|

काठमाडौं : ​जौको सातु र सर्वत दान गरेर र खाएर मंगलबार अक्षय तृतीया पर्व मनाइँदैछ।

पानीमा सख्खर चिनी वा मिस्रीमध्ये एक हाली  ल्वाङ, सुकुमेल, दालचिनी र मरिचजस्ता मसला राखेर सर्वत तयार गरिन्छ। कतैकतै सातु र सर्वतसहित खुदो र  मह पनि खाने चलन छ। यही सर्वत र जौको सातु दान गर्ने र आफू पनि खाने अक्षय तृतीयाको विधान हो।

 स्वास्थ्यका दृष्टिले सातु र सर्वत

अक्षय तृतीयामा सेवन गरिने यी खाद्यवस्तुले  गर्मी याममा शरीरलाई स्वस्थ राख्न र पानीको मात्रा धेरै बनाउन मद्दत पुर्‍याउने आयुर्वेदको मान्यता छ। मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी जौको सातु स्वास्थ्यका लागि अन्य खाद्यवस्तुभन्दा उत्तम मान्छन्।

‘अहिलेको समयमा मानिस चिल्लो, पिरो र मसलादार खानेकुरामा जोड दिन्छन्’, उनी भन्छन्, ‘सातु–सर्वतजस्ता शास्त्रमै उल्लेख भएका खाद्यवस्तुले मानव स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ।’  उनका अनुसार थोरै सातुले पनि शरीरलाई उर्जा दिन्छ। ‘गर्मीयाममा सर्वत खानु भनेको पानीको मात्रालाई मिलाउनु पनि हो’, उनी भन्छन्, ‘गर्मी महिनामा पानी सोसेर जाने हुँदा सर्वत जस्ता पेय पदार्थको विशेष महत्त्व छ।' 

धार्मिक मान्यता

अक्षय फलप्राप्ति हुने कामनासहित यो दिन  सातु र सर्वतसहित छाता लौरो र जुत्तालगायत वस्तु दान गर्ने चलन पनि छ। गच्छेअनुसार अत्रदान, गौदान, भूमिदान र सुनदानको पनि महत्त्व छ। शास्त्रीय विधानअनुसार दियो कलश र गणेश पूजा गरी अष्टदल लेखेको तामाको थालीमा ब्रह्मा–विष्णु–महेशको पूजा गरिन्छ।

पुराणका अनुसार यो दिनमा गरिएका सबै सत्कर्मको अक्षय पुण्य प्राप्त हुन्छ। जप, तप, होम, यज्ञ लगायत कुनै पनि शुभ कार्य गर्न अक्षय तृतीयाका दिनलाई उत्तम मानिन्छ। वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्ननाशक दिन’ पनि भनिन्छ। यो दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातु–सर्वत खुवाउने चलन छ। धार्मिक दृष्टिले पुण्यका साथै सुस्वास्थ्य र परोपकारका दृष्टिबाट यो दिन उपयोगी र महत्वपूर्ण मानिन्छ। 

ज्योतिषीय मान्यताअनुसार वर्षभर विभिन्न विशेष योग पर्छन्। तीमध्ये एउटा महायोग हो, अक्षय तृतीया। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्छ। हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्त छन् ती मध्ये एक हो ‘अक्षय तृतीया’। अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नहुने अर्थात् सधैँ स्थायी रहने। 

भनिन्छ यस शुभ तिथिमा गरिएका दान-पूजन-हवन वा कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ। यो एक स्वयंसिद्ध मुहूर्त हो। यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो।

सनातन वैदिक धर्ममा यो पर्व देवाधिदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको दिनको रूपमा परिचित छ। कतिपयले यो दिन अन्य शुभकर्मजस्तै विवाह गर्न पनि साइत हेरिरहनुनपर्ने विश्वास गर्छन्। पञ्चांग निर्णायक समितिबाट स्वीकृति लिएका पात्रोमा आज विवाहको साइत रहेको उल्लेख छ। नवदम्पतीलाई अक्षय तृतीयामा सातु सर्वत दान गरिन्छ। 

पुराणका कुरा

भगवान् विष्णुले परशुराम अवतार लिएकाले यो दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ। परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ। अष्टचिरञ्जीवीमध्ये परशुराम पनि एक हुन्। उनको आयुको क्षय नभएकाले यो तिथिलाई चिरञ्जीवी तिथि पनि भनिन्छ। 

चार युगमध्ये सत्य र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको बताइन्छ। यसकारणले यस तिथिलाई ‘युगादि तिथि’ पनि भनिन्छ। चार धाममध्ये एक बद्रीनाथधामको ढोका अक्षय तृतीया तिथिकै दिन खोलिन्छ। 

वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए। कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ। भगवान् नारायण हयग्रीवको जन्म यही तिथिमा भएको पुराणमा उल्लेख छ। अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलवृद्धि हुन्छ भन्ने मान्यता छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.