सुदूरपश्चिमका सबै जिल्लामा पुग्यो मतपत्र

|

धनगढी : अहिले देशै निर्वाचनमय छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहोल सुदूरपश्चिममा पनि तातेको छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेकाहरूलाई चुनाव चिह्न पनि प्रदान गरिसकेको छ।

राजनीतिक दलहरूसँगै विभिन्न पदका उम्मेदवार अहिले भोट माग्नमा व्यस्त छन्। तर दल तथा उम्मेदवारहरू आचारसंहिता कार्यान्वयनमा भने चुकिरहेको देखिएको छ। घरदैलो अभियान सञ्चालन गरिरहेका उम्मेदवारलाई भने निर्वाचन आचारसंहिताले छोएको देखिन्न।

अधिकांश पार्टी तथा उम्मेदवारहरू चुनाव प्रचारप्रसारको सवालमा नियम उल्लंघन गरिरहेका छन्। तर राजनीतिक दलहरू भने यो स्वीकार्न तयार छैनन्। नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव केशव मिश्रले आचारसंहिता पालना गरेको दाबी गरे। ‘यस सम्बन्धमा निर्वाचन आयोगले हामीलाई कुनै निर्देशन दिएको छैन,’ उनले भने, ‘हाम्रो पार्टीले सबै कमिटीलाई आचारसंहिताको पालना गर्न भनेको छ।’

नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापाले पनि आफ्नो पार्टीले आचारसंहिता उल्लंघन नगरेको जिकिर गरे। ‘हामीले नियम उल्लंघन गरेका छैनौं। अरुले गरेको विषयमा हामी जिम्मेवार किन हुने? हाम्रा सबै तहलाई आचारसंहिताको पालना गर्न निर्देशन दिएका छौं,’ उनले भने।

विशेषगरी कैलालीसहित प्रदेशका विभिन्न जिल्लाहरूमा पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा मत माग्ने, माइकिङ गर्ने, विभिन्न स्थानमा पर्चा टाँस्ने, पार्टीका झण्डा झुण्ड्याउने, टि–सर्ट छाप्नेलगायत कामहरू राजनीतिक दल तथा उम्मेदवारले गरिरहेका छन्।

यस्तै दलहरूले प्रचारमा भारतीय सवारी प्रयोग र बालकालिकाको प्रयोग पनि गरिरहेको देखिएको छ। तर निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा यो सबै गर्न नपाइले उल्लेख छ।

आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन भए/नभएको विषयमा अनुगमन तथा छानबिन गर्न समिति गठन गरिएको छ। प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृत, सुरक्षा निकाय लगायतको सहभागितामा उक्त समिति गठन गरिएको हो।

आचारसंहिता उल्लंघन गरेको भेटिएमा उक्त समितिले आवश्यक छानबिन गरि कारबाही गर्ने बताइएको छ। तर जिल्लामा नियम उल्लंघन हुँदा पनि ती समितिहरू मौन छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोग पनि यस विषयमा गम्भीर बनेको छैन।

तर कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु भने यस विषयमा अनुगमन भइरहेको बताउँछन्। ‘सबै पालिकामा अनुगमन समिति छ। त्यो समितिले निगरानी बढाएको छ। कतैबाट उजुरी परे पनि हामी कारबाही गर्छौं,’ उनले भने।

निर्वाचन आयोगल तोकेको खर्च हद र उम्मेदवारले गर्ने खर्चमा पनि जमिन र आकाशको अन्तर देखिएको छ। उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ५ लाख ५० हजार, नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ४ लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि ३ लाख ५० हजार खर्चको हद तोकिएको छ। तर उम्मेदवारले भने मनपरी रुपमा खर्च गरिरहेका छन्।

सुदूरपश्चिमका सबै जिल्लामा पुग्यो मतपत्र 

स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिमका सबै जिल्लामा मतपत्र ढुवानी गरिएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीले सुदूरपश्चिमका ९ जिल्लामै मतपत्र ढुवानी भइसकेको जानकारी दिएको छ। निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो।

९ वटै जिल्लाका सदरमुकाममा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगिसकेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए। ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदानका सामाग्री पुर्‍याइएको छ,’ उनले भने, ‘अब मतदान अधिकृतको तालिमपछि निर्वाचनका सामाग्री मतदान केन्द्रमा पठाइनेछ।’

भट्टका अनुसार २२, २३ र २४ गते मतदान अधिकृतको तालिम छ। ‘तालिमपछि सुरक्षाकर्मीसहित मतदान केन्द्रमा खटाइएका कर्मचारीलाई मतदानका सामाग्रीसँगै पठाइनेछ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.