|

विराटनगर : नेपाली कांग्रेसको स्थापनाकालदेखि नै विरासतको जग बोकेको विराटनगर जहाँ मजदुर आन्दोलनदेखि प्रजातान्त्रिक आन्दोलनको शुरुवात भएको थियो।

जसको नेतृत्व बिपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाले गरेका थिए। कोइराला परिवारको राजनीतिक विरासत बोकेका डा. शेखर कोइरालासम्मको लिगेसी विराटनगरमा छ।

यसैगरी मनमोहन अधिकारी, भरतमोहन अधिकारी जस्ता कम्युनिष्टका शीर्ष नेता जन्माएको विराटगनरमा निर्वाचनको मिति नजिकिँदै गर्दा मजदुर आन्दोलनदेखि नेपाली कांग्रेसको आन्दोलनको जग बसाएको विराटनगर महानगरपालिकामा कांग्रेसको नेतृत्वको विरासतको स्तम्भ ढल्छ या रहन्छ भन्ने विषय पार्टीभित्र मात्रै नभएर प्रदेशवासीमा नै चासोको विषय बनेको छ।

महानगर प्रमुखमा गठबन्धन दलबाट नेपाली कांग्रेसका नागेश कोइराला छन् भने उपप्रमुखमा अमरेन्द्र यादव उम्मेदवार छन्। एमालेबाट प्रमुखमा सागर थापा छन् भने उपमेयरमा शिल्पा कार्की छन्। यता स्वतन्त्रबाट मेयरमा उमेश यादव र उपमेयरमा नमिता न्यौपानेको उम्मेदवारी रहेको छ।

सत्ता गठबन्धनको निर्णयप्रति असन्तुष्ट जनाउँदै दल परित्याग गरेर यादवले मेयरमा उम्मेदवारी दिएका थिए भने माओवादी केन्द्रबाट विद्रोह गर्दै न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएकी थिइन्। यादव र न्यौपाने ०७४ को निर्वाचनमा जसपा र माओवादी केन्द्रको गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवार बनेका उनीहरू दुवैजना ‘लालटिन’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन्।

विराटनगरमा गठबन्धन गरेर उपमेयरमा जनता समाजवादी पार्टीका अमेरन्द्र यादव उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसमा गठबन्धनविरुद्ध अभिव्यक्ति दिँदै आएका डा.शेखर कोइरालाको गृहनगर विराटनगर कांग्रेसको नेतृत्व पनि गठबन्धनको पक्षमा थिएन। केन्द्रबाट गठबन्धन बने पनि चुनावी अभियानमा त्यसको अनुभूति देखिएको छैन।

कांग्रेसले गठबन्धनको आवश्यकता नदेखेको भन्दै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले खुलेर सहयोग गरेका छैनन्। अर्कोतिर मेयर र उपमेयरका उम्मेदवारबीच पनि सहकार्य देखिएको छैन। उनीहरू छुुट्टाछुट्टै चुनावी अभियानमा छन्। कांग्रेसको दम्भका कारण विराटनगर र मोरङमा गठबन्धन प्रभावकारी नभएको गठबन्धनभित्रैका नेताहरूको बुझाइ छ।

बागी उम्मेदवार गठबन्धनलाई चुनौती, एमालेलाई अवसर
मोरङमा गठबन्धनको किचलोबीच पनि पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका यादव र न्यौपानेलाई माओवादी केन्द्र र जसपाका तल्लो तहका अधिकांश कार्यकर्ताको पंक्ति उनीहरूकै साथमा देखिँदा गठबन्धनलाई चुनौती बनेको छ।

गठबन्धन दलभित्रको किचलो र नेपाली कांग्रेस महानगरको चुनावी अभियानमा एक भएर होमिएको अवस्था छैन। महानगरको मेयर दावी गरे पनि टिकट नपाएका संस्थापन पक्षका नेताहरू खुलेर कोइरालाको चुनावी अभियानमा सहभागी भएका छैनन्। यो आधारले पनि गठबन्धन दलका उम्मेदवारलाई यो पटकको चुनावी मैदान सकसपूर्ण छ।

यता गठबन्धनको किचलोलाई नेकपा एमालेले आफ्नो अवसरका रूपमा लिएको छ। महानगरमा तल्लो तहसम्म पुगेका नेता सागर थापालाई एमालेले मेयरको उम्मेदवार बनाएको छ। उनी एमालेको एकीकृत शक्तिसँगै गठबन्धनमा रुष्ट मत पनि तान्ने प्रयासमा छन्। विद्यार्थी आन्दोलनबाट स्थापित थापाले कांग्रेसको पनि युवा पंक्ति र असन्तुष्ट मत तान्ने आँकलन गरिएको छ।

एक भएर चुनावी मैदानमा होमिन नसकेका गठबन्धनका उम्मेदवार कोइराला र एमालेका थापाबीच महानगरमा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि मधेशी मतदातासामु राम्रो प्रभाव राख्ने स्वतन्त्र उम्मेदवार यादव पनि प्रतिस्पर्धाको रिङभित्रै छन्।


कोइरालाको आकर्षण पराजुलीको जस्तो छैन
२०७४ मा निर्वाचित भीम पराजुलीको ५ वर्षे कार्यकालमा खासै उल्लेखनीय काम नभएकाले नागरिकस्तरमा कांग्रेस आलोचित छ। २०७४ को निर्वाचनमा महानगरमा कांग्रेसका वडाध्यक्षहरूले १७ हजार हाराहारी मात्र मत प्राप्त गरेका थिए तर मेयरका उम्मेदवार पराजुलीले २३ हजारभन्दा बढी मत प्राप्त गर्नु उनको व्यक्तिगत प्रभावको कारण थियो। अहिलेका मेयरका उम्मेदवार नागेश कोइरालाको व्यक्तिगत आकर्षण भने २०७४ मा भीम पराजुलीको जस्तो छैन।

महानगरका मेयर र उपमेयरमा केन्द्रबाटै गठबन्धन भए पनि गठबन्धनको मर्म अनुसार चुनावी अभियान अगाडि बढ्न नसकेको जनता समाजवादी पार्टीका नेता राजकुमार यादवले बताए। वडामा छुट्टाछुट्टै उम्मेदवार भएका कारण मेयर र उपमेयरको संयुक्त चुनावी अभियान पनि सञ्चालन हुन नसकेको र त्यसमा कांग्रेसकै कारण समस्या भएको उनको भनाइ छ।

विगतको नतिजा
अघिल्लो निर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए। मेयरमा पराजुलीले २३ हजार ३१ मत, एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए।

उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १४६ र माओवादीकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएका थिए भने नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले तेस्रो स्थान प्राप्त गर्दै १० हजार ५३६ मत ल्याएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.