५ वर्षसम्म केही नगरेको गुनासो

|

धनगढी : बैतडीको सिगास गाउँपालिका न्वाघरका रमेश साउद शनिबार गौरीफन्टा सीमा नाकामा भेटिए। मतदाता नामावलीमा नामसमेत रहेका उनी मुग्लान छिर्ने तयारीमा थिए।

उनलाई स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गाराएकाहरुले भारत नजान भनेका थिए। तर, गत निर्वाचनपछि ५ वर्षसम्म केही नगरी भ्रष्टाचार मात्र भएको बताउने उनी मतदान नगरी छिर्ने तयारीमा थिए।

उनले भने, ‘हामीले नोकरी उतै गएर गर्नुपर्छ। यताका नेताहरुले केही काम गर्दैनन्। यिनीहरुलाई भोट दिनुभन्दा नदिनु जाति। भोट दिएर जा भन्दै थिए। तर, मैले तिमीहरुलाई किन भोट दिउँ? भनेँ।’

डोटीको दीपायल–सिलगढी नगरपालिकाका केट नाथ ४२ वर्षका भए। उनले जीवनमा एकपटक मात्र मतदान गरेका छन्। उनी भारतमा रोजगारी गर्दै आएका छन्।

आमा विरामी भएर चार महिना अगाडि मात्र उनी नेपाल आएका थिए। आमाको उपचारका कारण उनलाई ऋण छ। पाँच पटक प्रधानमन्त्री बनाएको प्रदेशको अवस्था परिवर्तन नभएको उनको गुनासो छ।

‘पाँचपटक प्रधानमन्त्री बनाएको सुदूरपश्चिमको अवस्था तपाईलाई थाहा छ। गरिबको कसैले सुन्ने होइन। जिल्लातिर भएको काम पनि कसैले गरिदिँदैन्। हाम्रो देशमा दिक्क भएर, भारत जाँदै छु’ उनले भने, ‘एक चोटी भोट दिएको हूँ।’

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीका लागि भारत जाने नेपालीहरुको संख्या पनि बढेको छ। एक हप्ता अगाडि दैनिक ढाईदेखि तीन सयको संख्यामा गौरीफन्टा नाका हुँदै भारत जानेहरु थिए। तर, अहिले त्यो संख्या हजारको हाराहारीमा पुग्ने गरेको छ।

यस्तै भारतबाट नेपाल फर्किनेहरूको संख्याभन्दा भारत जानेहरुको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ।

स्थानीय तहका जनप्रतिनिधिले ५ वर्ष कार्यकर्ता पोस्ने र भ्रष्टाचार गरेर मात्र बिताएको भन्दै उनीहरु आजित भएका छन्।

ठाउँ र देशको विकासभन्दा पनि आफ्नो विकासमा जनप्रतिनिधि केन्द्रित देखिएकाले मतदान नगरी रोजगारीका लागि भारत जान थालेको उनीहरुले बताएका छन्।

स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले भने निर्वाचनपछि मात्र कामको खोजीमा जान आग्रह गर्दै आएका छन्।

तर, २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी जनप्रतिनिधिले ५ वर्षसम्म कुनै काम नगरेकाले अहिले पनि मजदूरीको खोजीमा बाहिरिनु परेको परदेशीको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.