विराटनगर : उनलाई ठ्याक्कै साल थाहा छैन। तर, पाइताला फुट्ने गरी हिँडेको र तालु पिल्सिने गरी नुनको ढाकर बोकेको याद उनको मानसपटलमा क्यानभास झैँ कोरिएका छन्। उमेरले ठ्याक्कै ७५ वर्ष पुगेका टंकप्रसाद खतिवडाको उर्जा उस्तै छ। उमेरको हिसावले आराम गर्ने बेला हो तर, वेलाबखत आफू जन्मेको घर, गाँउ नियाल्न पुग्ने गरेको उनी सुनाउँछन्।
धरान देखि यासोकसम्म सहयात्रा गर्दा भेटिएको उनीसँग तमोर करिडोरको सडकमा विगतका पुराना यादहरु प्रशस्तै छन्। उनीसँग सानो छँदा तमोर नदीको किनार छिचोल्दै साँगुरो बाटोमा हजुरबाको साथ लागेर हप्ता दिनसम्म हिँडेर नुन बोक्न धरान झरेको याद ताजा छ।
‘त्यो समय यस्तो बाटो थिएन, यो रोडभन्दा अलिकति तल छ पैदल हिँड्ने बाटो साँघुरो थियो। लड्यो भने नदीमा पुगिन्थ्यो’,उनी गाडीको झ्यालबाट फुत्त टाउको निकाल्दै भन्छन्,‘अहिले त सजिलो छ नि एकै दिनमा घर पुगिन्छ।’
उनीहरु घर देखि हिँड्दा गाउँका भारी बोक्न सक्ने दाजुभाई, छोरी चेली समूह बनाएर धरान झर्ने गर्थे। भुटेको मकै, बाटोमा खाने चामल तरकारी ढाकरमा बोकेर झरेको याद खेपैपिछे तमोर करिडोरको बाटो हुँदै गाडीमा सवार हुँदा उनको मस्तिष्कमा छर्लङ्ग आउने गरेको उनी सुनाउँछन्।
बर्खा खाने नुन, तेल लिएर धरानबाट हप्ता दिन लगाए घर पुग्ने उनी त्यही बाटोमा गाडी कुद्दा अचम्मित पनि हुन्छन्। ‘मलाई त अचम्म लाग्छ यहाँ बाटो बन्छ, गाडी कुद्छ भनेर', उनी सुनाउँछन्,‘अहिलेको नानीहरूलाई साह्रै सजिलो भयो, मान्छे सामान गाडीले घरैमा पुर्याउँछ।’
आफूसँगै नुनको ढाकर बोक्ने केही दौँतरीले कहिले नफर्किने गरी विदा लिइसकेको सुनाउँदै उनी भन्छन्,‘म सँगैका दौतरी परलोक भइसके, मैले त यही बाटोमा मोटरमा कुद्न पाएँ।’
धनकुटाको साँगुरीगढी–२ मा रहेको मुलघाट हुँदै पाँचथरको लुबुघाट, माझीटार, ताप्लेजुङ ओलाङचुङ गोला हुँदै नेपाल– चिन जोड्ने ट्रयाक ०६५ सालमा तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले एक करोड ५० लाख बजेट छुट्याएर सडक डिभिजन कार्यालय धनकुटाले तमोर करिडोरको सर्वे गरेको थियो।
०६६ बाट सरु भएको तमोर करिडोर ट्रयाक निर्माण कार्य पछि चारवटा जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई करिब १५ किलोमिटरले सिमाना जोडिदिएको छ। तमोर करिडोर सडक सुचारु भएसँगै पाँचथर, ताप्लेजुङवासीलाई आवतजावत गर्न सहज पनि भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।