|

काठमाडौं : प्रकाशन बजारलाई थप चलायमान बनाउन नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन शुरु गरेको छ। यसका लागि नेपालयले चर्चित कवि श्रवण मुकारूङसँग सहकार्यको सम्झौता गरेको छ। 

नेपालयले शुरु गर्न लागेको यो कामलाई नेपालय ई-कविता नाम दिइएको छ। यसका संयोजक र क्युरेटर कवि मुकारूङ रहनेछन्। यो प्लेटफर्ममार्फत् कवि मुकारूङले आफ्नो लगायत अन्य नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्नेछन्।

साप्ताहिक रुपमा सार्वजनिक हुने कविताहरू नेपालयको पेजमार्फत् निर्धारित शुल्क तिरेपछि फोन र कम्प्युटरमा सीधै उपलब्ध हुनेछन्। हरेक कविता पढ्न पाउनुका साथै कविकै स्वरमा वाचनसमेत सुन्न सकिने व्यवस्था हुनेछ। नेपालयका अनुसार उक्त प्लेटफर्ममा सशुल्क र निःशुल्क हेर्न सुन्न सकिने कन्टेन्ट रहनेछन्।

शनिबारदेखि शुरु भएको प्लेटफर्ममा पहिलो दिनदेखि नै धेरै पाठक तथा स्रोता आकर्षित भएको नेपालयले जनाएको छ। विदेशमा रहेर पनि लेखन तथा पठनमा सक्रिय नेपाली साहित्य प्रेमीहरूलाई लक्षित गरेर यो अवधारणा अघि सारिएको नेपालयका अर्पण शर्माले जानकारी दिए।

नेपाली साहित्यमा यो नौलो कदम रहेको र यसले सिंगो क्षेत्रलाई नै माथि उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। ‘ई-कविता’को परिकल्पना, त्यही व्यावसायिक सेतु हो जसले पाठकसँग कविहरूलाई व्यावसायिक रूपमा प्रत्यक्ष सम्बन्ध गाँस्ने प्रयास गर्नेछ।  

आमा औंसीबाट शुरु भएको ई-कवितामा पहिलो दिन कवि गोपालप्रसाद रिमालको ‘आमा’ शीर्षकको प्रसिद्ध कवितालाई कवि श्रवण मुकारूङले वाचन गरेका छन्। यस शृंखलामा नेपालीभाषाका कविहरूका अप्रकाशित नयाँ सृजनाहरू साप्ताहिक रुपमा पढ्न र उनीहरूकै आवाजमा सुन्न पनि सकिनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.