|

विराटनगर : सुन्दरहरैँचा नगरपालिकामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदैछन्।

सुन्दरहरैँचा–५ मा रहेको हसिना सिमसार बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तरमा पर्छ। ७५ बिघा क्षेत्रफलमा फैलिएर रहेको सिमसारमा बहुसंख्यक देवी देवताका मन्दिर, विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु र पशुपंछीको वासस्थान समेत रहेको छ।

सो क्षेत्र पर्यटकीय मात्र नभएर वनभोज, अध्ययन–अनुसन्धान र अवलोकनका लागि समेत उत्तिकै उपयोगी रहेको स्थानीयहरु बताउँछन्।

हसिना सिमसार क्षेत्रमा नगरपालिका, नेपाल पर्यटन बोर्ड र जिविस मोरङले पनि बजेट उपलब्ध गराएपछि हालसम्म एउटा कलात्मक पानी ट्याङ्की, गौतम बुद्धको जन्मेदेखि मृत्यु सम्मका विभिन्न अवस्था समेटिएको पूर्वाञ्चलकै ठूलो बुद्धको प्रतिमा र पोखरीमा डुंगा सञ्चालन गर्ने तयारी समेत भइरहेको सुन्दरहरैँचाका निजी सचिवालयका निरज न्यौपानेले बताए।

यस्तै सुन्दरहरैँचा नगरपालिकाको उत्तरतर्फ रहेको बाघ झोडा सिमसार सुकुना सामुदायिक वन, उपभोक्ता समिति बाघ झोडा मार्फत संचालन र व्यवस्थापनमा रहेको छ।

धार्मिक मन्दिर तथा खेल मैदान रहेको  सो क्षेत्रमा वनभोजका लागि मोरङ, सुनसरीका विभिन्न स्थानबाट पर्यटकहरु आउने गरेका स्थानीय अजय धिमाल बताउँछन्।

झार, जंगलले घेरेको बाघ झोडा क्षेत्रलाई पछिल्लो समय नगरपालिकाले पार्क निर्माण गरेसँगै आन्तरिक पर्यटकहरु भ्रमणका लागि आउने गरेको धिमालले बताए।  

किचम गढी

सुन्दरहरैँचा नगरपालिकाको वडा नं. १ मा रहेको किचमगढीलाई ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेको स्थान मान्न सकिन्छ। किचमगढीमा पुग्न पूर्वउत्तर र पूर्वदक्षिण गरी दुई वटा साना बाटोका अतिरिक्त कुनै बाटो नहुँदा पूजाआजाको पर्वमा समूहगत रुपमा बाहेक अन्य समयमा मानिसहरु एक्लै हिँड्न डराउने गरेको स्थानीयको भनाई छ।

स्थानीयवासी कालीप्रसाद दाहालका अनुसार सो क्षेत्रमा कुनै बेला सेतो सिंह, सेतो हात्ती र कुनै बेला बुलाकी लगाएका ठूला सर्पहरु र यस्तै अन्य सरीसृप जनावरका साथै अनौठा जीवहरू भेटिने हुनाले यस गढीमा मानिसहरु एक्लै जान डराउँथे।

शक्तिपीठको रुपमा मानिने किचम गढी एकाएक परिवर्तन भएको देख्दा अचम्मित भएको  सुन्दरहरैँचा १ की ६० वर्षीया डम्बरकुमारी दाहाल बताउँछिन्।

पहिलेका भन्दा अहिले  गढी साँगुरो र होचो हुँदै गएको, गढी वरिपरिका जलाशय तथा धापहरु पूरा समाप्त भई सुख्खा खेती योग्य जमिनमा परिणत हुँदै गएको उनको बुझाई छ।

‘पुराना र ठूला रुखहरू सम्पूर्ण काटिई उजाड भएका छन्।,’ उनले सुनाइन्, ‘दुईचार वर्ष अघिमात्र केही राजनीतिक दल तथा गाउँबासीले वृक्षारोपण गरेका हुन्।’

नयाँ वृन्दावन

सुन्दरहरैँचा नगरपालिकाको पश्चिमी सिमाना सुनसरी जिल्लासँग जोडिएको नयाँ वृन्दावन धार्मिक पर्यटकीय प्रबर्धन र धार्मिक ग्राम निर्माणका लागि प्रशस्त सम्भावना देखिएको छ।

द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो कृष्ण लीला देखाएको पवित्र तीर्थस्थल वृन्दावन गौशालालाई सचित्र जस्ताको त्यस्तै निर्माण गर्ने अभियान नयाँ वृन्दावन गौशालामा थालनी गरिएको छ।

राधेश्याम सेवा ट्रष्टको पहल तथा श्री १०८ दीनबन्धु शास्त्री महाराजको पहलमा र स्थानीयहरुको सहयोगमा निर्माण भइरहेको नयाँ वृन्दावन गौशाला क्षेत्रमा नेपालकै ठूलो राधाकृष्णको मन्दिरको भुईंतलाको निर्माण कार्य सम्पन्न भइसकेको छ।

एक सय २९ फिट लम्बाइ, ८६ फिट चौडाइको सो मन्दिर एक हजार तीस वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। मन्दिरमा श्री कृष्णले गरेका विभिन्न कार्यलाई सचित्र निर्माण गर्ने योजना रहेको सुन्दरहरैँचा नगरपालिकाले जनाएको छ।

खोलाको झाडीले भरिएको क्षेत्र अहिले धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको वृन्दावन गौशालामा हाल १४ वटा गाई र बाच्छा बाच्छी समेत संरक्षण गरिएको छ।

के छ नगरपालिकाको याेजना?

सुन्दरहरैँचा नगरपालिका भित्र हसिना सिमसार, बाघ झोडा  सिमसार, भुल्के देवी जलाधार, शेषनारायण दिव्य धाम,किचमगढी र नयाँ वृन्दावन लगायतका पर्यटकीय क्षेत्रहरु रहेको न्यौपानेले बताए।

उनका अनुसार स्थानीय तहको चुनाव हुनु अघिसम्म नगरका पर्यटकीय क्षेत्रहरुको पहिचान भए पनि त्यसको जनस्तरसम्म प्रचारप्रसार भएको थिएन।

भौतिक संरचनाहरु निर्माण कार्य नभएको र  सडक निर्माण नभएकाले पर्यटकीय क्षेत्रसम्म पुग्न सकस भए पनि पछिल्लो समय पर्यटकीय क्षेत्रसम्म पुग्ने बाटो कालोपत्रे भएसँगै अन्तरिक पर्यटक भित्र्याउन सफल भएको उनको भनाई छ।

नगरका पर्यटकीय क्षेत्रलाई सुहाउँदो समय सान्दर्भिक भौतिक संरचनाहरु निर्माण भएसँगै सुन्दरहरैँचालाई चिनाउन सफल भएको उनी बताउँछन्।

विकास र प्रचारप्रसारमा १० करोड

स्थानीय तहकाे निर्वाचन पछि शिव प्रसाद ढकालको नेतृत्व आएसँगै  हालसम्म १० करोड रूपैँया पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसार तथा प्रवर्द्धन गर्न लगानी गरिएको नगरपालिकाले जनाएको छ।

सुन्दरहरैँचा नगरपालिका भित्र सरकारी सँगै निजी क्षेत्रमा पर्यटकीय स्थलहरु रहेको बताउँदै उनले त्यसै मध्येको गोकुलम रिसोर्टमा गत वैशाख एक गते एकै दिन मात्रै १७ हजार आन्तरिक पर्यटकहरुले भ्रमण गरेको बताए। जसबाट नगरपालिकामा वार्षिक आम्दानी हुने गरेको उनको भनाई छ।

आउँदा दिनमा सो रिसोर्टको प्रवेश टिकट कै निश्चित प्रतिशत रकम नगरलाई दिनुपर्ने व्यवस्था लागू गर्न लागेको नगरपालिकाले जनाएको छ।

न्यौपानेका अनुसार नयाँ वृन्दावन निर्माणाधिन अवस्थामा रहेको र  नेपालका अधिकांश धार्मिक यात्रा गर्न रुचाउने भक्तजनहरूलाई लक्षित गरेर निर्माण कार्य भइरहेको छ।

‘भारतमा अवस्थित वृन्दावन भ्रमण गर्न जान्छन् भने कतिपय आर्थिक स्थिति र समयको अभावले जान मन भएर पनि नसकिरहेको अवस्थामा नगरले बजेट छुट्याएर भारतमा अवस्थित वृन्दावनको झल्को दिने हाल याे स्थान निर्माण गरिरहेको छ।,’ न्यौपानेले भने, ‘जहाँ एउटा भक्ति मन्दिर र अन्य गोत्र अनुसार ऋषिहरूको मन्दिर पनि बनिसकेको छ।’ उनी थप्छन्, ‘संसारकै सबै भन्दा अग्लो नेपालको राष्ट्रिय जनावर गाईको प्रतिमा (मूर्ति) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।’

राष्ट्रिय जनावर गाई (गौ)लाई हत्या गर्न हुन्न भन्ने सन्देश दिन सो प्रतिमा निर्माण गरिएको नगरपालिकाले जनाएको छ।

संसार कै अग्लो प्रतिमा र भारतमा रहेको वृन्दावनको झल्को दिने नयाँ वृन्दावन भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने नगरपालिकाको विश्वास रहेको न्यौपाने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.