|
फाइल फोटो

काठमाडौं :  स्थानीय तह सदस्यका लागि मतदान गर्ने दिन नजिकिँदै जाँदा आचारसंहिताका घटना बढेका छन्। निर्वाचन आयोगमै पुगेर आचारसंहिता पूर्णपालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका राजनीतिक दल तथा उम्मेदवारबाटै पनि यस्ता गतिविधि भइरहेका हुन्। 

आचारसंहिता उल्लंघनका केही घटना आयोगको नजरमा परिसकेको छ भने फोटो, भिडियोसहित प्रकाशित समाचार, सामाजिक सञ्जाल र  उजुरीको आधारमा आयोगले स्पष्टीकरण पनि मागिरहेको छ। 

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ। यद्यपि आयोग स्पष्टीकरण माग्ने र कारबाहीको चेतावनी दिनमै सीमित छ। तर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भने स्पष्टीकरण माग्ने र चेतावनी दिने कार्य पनि कानूनी कारबाही अन्तर्गत नै बताउँछन्। उनका अनुसार आचारसंहिता प्रतिकुल काम गर्नेलाई पहिले सचेत गराउने, स्पष्टीकरण माग्ने र चित्तबुझ्दो जवाफ नआए थप कारबाही हुनेछ।

आयोगले मंगलबार उम्मेदवारदेखि प्रधानाध्यापक र मन्त्रीसम्मसँग स्पष्टीकरण मागेको छ। आयोगले सत्ता घटक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित प्रदेशका मन्त्री, जनप्रतिनिधि, उम्मेदवार र प्रधानाध्यापकसँग २४ घण्टादेखि तीन दिनसम्म समय दिएर स्पष्टीकरण माग गरेको हो। 

निर्वाचन आचारसंहिता प्रतिकुल गतिविधि गरेको भन्दै आयोगले बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई २४ घण्टे स्पष्टीकरण मागेको छ। मन्त्री मोक्तान चुनावी प्रचारप्रसारमा खटिएको फोटोसहितको समाचार प्रकाशन भएपछि त्यसबारे प्रमाणसहित आयोगलाई स्पष्ट गर्न भनिएको छ। आयोगले मोक्तानलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने? भनी आधार प्रमाणसहित स्पष्ट पार्न भनेको छ । 

आयोगले रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई पनि २४ घण्टे स्पष्टीकरण मागेको छ। ‘जिल्लाको विभिन्न स्थानमा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएर कारबाही गर्न निर्वाचन आयोगलाई समेत चुनौती दिएको विषय तपाईँले भनेको हो होइन?’, आयोगले जवाफ माग गरेको छ।

आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै मेलम्ची नगरपालिका १० का अध्यक्ष उम्मेदवार अमृत खनाललाई पनि २४ घण्टे स्पष्टीकरण पेश गर्न आदेश दिएको छ।
मतदाताको खुट्टामा एक हजारको नोट राखेर भोट माग्दै गरेको भनेर सामाजिक सञ्जालमा खनालको तस्वीर फैलिएपछि आयोगको नजर परेको हो। मतदाता प्रभाव पार्ने कुनैपनि किसिमको गतिविधि तत्काल रोक्न निर्देशन दिँदै आयोगले कानून अनुसार कारबाही गर्न नपर्ने आधारसहित स्पष्टीकरण पेश गर्न भनेको छ। 

यसैगरी, कपिलवस्तुको नेपाल राष्ट आधारभूत विद्यालयका प्रधानाध्यापक पाण्डे पनि आयोगको नजरमा परेका छन्। दलीय प्रचार प्रसारमा संलग्न रहेको भन्दै आयोगले पाण्डेलाई तीन दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ। 

निर्वाचन आयोगले माओवादी केन्द्रसँग पनि आचारसंहिता प्रतिकुल गतिविधि गरेको भन्दै तीन दिनभित्र आधार प्रमाणसहित जवाफ माग गरेको छ। आयोगले माओवादी केन्द्रको तर्फबाट कलैया उपमहानगरपालिका २३ का वडाध्यक्ष विक्रम साह लगायतका व्यक्तिले पार्टीको चुनाव चिह्न अंकित टिसर्ट सहित प्रचारमा हिँडेको सामाजिक सञ्जालमा आएको भन्दै त्यो काम दलबाट भएको हो होइन भनी जवाफ माग गरेको हो। 

नेपाली कांग्रेस सानेपा ललितपुरसँग पनि आयोगले तीन दिनको समय दिएर जानकारीसहितको जवाफ मागेको छ। स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिह्नमा मतदान गरौं’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएकाले कांग्रेससँग जवाफ मागेको आयोगले जनाएको छ। 

उक्त सामग्री निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को देहाय ठ र ढ विपरीत देखिएकाले सामाजिक सञ्जाल तथा अन्य स्थानबाट हटाउन पनि निर्देशन दिएको छ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, तथा भयमुक्त बनाउन यसअघि दलले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने प्रतिवद्धता गरेको समेत आयोगले स्मरण गराएको छ। 

यसअघि पनि आयोगले आचारसंहिताविपरीतको अभिव्यक्ति दिएको भन्दै कांग्रेसका नेता शशांक कोइराला, नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिका पदका उम्मेदवार केशव स्थापित, नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण मागेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.