|

काठमाडौं : आज अर्थात् मे १ विश्वभरका मजदुरले मनाउँदै आएका छन्। आफ्नो हक स्थापित भएको दिनका रूपमा मे दिवस विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकले मनाउँदै आएका छन्। 

नेपालमा १ सय ३३ औँ मजदुर दिवस ‘दिगो विकासमा मजदुरको आवश्यकता र रोजगारी सिर्जनामा अग्रसरता’ भन्ने नारासाथ मनाइँदै छ। नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि यो दिवस मनाउन थालिएको हो। 

सरकारले आज अर्थात् अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। सो बिदा वास्तविक मजदुरले पाउन सकेका छैनन्। आइतबार बिहान काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा घर बनाउन बालुवा बोक्दै गरेकी ३१ वर्षीया  सुनमाया तामाङ भेटिइन्। दिनभरि काम गरेर बेलुकाको खानाको जोहो गर्ने तामाङलाई श्रमिक दिवसको बिदा मिलेन। आज बिदा बस्यो भने बेलुका छोराछोरीलाई के खुवाउनु? उनले भनिन्, ‘यहाँ दिनभरी बालुवा बोक्यो भने ५ सय आउँछ। बिदा बस्यो भने छाक टार्नै मुस्किल हुन्छ।’ 

सुनमायाका श्रीमान् श्रीमती दुबैजना घर बनाउने ठाउँमा काम गर्दै आएका थिए। दुबैजनाले काम गर्दा व्यवहार चलाउन सहज थियो। कोरोना भाइसका कारण श्रीमान्‌को मृत्यु भयो। श्रीमान्‌को मृत्युपश्चात् ५ वर्षीया छोरी र ७ वर्षीय छोराको जिम्मेवारी सुनमायाको काँधमा छ। काम नगरे छोराछोरी भोकै पर्ने डर छ।  

सामाजिक सुरक्षाले छोएन श्रमिकलाई 

सरकारले  १० मंसिर २०७५ देखि सामाजिक सुरक्षा कार्यक्रम शुरु गरेको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रम शुरु गरेको तीन वर्ष बितिसक्दा पनि अनौपचारिक र स्वरोजगारको क्षेत्रलाई समेट्ने योजना बनाउन सकेको छैन। अनौपचारिक तथा स्वरोजगारको क्षेत्रलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारले पहल नगरेको सरोकारवालाहरूले बताउँदै आएका छन्। 

सबैभन्दा जोखिमपूर्ण श्रेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न नसकिएको संयुक्त ट्रेड युनियन समन्वय समितिका अध्यक्ष प्रेम खनालले बताए। अनौपचारिक क्षेत्र र स्वरोजगार श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न तत्काल कार्यविधिलाई पूर्णता दिनुपर्ने उनको भनाइ छ। 

सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० थियो। यसलाई बढाएर गतवर्ष १५ हजार पुर्‍याइएको थियो। हाल ज्यालादारी श्रमिकको दैनिक न्यूनतम पारिश्रमिक ५७७ रुपैयाँ रहेको छ। सो ज्यालादरले हालको महँगी थेग्न नसकिने अध्यक्ष खनाल बताउँछन्। 

बढ्दो वैदेशिक रोजगारी 

पछिल्लो समय रोजगाीको खोजीमा देश छोड्नेको लर्काे छ। सरकारको तथ्यांकअनुसार वार्षिक ६ लाख दक्ष श्रमशक्ति रोजगारीको खोजीमा आन्तरिक श्रम बजारमा आउने गरेका छन्। तीमध्ये साढे चार लाख श्रमिक रोजगारीको खोजीमा विदेशिने गरेका छन्। नेपालमा रहेका १ लाख ५० आन्तरिक श्रम बजारमा रहेको तथ्यांकले देखाएको छ। 

पछिल्लो समय दैनिक ९ सय नेपाली रोजगारीको खोजीमा विश्वका १११ देश जाने गरेका छन्। चालू आर्थिक वर्षको ९ महिनामा ३ लाख २० हजार नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। 

सरकार, रोजगारदाता र श्रमिकले हातेमालो गर्दै उत्पादन र उत्पादकत्व वृद्धिमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। स्वदेशमा कार्यरत श्रमिकहरूको अधिकारका लागि न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.