‘पैदलयात्रा गराएर पठनपाठन सञ्चालन गरौँ’

|

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी विनिमय सञ्चिति बढाउन भन्दै दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरिसकेकाे छ। अब आगामी जेठ १ गतेदेखि लागू हुने गरि शनिबार र आइतबार शैक्षिक संस्थासहित सार्वजनिक कार्यालय बन्द हुँदै छन्।

तर यी निर्णयले विद्यालयकाे पठनपाठनमा भने प्रभावित पर्ने देखिएको छ। सार्वजनिक कार्यालय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्मको समय तोकिएको छ। शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विद्यालय भने बिहान साढे ९ बजेदेखि साढे ४ सम्म सञ्चालन गरिनेछ।

सरकारकाे यो निर्णयप्रति सरोकारवालाहरू असन्तुष्टि जनाएका छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘यो निर्णय अव्यावहारिक पनि होइन, व्यावहारिक पनि छैन, मिश्रित छ। यो निर्णयले बालबालिकाको पढाइमा भने समस्या हुन्छ।’

उनी यसको निर्णय स्थानीय तहबाट गर्दा राम्रो हुने बताउँछन्। ‘खासमा सरकारले विद्यालयलाई छाड्नुपर्ने थियो, यसरी बन्द गर्दा पाठ्यक्रम सकिँदैन, शिक्षण सिकाइमा अवरोध पुग्छ। गाउँघरमा गाडी हुँदैन, त्यस्तो ठाउँमा पढाउन दिनुपर्छ,’ उनले भने।

सरकारले तोकेको विद्यालय सञ्चालन समयमा विद्यार्थी पुग्न नसक्ने र अभिभावकलाई पनि मार पर्ने उनको भनाइ छ। ‘अझै पनि विकट ठाउँमा २/३ घण्टासम्म पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसैले भौगोलिक क्षेत्रअनुसार स्थानीय तहले निर्णय गरे सहज हुन्छ।’

स्कुल बन्द होइन, हिँडाएर पढाइ जारी राखौँ : शिक्षाविद्

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला दुईदिने बिदाले अरुलाई नभइ शिक्षकलाई मात्रै फाइदा पुग्ने तर्क गर्छन्। उनका अनुसार सरकारी कार्यालय बन्द भएपनि कर्मचारी बिदाको दिनमा कहीँ कतै घुम्न जान्छन्। निजी गाडीले तेल खर्च गर्छ।  

उनी भन्छन्, ‘यसो भएपछि आफ्नो पैसा नि खर्च हुने भयो, विद्यालयका हकमा साढे ९ बजे बालबालिका पुग्न सक्दैनन्,खाजाको व्यवस्था पनि गर्न सकिँदैन, बिदाको दिन विद्यार्थी अल्छी हुन्छन्, समयमा कोर्स पनि सकिँदैन।’

पछिल्लो समय जबरजस्ती करणीका घट्ना बढिरहेका छन्। त्यसो त दिनको साढे ४ बजेसम्म विद्यालय सञ्चालन गर्दा छात्रा असुरक्षित हुने उनी बताउँछन्। ‘गाउँघरमा विद्यालय टाढा छन्, यो समयसम्म पढेर घर फर्किँदा रात पर्छ, छात्रा असुरक्षित हुन्छन्, यसको सुरक्षा कसले लिने?,’ उनले भने।

पेट्रोलियम पदार्थको व्यवस्थापन नै गर्ने भए दुई दिन बिदा नभई यो बिदाको दिनमा विद्यार्थी सुरक्षित ढंगले पैदल यात्रा गराएर विद्यालय पुर्‍याएर पढाउनुपर्ने उनी सुझाउँछन्।

‘सरकारी कर्मचारी सार्वजनिक गाडीमा चढेर कार्यालय जाँदा भैहाल्छ नि, सरकारी गाडी नै चढ्न पर्दैन, यसो गर्दा सार्वजनिक यातायातमा सुधार आउँछ, १५ मिनेट जति हिँडाएर विद्यार्थी पुर्‍याउँदा हुन्छ,’ उनले भने। सवारीसाधन नचलाउँदा वातावरण सफा रहने र पेट्रोलियम बढी खपत नहुने उनको भनाइ छ। 

उनका अनुसार बालबालिका १५ मिनेट र ठूला बालबालिका ३० मिनेट हिँड्न पाउने अन्तरराष्ट्रिय जगतमा अधिकार छ। तर सडक संरचना सुरक्षित नहुँदा, सवारीसाधन हुइँकिएर बाटो नहिँड्दा यो अधिकार बालबालिकाले पाएका छैनन्। 

यसो भन्छन् निजी विद्यालय

निजी विद्यालय पनि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय मान्ने पक्षमा छैनन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष डिके ढुंगाना यो निर्णय सच्याउनुपर्ने माग गर्छन्। जेठ १ बाट निर्णय मान्ने नमान्नेमा छलफल गरेर निर्णय सार्वजनिक गर्ने उनले जानकारी दिए।

‘निजामति कर्मचारीकाे लागि यो बिदा ठिकै होला, तर यसरी बिदा दिएर समयमा कोर्स सकिँदैन, शैक्षिक क्यालेन्डर नै व्यवस्थापन गर्न समस्या पर्छ। सामुदायिक विद्यालयमा औंलाले गन्न सकिने गाडी छन्, बढी निजीमा छन्,’ उनले भने।

उनका अनुसार देशभरि निजी विद्यालय १० हजार छन्। २८ हजारभन्दा बढी सरकारी स्कुल रहेको शिक्षा मन्त्रालयले जनाएको छ। 

‘बिदाबारे फेरि छलफल गर्दै छौँ’

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बिदाबारे फेरि छलफल गरिरहेको र छिट्टै निर्णय लिने बताए।

‘विद्यालय क्षेत्रमा लगाएको बिदाबारे छलफल चलेको छ, के गर्ने भन्ने निर्णय आउँछ,’ उनले भने। मन्त्रालयका सह-प्रवक्ता धनबहादुर श्रेष्ठले पनि केही क्षेत्रमा लगाएको बिदा सच्चिन सक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.