|

काठमाडौं : पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट मनोनयन दर्ता गराएका अटेरी उम्मेदवारले अन्ततः लौरो चुनाव चिह्न पाउने भएका छन्। मुख्य निर्वाचन कार्यालय पोखरामा केही समयको रस्साकस्सीपछि स्वतन्त्र उम्मेदवार खड्गराज गनेस पौडेलले खोसिएको चुनाव चिह्न लौरो पाएका हुन्।

बिहान दिएको चुनाव चिह्न दिउँसो खोसिएपछि अटेरीहरूले कार्यालय घेराउ गरी दबाब दिएपछि निर्वाचन कार्यालयले पुनः लौरो चिह्न प्रदान गरेको हो। 
पोखराका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले भने, ‘आयोगले मतपत्र ठूलो नहोस् र खर्च नहोस् भनेर ७ नम्बरसम्मको चिह्न छपाइ गर्ने भनेको रहेछ तर पछि हामीले छलफल गरेपछि एक लहर बढी छाप्दा केही नहुने भएको दिनु भन्ने आयोगको निर्देशन आएपछि फेरि लौरो नै दियौँ।’

शनिबार बिहानै मुख्य निर्वाचन कार्यलय पोखरामा आफ्नो चुनाव चिह्न लिन पुगेका पौडेललाई उनकै रोजाइमा लौरो चिह्न दिएको थियो। चुनाव चिह्न पाएलगत्तै उत्साहित उनले सामाजिक सञ्जालमा भ्रष्टलाई दण्ड कमजोरलाई सहारा अटेरी चुनाव चिह्न ‘लौरो’ भनेर लेख्नसम्म भ्याएका थिए।

अटेरी समूहअन्तर्गतको वडामा पनि स्वतन्त्र उम्मेदवारले चुनाव चिह्न लौरो नै पाएका थिए। समूहले प्रचार प्रसार शुरु गरिसकेका थिए। 
अटेरीहरूलाई झट्का त्यतिवेला लाग्यो जब केही घण्टाअगाडि लौरो चुनाव चिह्न दिएको निर्वाचन कार्यालयले पौडेललाई फोन गरेर लौरो चिह्न दिन नसकिने जानकारी गरायो।

लगत्तै पौडेलले पुनः सामाजिक सञ्जालमा फेसबुकमा आफूहरूलाई ‘लौरो’ दिन नमिल्ने भनी फोन आएको जानकारी गराउँदै मेयरका उम्मेदवार पौडेलले अभियानबाट त्रसित भएका दलको प्रभावमा लौरो चिह्न दिन नखोजेको आरोप लगाएका थिए।

साथै अभियानमा संलग्न भएर पोखराका विभिन्न पदमा उम्मेदवारी दिएका सबैलाई नयाँ बजारस्थित कार्यालयमा उपस्थित हुनका लागि आह्वान गरेका थिए। सोही अनुसार अटेरीलाई समर्थन गर्ने तथा उम्मेदवारी दिएकाहरू कार्यालयमा जम्मा भएर नाराबाजीका साथै धर्ना दिएका थिए।

अटेरी समूहको अटेरपछि निर्वाचन आयोगले पुनः लौरो चिह्न प्रदान गरिएको मुख्य निर्वाचन कार्यालय पोखराका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए। महानगरको मतपत्र उम्मेदवार अनुसारको मात्रै चिन्ह छापिने भनेर निर्वाचन आयोगले शनिबारै परिपत्र गरेकाले चिह्न दिन नसकिएको स्पष्ट पारे।

‘हाम्रोमा ७ जना स्वतन्त्र उम्मेदवार छन्। त्यसैअनुसारको मतपत्र छपाइका लागि अनुसूची अनुसार ७ चुनाव चिह्न मात्रै कास्कीका लागि दिएको निर्वाचन कार्यालयले सूचना दियो। लौरो आठौं नम्बरमा थियो’, उनले थपे, ‘पोखरा महानगरको मतपत्रमा लौरो चिह्न नै नछापिने भएपछि मतपत्रमा नछापिने चिह्न दिन सकिँदैन नि।’

तथापि अटेरी समुहले लिएको अडानका कारण उनीहरूले रोजाइकै चुनाव चिह्न पाएका छन्। आयोगले पनि केही लचकता अपनाउँदै पोखरा महानगरमा तोकिएको भन्दा थप एकलाइन बढाएर मतपत्र छाप्ने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.