निराश छ एमाले पनि, उल्टिन सक्छ आँकलन

|

हेटौंडा : यतिबेला चितवनको भरतपुर महानगरपालिका नेपालकै केन्द्रीय राजनीतिको थलो जस्तै बनेको छ। अघिल्लो स्थानीय तहको निर्वाचनदेखि चर्चामा आएको भरतपुरले यो निर्वाचनमा पनि देशव्यापी रूपमा चर्चा कमाएको छ।

भरतपुरले राष्ट्रिय राजनीतिको थलोको स्थान पाएको पछिल्लो केही दिनको घटनालाई हेर्दा नै थाहा हुन्छ। सत्तारूढ गठबन्धनविरुद्वमा भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट जगन्नाथ पौडेलले उम्मेदवारी दिएसँगै भरतपुरले चर्चा पाउन थालेको हो।

तर, भरतपुमा सबैको ध्यान उनको कारण मात्रै गएको भने होइन। उनले कसको विरुद्धमा उम्मेदवारी दिए भन्ने कुराले पनि सबैको ध्यान भरतपुरमा पुगेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लामा उनकै छोरीको विरुद्वमा सत्ता गठबन्धनबाटै उम्मेदवारी परेपछि भरतपुर तातिएको छ।

कांग्रेसका पूर्व-सांसदसमेत रहेका पौडेलको उम्मेदवारी र अडानले माओवादीको मात्रै होइन कांग्रेसकै पनि टाउको दुखाएको छ।

उनको उम्मेदवारी फिर्ता गराउँदै गठबन्धनलाई सहज बनाउन गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठदेखि पूर्व-प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीसम्मले भरतपुरमा तीन दिनसम्म डेरा डाले। तर, उनीहरुको प्रयास असफल रह्यो। पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि उनीहरू काठमाडौं फिर्ता भइसकेका छन्।

कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले भरतपुर महानगरपालिका माओवादीलाई दिने निर्णय गरेको थियो। निर्णय हुनुअघि भरतपुर आफूहरुले पाउनुपर्ने माग गर्दै आएका चितवन कांग्रेसका एक पक्षले केन्द्रको निर्णय स्वीकार गरिसकेका छन्।

गठबन्धनविरुद्वमा जानेलाई पार्टीले कारबाही गर्ने भन्दै ह्विप पनि जारी गरिसकेको छ। त्यति मात्रै नभएर माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला रहेको भरतपुरमा माओवादी आफैँ पनि बलियो हुनुपर्ने हो।

सत्ता गठबन्धनबाट भरतपुरको मेयरको उम्मेदवार बनेकी माओवादीकी रेनु दाहालले पाँच वर्ष महानगर हाँकिसकेकी छन्। आफूले पाँच वर्षसम्म राम्रोसँग काम गरेकोले आफूसँग व्यक्तिगत मत पनि राम्रो रहेको उनको दाबी छ।

यति हुँदा पनि पौडेल एक व्यक्तिको बागी उम्मेदवारीले सत्ता गठबन्धनमा ल्याएको कम्पनले उनले निर्वाचनको मतपरिणाममा कस्तो असर पार्न सक्छन्? भन्ने विषय आंकलन गर्न सुरु भएको छ।

उनको बागीले सत्ता गठबन्धनको मतमा प्रभाव पार्ने देखिएकै कारण सरकारका मन्त्रीहरूसमेत उम्मेदवारी फिर्ता गराउन आएको कुरा प्रस्ट नै हुन्छ। पौडेलको पक्षमा चितवन कांग्रेसको पुराना र ठूलो नेता कार्यकर्ताको समूह नै जानसक्ने सम्भावना भएकै कारण सत्ता गठबन्धनकी मेयर उम्मेदवार दाहालको जित सहज नहुने विश्लेषण हुन थालेको छ।

२०७४ लाई हेर्दा

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धनकी उम्मेदवार रेनु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। उनले ४२ हजार ९२४ मत ल्याएका एमालेका देवी ज्ञवालीलाई २०३ मतान्तरले मात्रै पराजित गरेकी थिइन्। गठबन्धनबाट मेयरमा निर्वाचन भएकि दाहालले भन्दा उपमेयरमा निर्वाचित भएकी पार्वती शाहले ४ हजार भन्दा बढी मत पाएको देखिन्छ।

कांग्रेसकी शाहले ४७ हजार १९७ मत पाएकी थिइन्। जुन मेयर दाहालको भन्दा ४ हजार ७० ले बढि हो। दुवैजना एउटै गठबन्धनबाट उठेको भए पनि यी दुईबीचको मतान्तरलाई हेर्दा नै त्यतिबेलाको निर्वाचनमा पनि रेनुलाई कांग्रेसको मत राम्रो नआएको देखिन्छ।

०७४ को निर्वाचनमा कांगैसभित्र अहिलेको जस्तो विद्रोह नदेखिए पनि दाहाल र शाहबीचको मतान्तरलाई हेर्दा उनलाई कांग्रेसले पूर्ण रूपमा साथ नदिएको देखिन्छ। अहिलेको निर्वाचनमा कांग्रेसभित्रको विद्रोह विष्फोट भएर बाहिर छताछुल्ल भइसकेको छ।

कांग्रेसबाट गठबन्धनको विरुद्वमा विद्रोह गर्ने पौडेल मात्रै देखिए पनि उनलाई पछाडिबाट चितवन कांग्रेसको पुराना नेताहरुले साथ दिइरहेको बुझिन्छ।

निराश र उत्साहित एमाले

गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २ सय ७४ जना मतदाता थिए। यसपटक मतदाता ३५ हजार ४७८ बढेर १ लाख ८५ हजार ७ सय ५२ पुगेको छ।

अहिलेको निर्वाचनबाट जित हात पार्नको लागि सत्ता गठबन्धन र विपक्षी दुवैको लागि नयाँ मतदाता महत्वपूर्ण रहेको छ। २०७४ को निर्वाचनलाई हेर्दा २९ वटा वडा रहेको महानगरमा वडागत रूपमा कांग्रेसले ३८ हजार १३७, एमालेले ३८०७९ र माओवादीले २० हजार ३३२ मत ल्याएको थियो।

त्यस्तैगरी, राप्रपासँग ८ हजार मत छ। अघिल्लो निर्वाचनमा २०३ मतान्तरले पराजित भएको एमालेले यो निर्वाचनमा ८ हजार मत भएको राप्रपाको साथ पाएको छ। यसअघिको निर्वाचनमा २०३ मतान्तरले परजित मतान्तरले पराजित भएकोले एमालेले यो पटक ८ हजार मत भएको राप्रपाको साथ पाएको भए पनि उसलाई जित्नको लागि भने त्यो मत प्रशस्त होइन। उसलाई जित हात पार्न थपिएका नयाँ मतदाताको मत आवश्यक छ।

नतिजा आफ्नो पक्षमा पार्न भरतपुरको शालिक नेताको रूपमा चिनिएका विजय सुवेदीलाई प्रदेशसभा सदस्यबाट राजिनामा गराएर उम्मेदवार बनाएको एमालेले कांग्रेसको मतसमेत तान्न सक्ने अपेक्षा गरेको थियो। तर, कांग्रेसबाट बागी उम्मेदवारी दिएका पौडेलको कारण एमालेमा केही उत्साह र निराशपन दुवै छाएको छ।

एमालेले असतुष्ट कांग्रेसबाट मत तान्ने अपेक्षा गरेको भए पनि अब त्यो मत पौडेलले पाउने भएपछि निराश बनेको एमाले गठबन्धनकी दाहालको मत काटिने कुराले भने उत्साहित छ।

रेनुलाई जगन्नाथको डर

सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी रेनुलाई उनको विरुद्वमा खडा भएका जगन्नाथको डर छ। अघिल्लो निर्वाचनबाट भरतपुरको मेयरमा निर्वाचित भएर काम गरिसकेकी उनले पाँच वर्षमा भरतपुरमा केही व्यक्तिगत मत पनि कमाएको देखिन्छ।

तर, उनलाई जित्नको लागि नेपाली कांग्रेसकै मतको भर पर्नुपर्ने अवस्था छ। यस्तोमा कांग्रेसबाट उनीविरुद्व पौडेलले दिएको बागी उम्मेदवारी उनको लागि टाउको दुखाइको विषय बनेको छ।

गठबन्धनले निर्णय गर्नुअघि भरतपुर माओवादीलाई दिन नहुने भन्दै चितवनमा कांग्रेसले विद्रोह गरेको थियो। तर, गठबन्धनको निर्णयपछि केही शान्त भएको देखिए पनि पौडेलको उम्मेदवारी पछि कांग्रेसको मत उनीतर्फ जाने सम्भावना बढी छ।

कांग्रेस जोगाउन भन्दै पौडेलले उम्मेदवारी दिएको र त्यसकै बदलामा पार्टीबाट निष्कासित पनि भएको विषयले कांग्रेस कार्यकर्ता तथा मतदाताको मन र मतलाई जोड्न सक्ने उनी निकटको भनाइ छ।

किनकि चितवनमा कांग्रेसले कुनैपनि हालतमा रेनुलाई स्वीकार्न चाहेको थिएन। यस्तोमा कांग्रेसबाटै विद्रोह गरेर उम्मेदवार बनेका पौडेललाई नै कांग्रेसको मत जाने देखिएपछि रेनुको लागि बागी उम्मेदवारी टाउको दुखाइको विषय बनेको हो।

यता, निर्वाचन आयोगबाट भुइँकटहर चुनाव चिन्ह पाएका बागी उम्मेदवार पौडेलले भने अब आफू चुनावी कार्यक्रम नै तय गरेर अगाडि बढ्ने बताउँछन्। चुनाव चिन्ह पनि पाइसकेकोले अब घर–घरमा पुगेर चुनावी कार्यक्रम गरेर मत माग्ने उनको योजना छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.