|

काठमाडौं : सरकारको निर्णय अनुसार आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा हुँदैछ।

विद्यार्थीको पढाइ प्रभावित हुने भएकाले शिक्षालय र बिरामीले सास्ती पाउने भन्दै अस्पताल आइतबार बन्द गर्न नहुने आवाज उठिरहेको छ। हप्तामा एक दिन सार्वजनिक विदा हुँदा पनि थेगिनसक्नु भिड लाग्ने सरकारी स्वास्थ्य संस्थादेखि ठूला सरकारी अस्पतालमा हप्ताको दुई दिन सार्वजनिक विदा दिँदा स्वास्थ्य सेवा प्रवाहमा असर पर्ने आँकलन गरिएको छ।

तर  चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघले भने सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा निर्णयको स्वागत गरेको छ। सातामा २ दिन  विदा हुँदा चिकित्सकले आराम गर्ने समय पाउने दबाबमुक्त अवस्थामा काम गर्न पाउने संघको भनाइ छ।

अहिले हप्ताको ४२ घण्टा काम गर्दा डाक्टरहरूलाई बढी भार भएको भन्दै दुई दिन विदा दिँदा सहज हुने भएकाले त्यो स्वागतयोग्य काम भएको संघले जनाएको छ। ‘बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले  नेपाल सरकारको यस निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नका लागि सहयोग पुग्ने विश्वास यो संघले लिएको छ', संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

आइतबार ओपिडी खोल्ने भए विशेष सुविधा चाहिन्छ: गोदान

सरकारी चिकित्सकहरूको साझा संगठन सरकारी चिकित्सक संघ (गोदान)ले पनि आइतबार आफूहरूलाई बिदा चाहिने बताएका छन। आइतबार ओपीडी सञ्चालन गर्ने नै भए विशेष सुविधा हुनुपर्ने उनीहरूको भनाइ छ।

सरकारी चिकित्सकलेकुनै विशेष थप सुविधा र न्यायोचित प्रोत्साहन विना काम गर्न नसक्ने बताएका छन्। गोदानले पनि विज्ञप्ति जारी गरी स्वास्थ्यमा आइतबार विदा नपाउने हो भने अन्य कर्मचारीको तुलनामा ५२ दिन अधिक थप कार्यभार हुने बताएको छ। त्यसैले विशेष सुविधा र न्यायोचित प्रोत्साहन दिनुपर्ने उसको माग छ।

आइतबार ओपीडी बन्द नगर्ने मनस्थितिमा मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने अन्य क्षेत्रमा आइतबार सरकारी विदा भए पनि ठूला सरकारी अस्पतालको ओपीडी र अन्य सरकारी स्वास्थ्य संस्था आइतबार बन्द नगर्ने पक्षमा रहेको छ।

स्वास्थ्य मन्त्री विरोध खतिवडा सरकारी अस्पताल आइतबार बन्द नहुने अडानमा छन्। यसै अनरूप स्वास्थ्य मन्त्रालय आइतबार पनि अस्पतालमा ओपिडी सञ्चालन गर्ने तयारीमा लागेको छ। चिकित्सकहरूलाई आलोपालो परिचालन गरी ओपीडी सेवा निरन्तरता दिने योजनामा मन्त्रालय जुटेको हो।

यो विषयमा मन्त्रालयले स्वास्थ्य क्षेत्रका २२ वटा संघ संस्थासँग बिहिबार सामूहिक बैठक राखेर निष्कर्षमा पुन्ने मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा‍. कृष्णप्रसाद पौडेलले बताए।

डा. पौडेलले अस्पतालको ओपीडी बन्द गर्न नहुने सरोकारवालाको भनाइ र आइतबार पनि विदा  पाउनुपर्ने चिकित्सकहरूको मागप्रति मन्त्रालयले बृहत छलफल गरेर सहमति गर्ने बताए। ‘चिकित्सक संघसहित हामी स्वास्थ्य क्षेत्रका सबै ट्रेड युनियनसँग बिहीबार सामूहिक बैठक बस्दैछौँ’, उनले भने, ‘त्यसपछि हामी निष्कर्षमा पुग्छौँ।’

आइतबार बिदा दिँदा स्वास्थ्य सेवा प्रभावित हुन्छ?

अहिले हप्तामा एक दिन विदा हुँदा ठूला सरकारी अस्पतालको ओपीडीमा बिरामीको चाप थेगिनसक्नु छ। स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी हप्तामा दुई दिन विदा दिँदा सर्वसाधारणले स्वास्थ्य सेवा लिन गाह्रो हुने बताउँछन्। त्यसैले कुनै हालतमा आइतबार ठूला अस्पतालको ओपीडी बन्द गर्न नहुने बताउँछन्।

सामान्य अवस्थामा ठूला अस्पतालमा दैनिक उपचारमा जाने बिरामीको संख्या हजारसम्म हुन्छ। यस्तो अवस्थामा दुई दिन विदा दिँदा पछिल्ला दिनहरूमा हुने बिरामीको चापलाई अस्पतालले धान्नै नसक्ने उनको भनाइ छ।

‘लामो समयको कोरोना महामारीबाट बल्ल अस्पतालहरूमा नियमित सेवा सञ्चालन भइरहेको छ’,उनी भन्छन्, ‘यस्तो बेला हप्तामा दुई दिन विदा दिँदा सेवा लिन जानेहरू मर्कामा पर्छन्। चिकित्सकहरूलाई अतिरिक्त सुविधा दिएर भए पनि आइतबार अस्पतालको ओपीडी बन्द गर्न नहुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.