|

संखुवासभा : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पाँचदलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच रस्साकस्सी हुने देखिएको छ। जिल्लामा गठबन्धनका कारण एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन देखिन्छ।

२०७४ को निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो बनेको नेकपा माओवादी केन्द्र र चौथो बनेको तत्कालीन संघीय समाजवादी फोरम एकै ठाउँ हुँदा एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन हुने आँकलन छ। स्थानीय तह २०७४ को प्राप्त मतको आधारमा संखुवासभामा एमाले भन्दा पाँचदलीय गठबन्धन अघि देखिएको छ। 

एकीकृत समाजवादी र जसपाले एमालेको मत काट्ने सम्भावना भएका कारण पनि गठबन्धन निकै बलियो देखिएको छ। फुटपछि नेकपा एमालेका तत्कालीन अध्यक्ष हेमराज घिमिरे लगायत जिल्लास्तरीय नेता कार्यकतासमेत समाजवादीमा छन्। जिल्लाका लोकप्रिय र प्रभावशाली नेता समाजवादीमा गएपछि एमाले १० वटै पालिकामा कमजोर भएको देखिन्छ। 

२०७४ को निर्वाचनमा एमाले र कांग्रेसले पाँच\पाँच स्थानीय तह जितेका थिए। 

गठबन्धन कहाँ कति बलियो ?

खाँदबारी नगरपालिका 

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै जिल्लामा सम्भावित परिणामबारे आँकलन हुन थालेको छ। २०७४ को स्थानीय तह निर्वाचन परिणाम अनुसार जिल्लाका १० वटै पालिकामा गठबन्धनको अवस्था बलियो देखिन्छ। २०७४ को स्थानीय तह जितेका एमालेका केही जनप्रतिनिधिको हिस्सा एकीकृत समाजवादीमा गएको छ। जसका कारण नेकपा एमालेको संख्या खुम्चिएको छ। 

खाँदबारी नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका महेश थपलिया र नेकपा एमालेका जित बहादुर घिमिरेबीच पतिस्पर्धा हुने भएको छ। २०७४ को निर्वाचनमा कांग्रेसले ५ हजार १३१ र माओवादी केन्द्रले ४२७ मत पाएका थिए। एमालेको तर्फबाट विजयी भएका उम्मेदवारले कांग्रेसलाई ४३४ मत बढी अग्रता लिएको थियो। 

अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ। यसका कारण गत निर्वाचनको प्राप्त मतका आधारमा गठबन्धन दलमध्येका कांग्रेस र माओवादी केन्द्रको मत हिसाब गर्दा एमाले भन्दा गठबन्धन ७ मतले पछि परेको देखिन्छ भने एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलको मतका कारण गठबन्धनको बढी मत प्राप्त हुने देखिएको छ। गठबन्धनकै तर्फबाट खाँदबारी नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रबाट दिव्यराज बरालको उम्मेदवारी रहेको छ।

 चैनपुर नगरपालिका

२०७४ को निर्वाचनको परिणाम अनुसार चैनपुर नगरपालिकामा एमालेका उम्मेदवारले पाँच हजार ३१७ मत प्राप्त गरी विजयी भएका थिए। प्रतिद्वन्द्वी नेपाली काँग्रेसले ५ हजार १९२ अर्थात् १२५ मतान्तरमा हार व्यहोर्नु परेको थियो। सोही निर्वाचनमा माओवादीले ७८४ मत पाएको थियो। अहिलेको निर्वाचनमा गठबन्धनपछि कांग्रेस र माओवादीको प्राप्त मत हिसाब गर्दा एमालेभन्दा गठबन्धन ६५९ मतले अगाडि छ। चैनपुरमा समेत एकीकृत समाजवादीले एमालेको भोट काट्ने निश्चित छ। चैनपुर नगरपालिका प्रमुखमा गठबन्धनतर्फका उम्मेदवार काँग्रेसका ज्ञानबहादुर कार्की र उपप्रमुखमा माओवादीका लामखान तामाङ रहेका छन्। 

मादी नगरपालिका 

मादी नगरपालिकामासमेत पाँच दलीय गठबन्धन अगाडि देखिएको छ। २०७४ का निर्वाचनमा मादी नगरपालिकामा एमालेले दुई हजार ७४० मत प्राप्त गरेको थियो। कांग्रेसले दुई हजार १२२ अर्थात् ६१८ मत बढीले एमाले विजयी भएको थियो। माओवादीले १ हजार १ सय ३९ मत ल्याएको थियो। 
परिणाम अनुसार कांग्रेस र माओवादीको मत जोड्दा ५२१ मतले एमाले भन्दा गठबन्धन अघि देखिएको छ। यो पटक मादी नगरपालिकाको प्रमुखमा गठबन्धन तर्फबाट माओवादीका दावाछत्र शेर्पा र उपप्रमुखमा नेपाली कांग्रेसका पासाङ शेर्पा चुनावको मैदानमा छन्। 

धर्मदेवी नगरपालिका 

धर्मदेवी नगरपालिकामा समेत पाँचदलीय गठबन्धन अगाडि देखिएको छ। २०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार एमालेलाई तीन हजार ७० मत प्राप्त भएको थियो। काँग्रेस तीन हजार ९४० मत अर्थात् ८७० मत बढीले कांग्रेसले जितेको थियो। माओवादीले ४२४ मत पाए।  

२०७४ को निर्वाचनलाई आधार मान्दा अहिले यहाँ पाँचदलीय गठबन्धन एक हजार २९४ मतले अगाडि छ। धर्मदेवी नगरपालिका प्रमुखमा गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका थलकुमार लिंखा र उपप्रमुखमा कांग्रेसकै तारा महत रहेका छन्। गत निर्वाचनमा धर्मदेवी नगरपालिकामा प्रमुख र उपप्रमुख कांग्रेसले जितेको थियो। 

पाँचखपन नगरपालिका 

पाँचखपन नगरपालिकामा पाँचदलीय गठबन्धन अगाडि देखिएको छ। २०७४ को निर्वाचनमा एमालेले तीन हजार ३३० मत प्राप्त गरी हार व्यहोरेको थियो भने कांग्रेसले ७९ मतान्तरमा तीन हजार ४०९ मत प्राप्त गरी जित हासिल गरेको थियो। यस्तै माओवादीले ५१० मत पाएको थियो। 

पाँचखपनमा २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पद काँग्रेसले जितेको थियो। २०७४ को परिणामलाई हेर्ने हो भने अहिले ५८९ मतले गठबन्धन अगाडि छ। पाँचखपन नगरपालिका प्रमुख पदमा गठबन्धनतर्फका उम्मेदवार विपीन राई र उपप्रमुखमा एकीकृत समाजवादीबाट सुमुना श्रेष्ठ रहेका छन्। 

सभापोखरी गाउँपालिका

सभापोखरी गाउँपालिकामासमेत पाँचदलीय गठबन्धन अगाडि देखिएको छ। २०७४ को स्थानीय तह निर्वाचन परिणाम अनुसार एमाले दुई हजार ६० मत पाएसँगै ५७ मत बढीले कांग्रेसलाई पछि पार्दै जित हासिल गरेको थियो। कांग्रेसले दुई हजार ३ मत प्राप्त गरेको थियो। माओवादीले २८५ मत ल्याएको थियो। 

२०७४ मा एमाले, कांग्रेस र माओवादीको प्राप्त मत हेर्ने हो भने सभापोखरीमा २०१ मतले गठबन्धन अगाडि देखिएको छ। सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका अध्यक्षमा भीमबहादुर लिम्बु र उपाध्यक्षमा एकीकृत समाजवादीकी लक्ष्मी चापागाई रहेका छन्। 

भोटखोला गाउँपालिका

२०७४ को स्थानीय तह निर्वाचन मत परिणामलाई अहिलेको गठबन्धन र एमालेबीचको मत हिसाब गर्ने हो भने भोटखोला गाउँपालिकामा गठबन्धन अगाडि देखिएको छ। गत निर्वाचनमा एमालेले एक हजार २२६ मत प्राप्त गरेको थियो। कांग्रेस १४१ मतान्तरमा एक हजार ३७७ मत ल्याएर विजयी भएको थियो। सोही बेला माओवादीले १८८ मत ल्याएको थियो। 

यसलाई हेर्दा  भोटखोलामा ३२९  मतले गठबन्धन अगाडि देखिएको छ। भोटखोलामा गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार एकीकृत समाजवादीका चुङदाक भोटे र उपाध्यक्षमा नेपाली कांग्रेसका डुक्पा भोटे रहेका छन्। 

मकालु गाउँपालिका 

२०७४ को मतपरिणाम अनुसार मकालु गाउँपालिकामा अहिले गठबन्धन अगाडि देखिएको छ। एमालेले एक हजार ७१२ मत प्राप्त गरी विजयी हासिल गरेको थियो। ७५७ कम मतका कारण कांग्रेसले हार व्यहोरेको थियो। सो निर्वाचनमा काँग्रेसले ९५५ मत प्राप्त गरेको थियो। यस्तै माओवादीले ८३४ मत ल्याएको थियो। 

२०७४ को मत परिणामअनुसार मकालुमा ७७ मतले अहिले गठबन्धन अगाडि देखिएको छ। मकालु गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा माओवादीकी मनकला राईको उम्मेदवारी परेकोे छ। 

सिलिचोङ गाउँपालिका 

सिलिचोङ गाउँपालिकामा अहिले कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ। गत निर्वाचनमा समेत माओवादी र कांग्रेसबीच नै निकटतम प्रतिस्पर्धा भएको थियो। २०७४ को स्थानीय तहको निर्वाचनको परिणामअनुसार कांग्रेसले एक हजार ८८१ मत ल्याएर विजयी भएको थियो। माओवादी केन्द्रका उम्मेदवारले भने एक हजार ३४७ मत प्राप्त गरेको थियो। 

यस्तै एमालेले एक हजार ३१० मत प्राप्त गरेको थियो। सो निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जितेको थियो। 

चिचिला गाउँपालिका

चिचिला गाउँपालिकामा अहिले कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ। २०७४ को स्थानयि तहको निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेस एक हजार ४ सय ६२ मत ल्याएर विजयी भएको थियो। एमालेका उम्मेदवारले ७७० मत प्राप्त गरेको थियो। यस्तै माओवादी केन्द्रले ६०३ मत प्राप्त गरेको थियो। 

निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जितेको थियो। जिल्लाभर ७६ वडामध्ये ६० वटामा मात्र भागवण्डा भएको छ। यसमध्ये कांग्रेसको भागमा ४६ वटा वडा परेको छ। माओवादीले ६, एकीकृत समाजवादीले ५ र जनता समाजवादी पार्टीले तीन वडा पाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.