|

काठमाडौं : अप्रिल १४ मा प्रदर्शन हुने भनिएको बलिउड फिल्म 'लाल सिंह चड्ढा' सरेर अगस्टमा पुग्यो। त्यही मितिमा प्रदर्शन हुने भनिएको 'जर्सी' पनि प्रदर्शनको तीन दिनअघि निर्माताले एक हप्ता पछाडि सार्ने निर्णय गरे। यसको एउटै कारण थियो 'केजिएफ च्याप्टर २'। 

त्यति मात्रै होइन केजिएफको प्रदर्शनअघि जुन क्रेज थियो, फिल्म प्रदर्शनमा आएपछि अझ बढेर गयो। ९० देखि सय प्रतिशतसम्म शो पाएको फिल्म रिलिज भएपछि बिहान १/२ बजेदेखि राति ११/१२ बजेसम्म पनि शो राखियो। र‚ थपिएका शो पनि हाउसफुल भए। फिल्मले धेरै हलहरूलाई २४ सै घण्टा जागा राख्यो।

'केजिएफ २' प्रदर्शनमा आएपछि तीन हप्ताअघि प्रदर्शनमा आएको बिग बजेट फिल्म 'आरआरआर'को आक्रामक प्रदर्शनीमा ब्रेक लाग्यो। बक्स अफिसमा केजिएफले एउटा तुफान नै ल्यायो। एक हप्तापछि प्रदर्शनमा आएको शाहिद कपूर अभिनीत 'जर्सी' त्यही तुफानमा पर्‍यो। 

'केजिएफ २' अहिले तेस्रो हप्तामा पनि सबैभन्दा धेरै शो र सबैभन्दा धेरै दर्शकको चापका साथ प्रदर्शनमा आइरहेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएका 'हिरोपन्ती २' र 'रनवे ३४' ले लगानी सम्म पनि सुरक्षित गर्ने हुन् कि होइनन् भन्नेमा धेरैले आशंका गरिरहेका छन्। त्यसको कारण पनि 'केजिएफ २' लाई नै मानिएको छ। 

फिल्मले अहिलेसम्म विश्वभरिबाट एक हजार करोड (भारू) भन्दा बढी रकम कलेक्सन गरिसकेको छ। योसँगै सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो नम्बरमा उक्लिएको छ। त्यस्तै फिल्मले हिन्दी डबबाट मात्रै साढे ३ सय करोडमाथिको कमाइ गर्दै हिन्दी बक्स अफिसमा तेस्रो ठूलो फिल्म बनेको छ। 

नेपालमा पनि 'केजिएफ २' को क्रेज ऐतिहासिक थियो। नयाँ वर्षको अवसर पारेर वैशाख १ देखि प्रदर्शनमा आएको नेपाली फिल्म 'ए मेरो हजुर ४' का लागि पनि 'केजिएफ २' ठूलो अवरोध बनेर खडा भएको थियो। 'ए मेरो हजुर ४'ले लगानी सुरक्षित गरेर मुनाफामा गएको भए पनि बक्स अफिसमा 'केजिएफ २' ले प्रत्यक्ष असर भने गरेको थियो।

नेपालमा 'ए मेरो हजुर ४'ले ६ करोड आसपासको कमाइ गरेकाे छ। 'केजिएफ २' ले १८ करोडभन्दा बढी कमाइ गर्दै नेपाली बक्स अफिसमा सबैभन्दा बढी कमाइ गर्ने तेस्राे फिल्म बनेकाे छ भने काेराेनाकालपछि सबैभन्दा बढी कमाउने फिल्म पनि 'केजिएफ २' नै हाे। 'ए मेरो हजुर ४' हलबाट उत्रिने अवस्थामा छ भने 'केजिएफ २' अझै पनि सर्वाधिक शोका साथ प्रर्दशन भइरहेको छ। 

यतिवेला नेपाली फिल्म हलमा सबैभन्दा धेरै शोका साथ प्रदर्शन भइरहेको 'केजिएफ २' ले बलिउड फिल्म 'हिरोपन्ती २' र 'रनवे ३४' लाई जस्तै शुक्रबार प्रदर्शनमा आएको 'मन्त्र'लाई पनि असर पारेको छ। 

शुक्रबार प्रदर्शनमा आएको नेपाली फिल्म 'मन्त्र'ले अन्य ३ फिल्मसँग स्क्रिन बाँड्नु परेपछि न्यून शोका साथ प्रदर्शन भएको थियो। हिमाली भेगको प्रेम कथामा आधारित फिल्मले सबैबाट प्रतिक्रिया त सकारात्मक पाएको छ तर बक्स अफिस कलेक्सन भने अपेक्षित रुपमा राम्रो हुन सकेको छैन। फिल्मले पहिलो तीन दिनमा ६० देखि ६५ लाखको कारोबार गरेको छ। 

यतिवेला 'केजिएफ २' पछि सबैभन्दा धेरै शो पाएको बलिउड फिल्म 'हिरोपन्थी २' मा पनि दर्शकको चाप न्यून छ। टाइगर श्राफको डेब्यू फिल्म 'हिरोपन्थी'को सिक्वेलको रुपमा बनेको 'हिरोपन्ती २' को कमाइ दोस्रो दिनदेखि नै ओरालो लाग्न शुरु गरेको थियो। सन् २०१४ मा प्रदर्शनमा आएको हिरोपन्ती व्यावसायिक रुपमा सफल फिल्म हो। 

प्रतीक्षित हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस' प्रदर्शनमा आउने बेलासम्म बक्स अफिसमा 'केजिएफ २' कै राज चल्ने देखिएको छ। यद्यपि त्यसपछि 'केजिएफ २' को राज नचल्ने निश्चित छैन। तर बक्स अफिसमा रोचक दृश्य देखिने भने निश्चितप्रायः छ।

शुक्रबारदेखि 'डक्टर स्ट्रेन्ज' प्रदर्शनमा आउँदै छ। सोही मितिमा दुई वटा नेपाली फिल्म 'षटकोण' र 'लक्का जवान' पनि प्रदर्शनमा आउँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.