आयोग भन्छ - सचेत छौँ, आचारसंहिता उल्लंघन भए छोड्दैनौँ

|

काठमाडौं : नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित चर्चामा आइराख्ने व्यक्ति हुन्। उनीमाथि लागेको ठूलै आरोप किन नहोस्? उनले हल्का रूपमा लिइदिन्छन्। 

उनीमाथि यौन दुर्व्यवहारको आरोप पनि यसअघि नलागेको होइन। तर, त्यो कुरा उनी स्वीकार्न तयार छैनन्।  

उनले उम्मेदवार दर्ता गराएपछि भनेका थिए, ‘आजकल यो पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन। मेरो अरू भनाइ छैन। बेलाबेलामा यो इस्यु उठ्छ। त्यसमा मेरो भनाइ केही पनि छैन। विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि।’

उनले काठमाडौं महानगरपालिकामा मेयर हुँदा २ युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। महानगरपालिकाकी पूर्व-कर्मचारी र एक पत्रकारले स्थापितले आफूहरूलाई यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाएका थिए। स्थापित २०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। 

त्यसो त आइतबार पनि मेयरका उम्मेदवार स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति अराजनीतिक टिप्पणी गरेका छन्। 

‘एउटा फुच्चे भन्ने बालेन शाह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ। म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ क्या बालेन शाह। हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेनछ, मधेशतिरको शाह रहेछ। सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ?' स्थापितको भनाइ छ। 

उम्मेदवारी दर्ता गरेपछि पनि उनी पटक-पटक विवाद आइसकेका छन्। यसअघि पनि धुम्बाराहीमा आयोजितक एक कार्यक्रममा चकाचर्की नै परेको थियो। यौन दुर्व्यवहारसम्बन्धी नेसनल कलेजकी विद्यार्थी भावना राउतले सोधेको प्रश्नमा स्थापितले भनेका थिए, ‘यू आर नाइस लेडी। तर थुतुनो राम्रो भएन।’ 

स्थापितको यो भनाइ सामाजिक सञ्जालमा समेत भाइरल भयो। त्यही विषयमा आयोगले स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफसहितको पत्र काटेको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले थाहाखबरलाई बताए।

स्थापितको अभिव्यक्तिबारे पत्रपत्रिकामा देखेपछि कारण सत्य के हो? भनेर बुझ्न पत्र काटेको उनको भनाइ छ। 

तिलोत्तमाबाट कारबाही गरेर देखाउन आयोगलाई चुनौती 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहितालाई कडाइ गर्नेमा पहल गरिरहेको छ। तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे भने आफूले आचारसंहित उल्लघन गरेको स्वीकार्दै कारवाही गर्न आयोगलाई चुनौती दिन भ्याए।  

‘मैले निर्वाचन आचार–संहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ’ उनको भनाइ छ। 

उनले आफू एमाले कार्यकर्ता र नगरप्रमुख पनि भएको बताए। आफूलाई पार्टीले जिम्मा दिएपछि निर्वाचन परिचालन कमिटीमा बसेको बताए। 

उनले सबै जनप्रतिनिधीको हकमा नियम एकै हुनुपर्ने उनको बुझाइ छ। 

भरतपुरमा गृहमन्त्रीको रमिता

स्थानीय तहको निर्वाचनमा आकर्षणको केन्द्र बनेको भरतपुर महानगरमा उम्मेदवार फकाउन गएको बिषयमा गृहमन्त्री बालकृष्ण खाँणलाई समेत आयोगले नोटिसमा राखेको छ। 

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रेनु दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाँण चितवन पुगेका थिए। 

स्वतन्त्र उम्मेदवारलाई प्रभावित पार्न राज्य शक्ति परिचालन भएको भन्दै निर्वाचन आयोगले ध्यानकर्षण गराएको थियो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री खाँण आयोगको नोटिसमा रहेको बताएका थिए। 

‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसाबमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसावले मन्त्रीज्यूहरू नै गएको भन्ने जुन कुरा छ। पकै पनि आयोगको ध्यानाकर्षण भएको छ’ उनको भनाइ थियो।​

मतदाताको पाउमा हजारका नोट

त्यसो त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोगेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। एक हजार रुपैयाँ राखेर भोट मागेको भाइरल भएपछि उनले त्यसको बचाउ गरेका छन्। 

उनले कुनै मतदातालाई पैसा राखेको नभई आफ्नी फुपूलाई आशीर्वाद लिनको लागि खुट्टामा पैसा राखेर ढोग गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।

नियम मिचे कारबाही गर्छौं : आयोग 

निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारले आचारसंहिता उल्लंघन  गर्दै गर्दा निर्वाचन आयोग भने नियम मिचिय कारबाही गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल बताउँछन्। 

उनी भन्छन्, ‘आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले राम्रोसँग हेरिरहेको छ। आचारसंहिताविरुद्ध जानेलाई हामीले कानुन अनुसारको कारवाही गछौँ।’ 
आचारसंहिता पालना नर्गेहरूलाई आयोगले स्पष्टिकरण सोधेर कारबाही गरिरहेको समेत बताए। 

उनले भने, ‘आचारसंहित उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी नेकपा एमालेदेखि कांग्रेस नेता शशांक कोइरालासमेतलाई सचेत गराइएसकेका छौँ। आचारसंहिताको उल्लघन गर्ने सबैलाई हामी कारवाही गछौँ।’ 

उनले उम्मेदवारले आचारसंहिता विपरित गए उम्मेदवारको उम्मेदवारीसमेत रद्द गर्नसक्ने चेतावनी दिए। 

यस्तै, आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले पनि व्यक्तिगत लान्छना लगाउनेविरुद्ध कारबाही गर्ने कडा चेतावनी दलहरूलाई दिएको बताए। 

उनले भने, ‘उम्मेदवार तथा व्यक्तिगत चरित्र हत्या हुने व्यक्तिगत लान्छाना लगाउने र गलत सामाग्री सामाजिक सञ्जालमा पोष्ट गर्ने हुँदा निर्वाचनको समेत नगर्न नराउन कडा चेतावनी दिएको छ।’

स्थापितको अभिव्यक्ति आचारसंहिता विपरित भएको कारणले आयोगले स्पष्टिकरण सोधेको उनले बताए। 

‘आचारसंहितको दफा केलाएर हेर्दा त्यसरी अभिव्यक्ति दिने आचारसंहित विपरित छ। हामीले २४ घण्टाको समय दिएका छौँ, निर्वाचन कसुर तथा सजायले हेर्दा हाम्रो सिस्टमलाई कमजोर बनाउँदै लाने आसयले नैतिक पक्षले जोडिएको कुरा सोधेका छौँ’ उनले भने। 

निर्वाचनको गुणस्तरीयतालाई खस्काउने नकारात्मक धारणालाई मेन्टेन गर्नेगरी प्रश्न गरेको बताए। गम्भिर खालको कानुनी र नैतिक पक्षलाई हेरेर स्पष्टिकरण सोधेको बताए। 

उनले भने, ‘कसैले आचारसंहित उल्लंघन गर्छु भनेर आयोगलाई चुनौती दिइराख्नुभएको छ। उहाँहरूले उल्लंघन गरेको प्रमाणसहित आए कारवाही गछौँ। भनाइ र गराइमा फरक हुनसक्छ। तर, त्यहाँ भनाइजस्तै भएपनि हामी थप कदम चाल्छौँ।’

मन्त्रीहरूको बिषयमा पनि आयोगले ध्यानाकर्षण भइरहेको थप कदम चाल्ने बताए। 

‘दलहरू नै जिम्मेवार बन्नुपर्छ’

निर्वाचन आचारसंहितालाई कार्यान्वयन गर्न राजनीतिक दलहरू नै जिम्मेवार बन्नुपर्ने पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव बताउँछन्। 

उनी भन्छन्, ‘पछिल्लो समय आचारसंहिता पालना अफ्ठ्यारो विषय बनिरहेको छ। पूर्ण पालना गराउन आयोगलाई अफ्यारो परेको छ। कानुनमा त व्यवस्था छ। तर, कसैले पनि कार्यान्वय गरेको पाइँदैन।’

निर्वाचन आयोगले निश्चित सीमाभित्र खर्च गर्न पाउने व्यवस्था गरेको भए पनि सीमामा कहिल्यै सीमित नहुने बताए। नेताहरूको भनाइ राजनीतिक र व्यक्तिगत भएकाले त्यसमा टिप्पणी गर्नुको अर्थ नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.