसकेका छौँ। विजय सरावगीसँग दुई हजार मान्छे पनि छैनन्। उनी राजनीतिक व्यक्ति थिएनन्।’

कामै नगरेर आलोचना भएपछि अर्को ठाउँमा गएर खान पाइन्छ कि भनेर उनको उनको आरोप छ। पहिलाको भन्दा राम्रो माहोल पार्टीमै बनेको अवस्थामा गठबन्धनको साथमा सिंहको जित प्रष्ट रहेको उनले बताए। 

‘मधेश आन्दोलनको सुरुदेखि नै हामीसँगै थियौँ। उहाँ हामीसँग विचार मिल्ने फरक दलमा हुनुहुन्थ्यो तर अहिले हाम्रैबाट अगाडि सारेका छौँ। वीरगञ्ज ‘क्लिन स्वीप’ बनाउने योजनामा छौँ’‚ उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.