‘गठबन्धन सरकार खान र देशलाई कंगाल बनाउन जन्मेको हो’

|

हेटौंडा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँचदलीय गठबन्धन नेपालको राष्ट्रिय लुतो भएको टिप्पणी गरेका छन्।

हेटौंडामा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धन देशकै लागि लुतोको रुपमा रहेको टिप्पणी गरेका हुन्। उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि गठबन्धनलाई लुतो फालेजस्तै गरि फाल्ने दाबीसमेत गरे। ‘वैशाख ३० गते देशकै लुतो बनेको गठबन्धन फाल्ने दिन हो’, उनले भने‚ ‘एमाले एक्लैले यो लुतोलाई निकालेर फाल्छ।’

उनले परमादेश सरकारलाई जनादेशबाट हटाउने बताए। पाँचदलीय गठबन्धन मिलेर पनि चुनावमा एमालेलाई हराउन नसक्ने उनको दाबी छ। ओलीले एमालेदेखि डराएर नै गठबन्धन बनेको भन्दै पाँच दल मिले पनि एमालेलाई हराउन नसक्ने बताए। ‘मिलेर पनि पार लाग्दैन। गठबन्धन गरेर पनि पार लाग्दैन। पाँचै जनाले पार लाग्दैन’, उनले भने, ‘देशभरिका प्रतिक्रियावादीहरू, राष्ट्रघातीहरू, भ्रष्टाचारीहरू, जनविरोधीहरू, देशद्रोहीहरू, मोर्चा कसेर आऊ, एमाले एक्लै लड्छ।’

एमालेले विरोधीलाई ‘वन टु वन आऊ’ नभन्ने भन्दै देशभरिका विरोधीहरू मोर्चा कसेर आए पनि केही गर्न नसक्ने दाबी उनले गरे। उनले गठबन्धन सरकार खान र देशलाई कंगाल बनाउन जन्मेको टिप्पणी गरे। ‘अहिलेको सरकार खान जन्मेको हो। देशलाई विकास गर्न होइन, कंगाल बनाउन जन्मेको हो’, बागमती प्रदेश सरकारलाई लक्षित गर्दै उनले भने‚ ‘सातवटा मन्त्रालय भए पुग्ने ठाउँमा १८ वटा बनाएका छन्। मन्त्रालय काम थपेका होइनन् खानलाई थपेका हुन्।’

ओलीले गठबन्धन सरकारले २४ लाख मात्रा कोरोनाविरुद्धको खोप क्याप्सुल निलेझैं निलेको आरोपसमेत लगाए। ‘अहिलेको गठबन्धनको सरकारले २४ लाख डोज भ्याक्सिन क्याप्सुल निलेझैं स्वाट्टै निल्यो’, ओलीले भने। उनले सरकारले चुनावका मुखमा अर्बौं रकम पर्ने औषधि र उपकरण कमिसन चाहिएर खरिद गर्न लागेको आरोपसमेत लगाए।

‘कुनै अस्पताल वा डाक्टरलाई आवश्यक परेर चलाउनको लागि होइन, कमिसन खान नपाएर खानको लागि अर्बौंको स्वास्थ्य उपकरण खरिद गर्ने काम हुँदैछ’, उनले भने। ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तिजस्तो अनुहार भएको भन्दै जति खाए पनि नपुग्ने खन्चुवा ऋषि अगस्तिका रुपमा टिप्पणी गरे।

उनले नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा पार्टीको सभापतिलाई भन्दा धेरै प्राथमिकता आफूलाई दिएकोसमेत ब्यंग्य बताए। ओलीले कांग्रेसको चुनावी घोषणापत्रमा कांग्रेस सभापतिको नाम ७ ठाउँमा र आफ्नो नाम ४२ ठाउँमा उल्लेख गरेको दाबी गरे। ‘नपत्याए घर गएर गन्नुस्, कांग्रेसले घोषणापत्रमा आफ्नै सभापतिको भन्दा मेरो नाम धेरै लेखेको छ’, उनले भने।

ओलीले माधव नेपालको नाम लिने बितिक्कै आफूले मुख कुल्ला गर्ने गरेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि व्यंग्य गरे। ‘माधव नेपालको त के कुरा गर्नु, उनको नाम लिइहालेँ अहिले मुख कुल्ला गर्छु’, उनको भनाइ थियो। ओलीले नेपालको पार्टीमा गएकाहरू झुक्किएर अंगेरि खान पुगेको भन्दै एमालेमा फर्किन थालेको दाबी गरे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग भरतपुरमा आफ्नो छोरीलाई मेयर बनाउन गरेको प्रस्तावमा एमाले सहमत नभएपछि कांग्रेससँग हात मिलाएको पनि उनको आरोप छ। ‘छोरीलाई मेयर बनाउनुपर्‍यो भन्दै आएका थिए‚ हामीले नमानेपछि कांग्रेससँग हात मिलाउन गए। प्रचण्डको जीवनमा छोरी, बुहारी, भाइहरू र आफ्नो व्यवस्थापनको चिन्ता मात्रै छ,’ उनले थपे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.