|

काठमाडौं : सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने नयाँ नीति ल्याउने तयारी सरकारले गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाउन लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा अब सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।

यसका लागि मन्त्रालयले रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए। ‘हाल सरकारी अस्पताल भएका ठाउँमा निजी छन्, निजी भएका ठाउँमा सरकारी पनि छन्। अब हामीले रणनीतिमा निजी अस्पताल खोल्दा सरकारी अस्पताल नभएको ठाउँमा मात्र खोल्न दिने प्रावधान ल्याउने तयारीस्वरुप रणनीति बनाउन लागिएको छ‚’ उनले भने।

यसरी निजी अस्पतालले सरकारी अस्पताल नभएको ठाउँमा खोल्दा कर छुट दिने तथा सहुलियतसमेत दिइने उनको भनाइ छ। उनका अनुसार मन्त्रालयले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार हुने लक्ष्यसहित रणनीति तयार गरिरहेको छ।

स्वास्थ्य रणनीति तयार गर्न विभिन्न विज्ञ, संघसंस्था र सेवाग्राहीसँग सुझाव सङ्कलन गरिरहेको छ। गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन रणनीति तयार पारिरहेको पौडेलले बताए। हाल रणनीतिको मस्यौदा तयारी भइरहेको र आगामी साउनदेखि लागू हुने गरी मस्यौदा बनाइरहेको समेत उनले बताए।

‘अहिले हामी सुझाव सङ्कलनको चरणमा रहेका छौँ, पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य तथा शिक्षा समितिमा पनि रणनीतिबारे छलफल गर्नेछौँ‚’ उनले भने।

सङ्घीय संरचनाअनुरुप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाइने, स्वास्थ्य क्षेत्रको उपयोग गर्दा नागरिकमा पर्ने खर्च कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक र सहज पहुँच सुनिश्चित गर्ने, जनसङ्ख्या, बसाइँसराइ र बढ्दो शहरीकरण व्यवस्थापन गर्ने रणनीतिका उद्देश्य रहेका छन्।

महामारीभन्दा पनि अहिले नसर्ने रोग बढीरहेकाले रणनीतिमा नसर्ने रोगको रोकथाम र नियन्त्रणमा ध्यान दिइएको महाशाखाका प्रमुख डा पौडेलले बताए। उनले रणनीतिमा स्वास्थ्यमा लगानी बढाइ गुणस्तर स्वास्थ्य सबैको पहुँचमा पुर्‍याउने आवश्यकतासमेत रहेको बताए।

‘जनसङ्ख्यामा ज्येष्ठ नागरिकको बढ्दो अनुपात र कोभिड–१९ जस्ता अप्रत्याशित महामारी तथा स्वास्थ्य आपत्कालीन अवस्थाबाट सिर्जित स्वास्थ्य समस्यालाई पनि रणनीतिमा सम्बोधन गर्न स्वास्थ्यमा थप लगानीको आवश्यकता रहेको छ,’ उनले भने।

रणनीतिमा जनशक्तिको प्रक्षेपणअनुसार उत्पादन, दक्ष स्वास्थ्य जनशक्ति परिचालन, स्वास्थ्य अनुशासन र पर्याप्त आर्थिक लगानीको सुनिश्चिता उल्लेख छ। मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले नागरिकको स्वास्थ्यको गुणस्तर कसरी बनाउने भन्ने रणनीतिमा उल्लेख गरिएको बताइन्। रणनीतिले सबै नागरिकको स्वास्थ्य सेवाको गुणस्तर ल्याउने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.