|

काठमाडौं : स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका सबैभन्दा चर्चाको रुपमा रहेको छ। सत्ता गठबन्धनको मियोको रूपमा हेरिएको चितवनको भरतपुर अहिले झन चर्चामा चुलिएको छ। जहाँ कांग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी।

पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाण, राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली लगायतको उम्मेदवारी फिर्ता गराउने प्रयास विफल भएपछि भरतपुरलाई झनै महत्वका साथ हेरिएको छ। 

सत्ता गठबन्धनको टाउको दुखाई बनेका पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि अब भरतपुरको गठबन्धन मात्रै होइन् देशभरकै गठबन्धन धरमराउने अवस्थामा पुगेको छ। 

सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री तथा पूर्व मेयर रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले के कारबाही गर्छ? कारबाही गरे के छ पौडेलको तयारी?  चुनावको प्रचार प्रसारको तयारी के छ? यसै सेरोफेरोमा रहेर हेटौडा सहकर्मी श्रीजना नेपालले पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश ​

भरतपुर महानगरपालिकाबाट तपाईले उम्मेदवारी फिर्ता लिनु भएन । अब कसरी अगाडि बढ्नुहुन्छ?

अब अगाडि बढ्न प्रारम्भिक चरणमा त म चुनाव चिह्न लिन्छु। त्यसपछि चुनावको कार्यक्रमहरु नै तय गरेर अगाडि बढ्छु । वडा-वडामा ,घर-घरमा जनलाई भेट्न पुग्छु। अब भने मेरो विशेषगरि चुनावी कार्यक्रम शुरु हुन्छ।

कांग्रेसको चुनाव चिह्न त तपाईले पाउनु हुदैन होला। कुन चिह्न लिएर जानुहुन्छ जनतामाझ?

चुनाव चिह्न आफैमा खासै केही होइन। जुन चुनाव चिह्न मैले पाइरहेको छैन, त्यसको इज्जत नै भइरहेको छैन। चितवनमा भरतपुर महानगरपालिकामा त्यो चुनाव चिह्न नै छैन। भरतपुरमा कांग्रेसको चुनाव चिह्नलाई सम्मान नै गरिएको छैन।  त्यसैले त्यो चिह्न नै नभएपछि मैले जे चुनाव चिह्न पाउँछु त्यसैलाई रुख मान्छु। 

तपाईलाई फकाउन गृहमन्त्रीदेखि धेरैजना भरतपुर आउनु भयो। तर तपाईं मान्नु भएन किन?

त्यो स्वभाविक हो। त्यो उहाँहरुको कर्तव्य हो। तर,मेरो बाटो स्पष्ट थियो। मलाई कुनै भ्रम र द्विविधा थिएन। म कुनै लोभ लालचमा कसैसँग सम्झौता गर्ने प्रकृतिको मान्छे म होइन। मैले पार्टीभित्रकै असंगतिको कुरा उठाउँदै पार्टीभित्रको अपवित्र साँठगाँठ र लेनदेनको जुन अभ्यास भइरहेको छ। त्यो स्वस्थ होइन भन्दा पनि मलाइ पार्टीले केही गर्छ जस्तो लागेन। त्यसैले मैले नीतिगत सैद्धान्तिक कुरा उठाएको हो।

उम्मेदवारी फिर्ता लिन तपाईलाई लालच पनि देखाइएको थियो भन्न खोज्नु भएको हो?

यो आन्तरिक कुरामा नजाऔँ। मलाइ कुनैपनि कुराले छोएन,मैले आफ्नो अडान छोडिन । अरु कसैले कुनै कुरा दिएर मैले आफ्नो बाटो छोड्ने कुरा आउदैन। मलाई कुनैपनि कुराले प्रभाव पार्न सकेन। मैले उम्मेदवारी फिर्ता लिनको लागि दिएको होइन । मेरो बार्गेनिङ गर्नको लागि उम्मेदवारी दिएकै थिएन,त्यसैले म आफ्नो गन्तव्यमा स्पष्ट रुपमा हिँडिरहेको छु।

उम्मेदवारी फिर्ता नलिँदा तपाई पार्टीबाटै स्वत: निष्कासित नै हुनुभयो नि त?

मलाइ यसबाट कुनै फरक पर्दैन। पार्टीबाट मलाई निष्कासन गर्दा यसको ठूलो असर जनतामा पर्छ। यो कुराले मेरो विजयी यात्रालाई असर पुर्‍याउँदैन। 

तपाईलाई भविष्यमा कांग्रेसबाट राजनीति गर्न गाह्रो पर्ला नि त?

कांग्रेसमा २/४ जना नेताहरुले औपचारिक संस्थामा बसेर निर्णय गर्नु मात्रै कांग्रेस होइन । कांग्रेस भनेको जनताको समृद्धिको लागि समर्पण हुने भावना हो । कांग्रेस देश निर्माणको लागि ठूलो योगदान दिएको ऐतिहासिक पार्टी हो। कांग्रेसको आवरणमा जनताले नरुचाएको काम गर्ने, व्यक्तिगत स्वार्थमा केन्द्रीत हुने,आफ्नो घरपरिवारका मान्छेलाई कांग्रेसको नाममा पद बाड्ने कांग्रेस होइनन्। 

भरतपुरमा तपाई एमालेलाई जिताउन लागिपर्नु भयो भन्ने आरोप पनि लागिरहेको छ नि?

म उठ्दा एमालेले जित्छ वा अरु कसैले हार्छ भने त्यो मेरो दोष होइन। म आफै जित्नलाई उठेको हो। अरु कसैको इच्छापुर्ति गर्नको लागि मैले ब्याक हुनुपर्ने? एमालेलाई कति ठाउमा रोक्छन्? कसैले चाहेर कांग्रेसलाई कति ठाउमा रोक्न सक्छ? जहाँ उसको जनाधार छ,त्यहाँ उसले जित्छ। म अहिले चुनावमा उठ्दा म उठ्नुको कारणमा नगएर कसैलाई कमजोर बनाउन वा जिताउन भनेर अर्थ लगाउन मिल्छ? म आफै जित्न उठेको हो।

म जित्नसक्ने क्षमता भएको मान्छे हो। मैले नगरपालिका चलाएको छु। देशभरको नगर प्रमुखको क्रियाकलाप हेरेर मेरो हेर्नुस् म कहाँ चुकेको छु ? म वैचारिक हिसाबले स्पष्ट छु, आचरणको हिसाबले शुद्ध छु ,म कुनै किसिमको लेनदेन र स्वार्थमा फस्दिन। म कुनै हिसाबले पछाडी छैन। तर म उठेपछि कसैले जित्न सक्छ , कसैले हार्न सक्छ। त्यसको दोष मलाइ दिन मिल्दैन।

तपाई आफू चाहि जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ?

मेरो पछाडी त देशैभरी लहर आएको छ। राष्ट्रिय रूपमा नै सबैले मलाइ नजिकबाट हेर्नु भएको छ। मेरो व्यवहार, मेरो पृष्ठभूमि, योग्यता र क्षमताबारे सबैले थाहा पाइसक्नु भयो। म अल्लारे मान्छे होइन,बूढो भइसकेको मान्छे हो। मैले अहिलेसम्म के-के काम गरे भन्ने आधारमा मलाई मूल्यांकन गर्नुस्। मलाइ जनताले विश्वास गर्नुपर्ने कारण त्यही पाउनुहुन्छ। उम्मेदवारी दर्ता गर्न जादा म एउटा व्यक्ति थिए। मेरो पछाडि हजारौं मान्छे थिए।

अर्को गठबन्धनको उम्मेदवारको पछाडी मान्छे नै थिएन। त्यहीँबाट पनि गठबन्धनलाई मान्छेले रुचाएको छैनन् भन्ने थाहा हुन्छ। गठबन्धनले राजनीतिक निकास दिदैन। केही सीमित व्यक्तिको स्वार्थ मात्रै पुर्ती गर्छ। त्यसैले गठबन्धनप्रति जनतालाई विश्वास छैन। म निःस्वार्थ भावनाले लागेको हुनाले मलाई विश्वास गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.