विद्यार्थीहरू अभिभावकसँग गाउँतिर

|
फाइल तस्वीर

काठमाडौं : स्थानीय तह निर्वाचनले विद्यार्थी भर्नामा प्रभाव परेको छ। आगामी जेठ १ बाट देशभरि निजी तथा सरकारी विद्यालयमा नयाँ शैक्षिक सत्रको पठनपाठन थालिँदै छ। तर यतिखेर नयाँ भर्ना अभियानभन्दा पनि के शहर के गाउँ सबै चुनावी प्रचारप्रसारमा व्यस्त छन्।

विद्यार्थीलाई समेत विभिन्न राजनीतिक दलले आफ्ना झण्डा बोकाएर घरदैलो अभियानमा लगेको पनि देखिन्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेल भर्ना अभियान जारी रहेको र मतदाता केन्द्र तोकिएका विद्यालयमा मात्र भर्नामा प्रभाव परेको बताए।

‘स्कुलबाहिर रहेका सबै बालबालिकालाई भर्ना गर्न भनी सबै विद्यालय र सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छौँ, अहिले भर्ना पनि चलिरहेको छ, मतदान केन्द्र तोकिएको ठाउँमा भने जेठ ४ गतेसम्म भर्ना हुन्छ,’ उनले भने।

सरकारले यही वैशाख २ गतेदेखि नै देशभरि नयाँ भर्ना अभियान सञ्चालन गरेको थियो। यो अभियान वैशाख मसान्तसम्म कायम रहने र जेठ १ बाट पठनपाठन शुरु हुनेछ। 

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विद्यालय, खाली स्वास्थ्य चौकीलगायत स्थानमा २१ हजार ९ सय ९५ मतदान केन्द्र तोकेको छ। मतदान केन्द्र तोकिएका विद्यालयमा भर्नाको समस्या भएको हो।

‘अहिले विद्यालयहरूले कक्षा १ को नयाँ भर्ना लिइरहेका छन्, अरु कक्षाको परीक्षाको नतिजा प्रकाशित गरि भर्ना गर्नु भनेका छौँ,’ उनले भने। हालसम्म ५० प्रतिशतभन्दा बढी विद्यार्थी नयाँ भर्ना भएको उनको अनुमान छ।

उनका अनुसार विद्यालयमा एकजना शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्ति तोकिएको छ। तिनै सम्पर्क व्यक्ति तोकिएका शिक्षकले भर्नाका लागि सूचना समन्वय र सहजीकरण गरिरहेका छन्।

‘कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन भनी स्थानीय एफएम रेडियोलगायत स्थानीय सञ्चारमाध्यमबाट भर्नासम्बन्धी चेतनामूलक सूचना प्रशारण गरिरहेका छौँ,’ उनले भने। त्यस्तै, स्थानीय तहले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउन स्थानीय तहलाई निर्देशन पनि दिइसकेको उनको भनाइ छ।

अभिभावकविहीन बालबालिकाको पढाइमा निरन्तर सहयोग गर्न चाहनेहरूको उचित पहिचान र सम्मान तथा अभिलेख राख्ने पनि स्थानीय तहलाई भनेको उनले बताए। सरकारी तथ्यांकअनुसार हरेक वर्ष करिब १० लाख नयाँ विद्यार्थी भर्ना हुने गरेका छन्।

चुनावले विद्यार्थीहरू गाउँमा

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय महासचिव आरबी कटुवालका अनुसार अहिले अधिकांश विद्यार्थी गाउँमा छन्। ‘हामीले लगभग नयाँ भर्ना सकिसकेका छौँ,’ उनले भने, ‘तर चुनावका कारण अभिभावकले छोराछोरी लिएर गाउँ गएको पाइएको छ, उनीहरूले किताब भने किनेका छन्, भर्ना भने भएका छैनन्।’

चुनावले गर्दा भर्ना अभियानमा असर पुगेको बताउँदै उनले चुनावपछि गाउँ गएका विद्यार्थीको भर्ना लिने बताए। ‘सरकारले जेठ १ बाट पठनपाठन थाल्नु भनिसकेको छ, विद्यार्थीहरू भने गाउँमा छन्, त्यसैले पठनपाठनमा पनि समस्या हुने देखिएको छ,’ उनले भने।

कति प्रतिशत बालबालिका भर्ना भए भन्ने यकिन तथ्यांक भने जेठ १५ सम्ममा आइपुग्ने उनले बताए। नेपालमा कोभिड–१९ शुरु हुनुभन्दा पहिले नारा जुलुस नै गरेर भर्ना अभियान थालिन्थ्यो। नेताहरूले नै पनि केही विद्यार्थी भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका थिए।

तर कोरोना महामारी शुरु भएपछि त्यसरी भर्ना अभियान सञ्चालन भएको छैन। प्याब्सनका महासचिव कटुवालले स्वास्थ्य सुरक्षा अपनाई भौतिक उपस्थितिमा भर्ना लिएको तर पहिलेजस्तो नारा जुलुस भने नगरेको बताए। 

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.