|
कालीगण्डकी किनारमा गिट्टी कुट्दै ७४ वर्षीय मनोहरलाल अधिकारी। तस्वीर :  डम्मर बुढा मगर

बागलुङ : स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँशहर सबैतिर चुनावी चर्चा छ। दलका नेता कार्यकर्ताहरू चुनावी प्रचार अभियानमा छन्। बागलुङमा पनि यसको रौनक निकै बढेको छ। गाउँ–गाउँ, घर–घरमा उम्मेदवारहरू भोट माग्न व्यस्त छन्। त्यति मात्रै होइन, मतदाता आकर्षित गर्न महत्त्वाकांक्षी घोषणापत्र पनि सार्वजनिक गरिरहेका छन्।

विभिन्न दलका उम्मेदवारहरूले सार्वजनिक गरेको घोषणापत्र हेर्दा लाग्छ, बागलुङमा मजदुर छैनन्। बेरोजगार छैनन्। उम्मेदवारहरूले सार्वजनिक गरेको घोषणापत्रमा आधारभूत आवश्यक पूरा गर्नेभन्दा बढी महत्त्वाकांक्षी योजना समेटिएको पाइन्छ। ती घोषणापत्रमा गरिब, दुःखी र मजदुरका कुरा भने समेटिएको छैन।

यस्तै घोषणापत्र समातेर नेता कार्यकर्ताहरू गाउँगाउँमा, घर–घरमा मत माग्न हिँडिरहेका छन्। उनीहरूलाई ठूलै चाड लागेको छ तर कालिगण्डकी किनारमा गिट्टी कुटिरहेका, बालुवा उठाइरहेका मजदुरलाई भने चुनावी रौनकले छुनै सकेको छैन। बिहान बेलुकाको हातमुख जोड्न र परिवार चलाउनका लागि मजदुरी गरिरहेका उनीहरूलाई न चुनावको रौनक छ न कुनै रमझमको। उनीहरूलाई चासो छ त केवल बिहानबेलुकाको छाक कसरी टार्ने र बालबच्चा कसरी पाल्ने ?

कालीगण्डकी किनारमा वषौँदेखि गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएका ७४ वर्षीय मनोहरलाल अधिकारीले चुनावका वेला नेताहरूले विभिन्न आश्वासन देखाउने तर चुनाव जितेपछि फर्किएर नआउने बताए। उनले चुनावका वेला विभिन्न किसिमका आश्वासनहरू देखाउने तर चुनाव जितेपछि फर्किएर नआउने बताए।

‘नेता सबै ठग हुन्, यिनीहरूले जनता ठग्ने बाहेक अरू केही गरेको मैले पाएको छैन, अहिलेसम्म धेरै पटक भोट हालियो, नेताहरूले धेरै आशा मात्रै देखाए तर त्यो पूरा गरेनन्’, उनले भने, ‘यिनीहरूलाई भोट नदिनु र दिनुमा केही फरक छैन। अब भोट नदिए पनि हुन्छ।’

बागलुङ प्रवेशद्वार नजिकै रहेको डम्पिङ साइडमा फोहोरको डङ्गुरबीचमा कागज संकलन गर्दै गरेका आनन्दबहादुर गुरुङलाई चुनाव आएको गएको कुनै मतलब छैन। पचास वर्षीय कटिसे गुरुङले अहिलेसम्म धेरै निर्वाचनमा मतदान गरिसे। उनको अवस्था भने ज्युँका त्युँ छ। आर्थिक अवस्था निकै कमजोर भएका गुरुङ एक दशकदेखि डम्पिङ साइडमा फोहोर छुट्याउने काम गर्दै आएका छन्।

‘अहिलेसम्म धेरै पटक भोट हाले, भोट माग्न आउँदा नेताहरूले धेरै आशा देखाए तर हामी जस्तो दुःखी गरिबका लागि केही गर्न सकेनन्’, उनले भने ‘अब त भोट पनि नहाल्ने, हाम्रो भोटले उनीहरू ठूलोठूलो ठाउँमा पुग्ने, हामी जहाँको त्यही।’

स्थानीय अस्मिता परियारले काम नगरी बिहानबेलुकीको छाक टार्न गाह्रो हुने भन्दै चुनाव आएको गएको थाहा नभएको बताइन्। उनले काममै व्यस्त हुने हुँदा चुनावतिर खासै चासो नभएको बताइन्। ‘हामी त विहान उठेर मात्रै बालुवा उठाउन आउँछौँ, खाना पनि यतै खान्छौँ। चुनाव आयो भन्न त भन्छन् तर त्यतातिर मेरो खासै चासो छैन, घरमा ससाना केटाकेटी छन्, उनीहरूको लवाइखुवाइ गर्नै गाह्रो छ’, परियारले भनिन् ‘चुनावमा भोट लागेर हामीले के पाइन्छ र ? हामीलाई कसैले हेर्दैनन्।’

उनले चुनावमा चिन्दै नचिनेका मान्छेहरू भोट माग्न आएर विभिन्न आश्वासन दिएर जाने तर चुनाव चितेपछि फर्किएर गाउँ नआउने बताइन्। गाउँमा केही बाटोघाटो निर्माण भए पनि गरिबको अवस्था भने परिवर्तन हुन नसकेकोप्रति उनले दुःख व्यक्त गरिन्। परियारले दुःखी गरिबका लागि रोजगारसम्बन्धी कार्यक्रम, बालबालिकालाई निःशुल्क पढाइदिने व्यवस्था गरे आफूहरूलाई ठूलो राहत मिल्ने बताइन्।

‘निरन्तर काम पाए त खानलाउनको दुःख हुने थिएन, बालबच्चा पढाउन समस्या हुने थिएन, कहीलेकाहीँ काम पाइन्छ, त्यही पनि भने जस्तो पैसा पाइँदैन, भोट माग्ने नेताले गरिब दुःखीलाई काम दिए हुन्थ्यो’, उनले भनिन् ‘काम पाए त हामी जसरी पनि बालबच्चा पढाउन सक्थ्यौँ, बिहान बेलुकीको छाक टार्न पनि समस्या हुने थिएन, नेताहरू भेट्न आउने भनेको उही चुनावका वेला हो अरू बेला त आउँदै आउँदैनन्।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.