|

 धनकुटा : स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा आचारसंहिता उल्लंघनका घटना बढ्दै गएका छन्। कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन र नेकपा एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि गरिरहेका छन्।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत मुख्य–मुख्य बजार तथा चोकमा पार्टीका रंगीबिरंगी झण्डा लगाएका छन्। धनकुटा सदरमुकाम बाहेक ग्रामीण क्षेत्रमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन्।

ग्रामीण क्षेत्रमा पार्टीको चिह्न अंकित झण्डा राखेको र केही ठाउँमा पार्टीको चिह्न अंकित तोरण समेत टाँगिएका छन्। कार्यकर्ताले चुनाव प्रचारका क्रममा धेरै ठूला झण्डा प्रयोग गरेको देखिएको छ।

निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भए पनि धनकुटा बजार तथा ग्रामीण क्षेत्रमा साउण्ड सिस्टम गाडीमा राखेर घन्काउँदै ओहोरदोहोर गराएको देखिन्छ। पार्टीको सम्पर्क कार्यालयमा पनि साउण्ड सिस्टमबाट चुनावी गीत बजाएको सुनिन्छ।

निर्वाचन आचारसंहितामा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था छ। फ्लेक्समा उम्मेदवारहरूको फोटो समेत छापेर प्रचार गरिएको छ।

बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र गर्न पाइने नियम बनाइए पनि सदरमुकाममै राति अबेरसम्म नारा लगाउँदै नेता कार्यकर्ताहरू गाडीमा ओहोरदोहोर गरिरहेका देखिन्छन्।

कतिपय दलका चुनावी जुलुस र र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको सामाजिक सञ्जालमा समेत राखिएको पाइएको छ। पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारका घरमा तोकिएको साइजमा बाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु आचारसंहिता उल्लंघन ठहरिने जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठ बताउँछन्।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश फडिन्द्रप्रसाद पराजुली निर्वाचन आचारसंहिताको पालनामा दलहरू प्रतिबद्ध हुनुपर्ने बताउँछन्। ‘सार्वजनिक स्थानमा त्यसरी झण्डा लगाउन पाइँदैन’,  उनले भने, ‘हामी दलका प्रतिनिधिहरूसँग त्यस विषयमा छलफल गर्छौं।’ 

हालसम्म २ वटा मात्रै उजुरी

स्थानीय निर्वाचनका लागि धनकुटामा आचारसंहिता उल्लंघनविरुद्ध २ वटा मौखिक उजुरी परेको छ। राजनीतिक दलबाट निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हालसम्म २ वटा उजुरी परेको हो। मुख्य निर्वाचन अधिकृत फडिन्द्रप्रसाद पराजुलीका अनुसार धनकुटा नगरपालिका वडा नं. ३ र ९ बाट उजुरी आएको हो।

धनकुटा नगरपालिका नं. ३ बाट एमालेले कांग्रेसविरुद्ध उजुरी हालेकोमा अनुगमन गर्दा केही नपाइएको पराजुलीले बताए। यस्तै वडा नं. ९ मा एमालेले आचारसंहिता उल्लंघन गरेको उजुरी आएकोमा सचेत गराएपछि एमालेले सच्याएको पराजुलीले जानकारी दिए।

‘निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीमा स्टिकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्रसार गर्ने क्रम बढेको छ। यसका साथै राजनीतिक दलको चुनाव प्रचारप्रसारमा शिक्षक तथा कर्मचारी सहभागी भएर आचारसंहिता उल्लंघन पाइएको छ’, पराजुलीले भने, ‘मौखिक उजुरी आउने क्रम बढेको छ। लिखित रूपमा आएको छैन। उल्लंघनका उजुरी आएपछि सम्बन्धित पक्षलाई सचेत गराएका छौं।’ आचारसंहिता कडाइ गर्न सुरक्षानिकायसँग छलफलको भइरहेको पराजुलीले बताए।

यस्तै नेपाल पत्रकार महासंघ धनकुटा शाखाले भने निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई सहयोग नगर्ने जनाएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कुनै उम्मेदवारलाई लक्षित गरी मत माग्दा पत्रकारलाई समस्या परे पत्रकारलाई सहयोग नगर्ने र समाचार संकलनका क्रममा पत्रकारलाई समस्या आए महासंघले सबै शक्ति लगाएर सहयोग गर्ने पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले बताए।

उनले पत्रकारलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

आचारसंहिता उल्लंघन गर्नेलाई के कारबाही हुन्छ ?

धनकुटा हालसम्म मौखिक उजुरी परेर मौखिक रूपमै सचेत गराइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आचारसंहिता उल्लंघन गर्नेलाई शुरुमा सचेत गराउने त्यति गर्दा नमानेमा प्रहरी प्रशासन लगाएर प्रचार सामग्री हटाउने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए।

त्यति हुँदा पनि नटेरेमा पक्राउ गरेर सचेत गराउने र त्यो पनि नमानेमा २५ हजारसम्म जरिवानाको व्यवस्था रहेको पराजुलीले बताए। २५ हजार रुपैयाँ जरिवाना नतिरे उक्त रकम बराबरको जेल सजाय हुने व्यवस्था छ। एक महिना जेल सजाय हुँदा मासिक ९ हजार कटौती हुने पराजुलीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.