|

विराटनगर : धेरैले शिक्षक र माझी उस्तै हो, अरुलाई तार्दै आफू उही किनार र चक डस्टरमै रहन्छ, भन्छन्। यस्तै कयौँ विद्यार्थीलाई शिक्षाको उज्यालो छर्दै गन्तव्यसम्म माझी बनेर तार्ने दिलप्रसाद राई (डीपी) चक र डस्टर छोडेर फरक गन्तव्यमा पुग्न आफैँ परीक्षाको तयारीमा छन्।

अर्थात् उनी आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बेलबारी नगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन्।

०४३ साल देखि शैक्षिक क्षेत्रमा आवद्ध रहेका राईसँग २५ वर्षको प्रधानाध्यापक भएकाे अनुभव छ। अन्य चुनावी प्रचारप्रसारमा आफ्नो पार्टीका अरु नै उम्मेदवार लिएर जनताको घरदैलोमा पुग्ने राई यो पटकको निर्वाचनमा भने उनी आफैँ उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका छन्।

शिक्षण पेसामा आवद्ध रहँदा  बेलबारीका जनताको मनमस्तिष्क र यहाँका समस्यालाई आफ्नो समस्या जस्तै गरेर बुझ्दै आएको बताउने उनलाई जनताले कुन आधारमा भोट दिने भन्ने विषयमा रहेर थाहाखबरकर्मी सुजता लिम्बूले गरेको कुराकानी।

१. निर्वाचनको समय ११ दिन मात्रै बाँकी छ कसरी तयारी गर्दै हुनुहुन्छ?

घरदैलो कार्यक्रम लिएर बेलबारीवासी जनताको बीचमा पुगेको छु। बेलबारीका जनताहरुले भित्र हृदय र भावनादेखि नै मेरो उम्मेदवारीमा खुशी व्यक्त गरिरहनुभएकाे छ।

२. यो तपाई आफ्नो व्यक्तिगत अनुभूति होला, हैन?

होइन, यो बेलबारीका जनताले म प्रति गरेको भरोसा हो र उहाँहरुले तपाई ढुक्क रहनुहोस्, तपाईंलाई हामी जसरी पनि जिताएर पठाउछौँ  भनेर खुशी व्यक्त गर्नुभएको छ। नेकपा एमालेले मलाई उम्मेदवारी दिएकाले सबै जनता उत्साहित भएकाे पाएकाे छु।

३. तपाईलाई मेयरको टिकट पाउन निक्कै सकस पर्‍यो रे नि ?

टिकट पाउनु एउटा कुरा रह्यो। हाम्रो पार्टीमा कार्यकर्ताहरुको कमी छैन। जसमा सक्षम योग्य कार्यकर्ता रहेका छन्, त्यसमा अलिअलि आन्तरिक  प्रतिस्पर्धा त भइहाल्छ। यद्यपि पार्टीको निर्णयलाई मानेर बेलबारीका सबै साथीहरु चुनावी अभियानमा सामेल हुनुहुन्छ।

४. तपाईलाई पार्टीले त विश्वास गरेर नगर प्रमुखको टिकट दियो तर, जनताले विश्वास गर्ने आधार के छन्?

बेलबारीका आम जनता विशेष गरी गरिबीको रेखामुनि रहेकाहरु मेरो पहिलो प्राथमिकतामा पर्छन्। विपन्न परिवारका छोराछोरीका लागि शिक्षा क्षेत्रमा यहाँ धेरै समस्या छ। ती समस्याको हल गर्ने विधिहरु म सँग छन्। जनताको समस्यालाई समाधान गर्दै जनताको स्तर वृद्धि गर्ने र उनीहरुको क्षेत्रमा रहेका समस्या र शैक्षिक क्षेत्रमा सबै विद्यालयहरुको स्तरोन्नति कसरी गर्ने, उनीहरुलाई रचनात्मक र सृजनशील कसरी बनाउने सबै याेजना मसँग छन्।

मैले शैक्षिक क्षेत्रमा काम गरेको छु। जनताले सधैँ भोट दिन्छन् तर राम्रा अवसरहरु सम्पन्न वर्गले मात्र लिएको अवस्था छ। त्यसैले धेरै अवसर हामीले गरिबीका रोखामुनि रहेका जनताहरुलाई पुर्‍याउने हो, त्यो कार्यक्रम म दिनसक्छु, त्यो हाम्रो पार्टीको  घोषणापत्रमा पनि छ।

कृषि क्षेत्रमा हेर्ने हो भने जो सामान्य कृषक छन्, एक कठ्ठा, दुई कठ्ठामा सब्जी खेती गर्छन्, उनीहरुलाई अझ त्यसको निम्ति तालिम चाहिन्छ वा चाहिँदैन त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कार्यक्रम छ।

कतिले कुखुरा पालन गरेका छन्। कसैले गाईपालन गरेका छन्। उनीहरुलाई आवश्यक तालिम र प्रविधिको व्यवस्थापन कसरी गर्ने, बालिविज्ञानका लागि चाहिने प्राविधिक व्यवस्थापन कसरी गर्ने, पशुविज्ञानको निम्ति चाहिने प्राविधिकहरुको व्यवस्थापन कसरी गर्ने, गरिबीको रेखामुनि रहेका नानीहरुको लागि स्वास्थ्य व्यवस्था कसरी गर्ने भन्ने कार्यक्रम नगरपालिकामा ल्याउन सक्नुपर्छ। जुन धारणा मसँग छ।

उनीहरुलाई निरन्तर विद्यालय आउने वातावरण पनि कार्यक्रममा ल्याउनुपर्छ। बेलबारीका जनता यो मानेमा पनि आशावादी छन्। वेलवारी नगरपालिका पर्यटकीय हिसाबले, पर्यावरणीय हिसाबले, यहाँको पानीको महत्वका हिसाबले सबैभन्दा राम्रो नगरपालिका हो तर, यस्को व्यवस्थापन त्यतिकै चुनौतिपूर्ण छ। त्यो तर्फ पनि हामीले ध्यान दिनुपर्छ।

बेरोजगारीहरुलाई कसरी रोजगार दिने, उत्पादन क्षेत्रमा कसरी लगाउने भन्ने कुरा। युवाहरुकाे कृषि क्षेत्रमा आकर्षण छैन। युवाहरुलाई कसरी कृषिमा आकर्षण गराउने भन्ने कुराहरु छन्। यहाँ साना घरेलु उद्योगमा कसरी आकर्षक गर्ने। मदजुरहरुका समस्या, आदिवासी, धिमाल, खवास, राजवंशी क्षेत्रका युवाहरु धेरै श्रमिक रहेका छन्, उनीहरुको जीवनको सुरक्षा देखि लिएर हाम्रो यो अधिकार छ भन्ने सचेतना स्तर उकास्ने वा उनीहरुलाई चेतनाको अवसर दिन सक्नुपर्छ।

म शिक्षाको आधार र वर्गीय उठानका लागि अगाडि बढेको छु, यही हो मलाई जनताले विश्वास गर्ने आधार।

५. तपाई एक समय भूमि आयोगकाे नेतृत्वमा पनि हुनुहुन्थ्यो, याे हिसाबले बेलबारी नगरपालिकामा रहेको भूमि समस्यालाई कसरी समाधान गर्नुहुन्छ?

१७ वटा पालिका मध्ये १४ वटा पालिकाको ६६ हजार ४ सय १७ परिवारले भूमि प्रयोग गरेका छन्। एक खालकाे भूमि प्रयोग भएको छ तर दर्ता भएको छैन। अव्यवस्थित रुपमा प्रयोग भइरहेको छ यसलाई राज्यले लिनसक्ने राजश्व पनि लिन पाएको छैन। त्यो व्यक्ति त्यो भूमिको मालिक पनि बन्न पाएको छैन।

अहिले हाम्रो देशले व्यवस्था गरे अनुसार भूमिलाई सम्पत्तिको रुपमा हरेक मान्छेले पाउने त्यो अधिकार पनि पाएको छैन। बेलबारीको यो एक खालकाे समस्या छ। अर्को समस्या पुर्खौं पुर्खा देखि उसको नाममा एक धूर भूमि छैन उनीहरु भूमिहीन सुकुम्बासी भए। नेपालको संविधान २०७२ ले हरेक भूमिहीनहरुलाई एकपटक भूमिको मालिक बनाउने भन्ने थियो तर पनि त्यो अनुसार काम हुन सकेको छैन।

भूमिहीन दलितहरुलाई भूमिको मालिक पनि बनाउन सकेको छैन। भूमिहीन सुकुम्बासीलाई एक कठ्ठा  भए पनि वा दश धूर, पाँच धूर भए पनि जमिन दिन सकेको छैन। भूमि पर्याप्त छ तर अव्यवस्थित छ। स्थानीय सरकारको आफ्नो अधिकार हुन्छ, प्रदेश सरकारको आफ्नो अधिकार हुन्छ। त्यो अधिकारको क्षेत्र भित्र रहेर भूमिहीनहरुको समस्याको समाधान गर्न सक्नुपर्छ।

बेलबारीको अर्को समस्या चिसाङ र लोहोन्द्रा खोलाकोमा छ। चिसाङ खोला र लोहोन्द्रा खोला तटबन्धनको कार्य अस्थायी छ। त्यसको विधि मिलेको छैन। भूमिहीन समस्या पनि अस्थायी तरिकाले गर्ने खोला कटान पनि अस्थायी किसिमले गर्ने। एक पटक समस्या समाधान गरिसके पनि लामो र दिगोपन हुनेगरी गर्नुपर्छ। तमामरुपमा भएका समस्याको समाधान हाम्रो पार्टीको घोषणापत्रमा उल्लेख छ र म त्यसकाे कार्यान्वयन गर्छु।

६. घोषणापत्रमा उल्लेख भए अनुसार बेलबारीबासीको समस्या समाधान गर्छु भन्नेमा कत्तिकाे विश्वस्त हुनुहुन्छ ?

म २०३३ सालदेखि तराईमा बसेको मान्छे, त्यतिबेला देखि ०४५/०४६ को आन्दोलनमा पञ्चायती व्यवस्था समाप्त भयो। त्यो भन्दा अगाडि तराईको कुनै पनि बाटोमा बर्खा लाग्यो हिलो, हिउँद लाग्यो धुलो हुन्थ्यो, पञ्चायती व्यवस्थामा बालुवामा खोला थिएन र? त्यो बालुवा उठाएर बाटो बनाउँदा अलिकति स्तर वृद्धि हुन्छ भन्ने चेतना पञ्चायतीकालमा थियो र? विकासको अवधारणा  नेकपा एमालेले त्यसबेला देखि खुलायो।

नेकपा एमालेको सरकार ०५१ सालमा बन्यो त्यो भन्दा अगाडि वृद्धवृद्धा थिएनन् र? उनीहरुको संरक्षणको लागि कुन पार्टीले के गर्‍यो? लोककल्याणकारी राज्यव्यवस्थामा गरिनुपर्ने कुराहरु स्वास्थ्य, शिक्षा, वृद्धवृद्धा, अशक्तको संरक्षक सरकार हो। जुन समय एमालेको सरकारले गरेको थियो। यी विविध उदाहरणले पनि सबै कुराहरु गर्न सकिन्छ र म गर्न सक्छु।

नारामा मात्रै होइन। इच्छाशक्ति, पारदर्शीता र अनुशासन भए काम गर्न सकिन्छ र म काम गर्न सक्छु भन्नेमा विश्वस्त पनि छु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.