|

बागलुङ : विगतमा चुनाव आउनुभन्दा पहिले नै निर्वाचन आयोगले कर्मचारी खटाएर गाउँ–गाउँ, घर–घरमा गएर मतदान गर्न सिकाउँथ्यो। तर, अहिले निर्वाचन आउन केही दिन बाँकी रहँदासम्म पनि मतदान गर्न सिकाइएको छैन।

अहिले गाउँमा चुनावी माहोल छ। उम्मेदवारहरूले घरदैलो पुगेर आफूलाई मत माग्न अनेक तरिका अपनाइरहेका छन्। आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारहरूको ध्यान मतदाता शिक्षातिर भने पुगको छैन।

यसपटक ठूलो मतपत्र, धेरै मत चिन्ह रहेको कारण शिक्षित व्यक्तिसमेत झुक्किने अवस्थामा रहेको छ। स्थानीय निर्वाचनमा प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष दुई, वडा अध्यक्ष र पाँच वडा सदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने भएकाले यो प्रक्रिया निकै झन्झटिलो छ।

झन्झटिलो मतदान प्रक्रिया र मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुँन सक्ने देखिएको छ।

जिल्लामा पाँच दलीय गठबन्ध र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिन्ह फरक–फरकसमेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्न सक्ने अवस्था छैन।

बागलुङमा १९ राजनीतिक दल र स्वतन्त्रका ११ चुनाव चिन्ह रहेको बागलुङमा राजनीतिक दलले समेत मतदाता शिक्षामा जोड दिन नसकेको पाइएको छ। दलहरू कसले बढी आम भेला गर्ने र मानिस भेला गर्ने प्रतिस्पर्धामा उत्रेका छन्।

अहिले बागलुङमा पाँच दलीय गठबन्धन र एमाले राप्रपाको तालमेल छ। गठबन्ध गरेका पाँच दलले मुख्य पदमा आफ्नै चुनाव चिन्ह प्रयोग गरेका कारण मतदाताले मतचिन्ह तलमाथि प्रयोग गर्नुपर्ने अवस्था रहेको छ भने एमाले र राप्रपाको तालमेलका कारण पनी दुई फरक–फरक चिन्हमा मतदान गर्नुपर्ने अवस्था रहेको छ।

निर्वाचन आयोगले दिएको नमुना मतपत्रअनुसार बागलुङमा राजनीतिक दलहरूले आफ्नो चुनाव चिन्हमा स्वस्तिक छाप लगाएर मतदाताहरूलाई दिँदै आएका छन् तर स्वतन्त्र रूपमा मतदान गर्ने नागरिकको अधिकार भएकाले निश्पक्ष रूपमा मतदाता शिक्षा हुनु आवश्य देखिन्छ।

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि कुनै व्यवस्था नगरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुल शर्माले जानकारी दिए।

‘समय छोटो भएर होला, यस विषयमा निर्वाचन आयोगले केही भनेको छैन नत बजेट नै पठाएको छ” शर्माले भने “हामी मतपत्र, र अन्य मतदानका लागि आवश्यक सामाग्री मिलाएर कमतदान केन्द्रमा पठाउने तयारीमा छौँ।’

छोटो समयमै चुनाव गराउनुपर्ने र मतदाता शिक्षा दिने मानिसले नै मतदातालाई प्रभावित पार्न सक्ने भन्दै यसपटक निर्वाचन आयोगले मतदाता शिक्षा नदिएको बुझिन्छ।

यस पटकको निर्वाचनमा आफैँ कार्यकर्तालाई मतदाता शिक्षाका लागि घर-घरमा पठाउने तयारीका साथ गठबन्धनको तर्फबाट नमुना मतपत्र छपाइरहेको नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले जानकारी दिए।

‘अहिले मतदाता शिक्षा दिन नसके धेरै मत बदर हुने समस्या छ, त्यसलाई मध्यनजर गर्दै मतदाता शिक्षाका लागि कार्यकर्तालाई खटाइएको छ, निर्वाचनको समयसम्म सबै मतदाताको घरमा मतदाता शिक्षा पुर्‍याउने हाम्रो तयारी हो’ शेरचनले भने, ‘गठबन्धका कारण धेरै चुनाव चिन्हमा मत माग्नुपर्ने हाम्रो बाध्यता हो, जनतालाई बुझाउन आवश्यक छ, वडा सदस्यहरूको त जुन पार्टीको वडा अध्यक्ष हो त्यही चुनाव चिन्हको व्यवस्था छ, तर पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको लागि फरक चिन्ह छ, मतदाताले निकै ध्यानपूर्वक मतदान गर्न आवश्यक छ।’

 यस्तै, नेकपा एमालेले जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षाका लागि कार्यकर्ता खटाएको छ। एमालेले बागलुङ नगरपालिकाबाहेक अन्य ९ पालिकामा एमालेको एकल उम्मेदवारी दिएको छ। बागलुङ नगरपालिकामा एमाले राप्रपाको तालमेल छ।

तर, उपप्रमुखबाहेक अन्य पदमा एमालेको आफ्नै चिन्ह रहेको र अन्य नौ पालिकाका सबै उम्मेदवारहरूको एउटै चिन्ह रहेकाले त्यति समस्या नहुने तर मतदाता शिक्षाको टोलटोलमा कार्यकर्ता खटाइएको नेकपा एमाले बागलुङको प्रचार विभाग प्रमुख गणेश पौडेलले जानकारी दिए।

'अहिले ठूला–ठूला आमभेला भन्दा मतदाता जहाँ छन् त्यही भेट्ने र मतदाता शिक्षासहित भोट माग्ने गरिएको छ”पौडेलले भने, ‘मतदाता शिक्षाका हामीले नमुना मत छापेर स्वस्तिक चिन्हसहित गाउँमा कार्यकर्तालाई जिम्मा लगाएर पठाएका छौँ, भोट माग्ने बेलामा नमुना मतपत्र यस्तो छ, यसरी तपाईले मन पराएको मत चिन्हमा मत हाल्न सक्नुहुनेछ भन्दै आएका छौँ।’

पौडेलले चुनाव चिन्ह एउटै भएको खण्डमा लस्करै भोट राख्न सकिने मतपत्र भएकाले मत पत्र बदर कम हुने बताए। जिल्ला निर्वाचन कार्यालय बागलुङले अहिले मतदान केन्द्रको मतदाता संख्याको आधारमा मतपत्रसहित अन्य सामग्री पठाउने तयारी गरिरहेको छ। मतदाताहरूले भने अहिलेसम्म कोही पनि मतदान गर्न विषयमा जानकारी दिन नआएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.