|

काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय चुनावको सन्देशमूलक भिडियो प्रचार गर्नेलाई नगदसहित प्रशंसापत्र पुरस्कार दिने भएको छ। निर्वाचनका लागि तयार पारिएका सन्देशमूलक भिडियो सामग्री प्रचार गर्नेलाई २० देखि ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ।

आइतबार  सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तयार गरेका भिडियोहरू टिकटक बनाई वा पहिलेकै स्वरूपमा मतदानको अघिल्लो दिन २९ गतेसम्म पोष्ट तथा शेयर गर्नेलाई पुरस्कृत गर्ने भएको हो।

फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा पोष्ट र शेयर गरी भाइरल बनाएमा ५० लाख वा सो भन्दा बढी दर्शक पुर्‍याउनेलाई ५० हजार रुपैयाँ, ३० लाख वा सो भन्दा बढी दर्शक पुर्‍याउनेलाई ३० र २० लाख वा सो भन्दा बढी दर्शक पुर्‍याउने लाई २० हजार रुपैयाँले पुरस्कृत गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

आयोगबाट जारी भिडियोका सन्देशमूलक अंश भाइरल बनाएको तथा दर्शक संख्याको आधारमा मूल्यांकन गर्ने अर्यालले बताए। ‘केही दिनपछि आफूले हालेको भिडियो सर्वाधिक हेरेको प्रमाणसहित दाबी गरिएको सूचना निकाल्न पनि सक्छ’, उनले भने, ‘त्यसरी भाइरल भएका भिडियो र पोष्ट शेयर कर्तालाई प्रशंसापत्र सहित पुरस्कृत गरिन्छ।’

हाललाई तीन जनासम्मलाई पुरस्कृत गरिने योजना भएपनि भाइरल भएको भिडियो संख्याको आधारमा पुरस्कार पाउने व्यक्ति थप हुन सक्ने सहप्रवक्ता अर्यालले जानकारी दिए। 

प्रतियोगितामा सहभागी हुन आयोगले सबैमा अनुरोध गरेको छ। आयोगले तयार गरेका  प्रचारप्रसारका सन्देशमूलक भिडियोहरू आयोगको ट्विटर, युट्यूब, फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालहरुमा अपलोड भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.