|

काठमाडौं : नेपाली गायक राजु लामाले सबैभन्दा अग्लो स्थानमा कन्सर्ट गरेर विश्व कीर्तिमान बनाएका छन्। सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा रहेका लामाले ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गर्दै कीर्तिमान बनाएका हुन्। 

जलवायु परिवर्तनको असरबारे सचेतना फैलाउन लामा गत चैतमा सगरमाथा प्रस्थान गरेका थिए। प्रतिकूल मौसमका कारण तोकिएको दिनमा सगरमाथाको शिखरमा पुग्न सकेका थिएनन् भने अहिले पनि आरोहणकै क्रममा रहेका छन्।

कीर्तिमान बनाउने क्रममा उनले ‘हिमालले डाक्यो मलाई पहाडले डाक्यो’ बोलको गीत गाएका थिए। यो उनको सार्वजनिक भइनसकेको गीत हो। काठमाडौं फर्केपछि गीत औपचारिक रुपमा सार्वजनिक गरिने बताइएको छ। 

लामाले बेलायतका ओज बोल्डनको कीर्तिमान भंग गर्दै सबैभन्दा उचाइमा कन्सर्ट गर्ने कलाकारको कीर्तिमान आफ्नो नाममा पारेका हुन्। बोल्डनले २०१२ को मेमा मेरापिक हिमालको ६ हजार ४ सय ७६ मिटरको उचाइमा कन्सर्ट गर्दै कीर्तिमान आफ्नो नाम गरेका थिए। लामाको कीर्तिमान औपचारिक रुपमा दर्ता हुन भने बाँकी छ। 

उक्त कन्सर्टपछि लामाले आफ्नो सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘मेरो मुख्य उद्देश्य भनेको जलवायु परिवर्तनले दैनिक जीवनमा पारेको असरबारे जनचेतना फैलाउनु थियो। यो जलवायु परिवर्तनको लागि हामी मानिसहरू नै शतप्रतिशत जिम्मेवार छौँ। त्यसैले यसलाई नियन्त्रण, न्यूनीकरण गर्ने जिम्मेवारी पनि हाम्रो नै हो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.